चुनावमा भोट किन हाल्दैनन् राष्ट्रपति, उपराष्ट्रपति र पूर्वराजपरिवार ? – Nepal Press

चुनावमा भोट किन हाल्दैनन् राष्ट्रपति, उपराष्ट्रपति र पूर्वराजपरिवार ?

प्रदेश प्रमुखहरु पनि सिको गर्दै

काठमाडौं । निर्वाचनमा भोट हाल्नु देशका प्रत्येक नागरिकको अधिकार र कर्तव्य मानिन्छ, चाहे जुनसुकै ओहदामा रहेका किन नहुन् । तर, विगतदेखि नै एउटा परम्पराजस्तै कायम भएको छ, राष्ट्रप्रमुखले चुनावमा भाग नलिने ।

राजतन्त्रकालमा कुनै पनि राजा र राजपरिवारले कुनै खाले निर्वाचनमा भाग लिएनन् । त्यसो त राजपरिवारले देशको नागरिकतासमेत लिँदैनथे । प्रजातन्त्र आएपश्चात उनीहरु सबै आम नागरिकतामा परिणत भए । उनीहरुले विधिपूर्वक नागरिकता पनि लिन थालेका छन् । तर, पनि चुनावमा भने अहिलेसम्म पूर्वराजपरिवारका सदस्य सहभागी भएका छैनन् ।

पूर्वराजा ज्ञानेन्द्रका नाति पूर्व नवयुवराज हृदययन्द्र शाह केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किए । चुनावअघि फर्किएकाले उनले कतै मतदानमा भाग लिन्छन् कि भन्ने थियो । तर, उनी भोट हाल्न गएको अहिलेसम्म सूचना आएको छैन । साथै, अन्य पूर्वराजपरिवारका सदस्यले पनि भोट हाल्ने जाँगर देखाएनन् ।

तत्कालीन समयमा ‘राजा सबैका साझा’ भन्ने मान्यता नै थियो । जनताले विष्णुको अवतार भनेर राजालाई पुजा समेत गर्थे । त्यसैले उनीहरुले पार्टी वा उम्मेदवार रोजेर भोट हाल्नु वाञ्छनीय मानिँदैनथियो । तर, अहिले आमनागरिकका रुपमा चाहिँ उनीहरुलाई निर्वाचनमा सहभागी हुन केहीले रोक्दैन । न कानूनले न नैतिकताले ।

यद्यपि, अहिले पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै पार्टीप्रति घोषित पक्षधरता देखाएका छैनन् । न आफैंले कुनै राजनीतिक संगठन निर्माण गरे । अहिले पनि आफूलाई ‘सबैको साझा’ कै रुपमा प्रस्तुत गर्ने गरेका छन् उनले । त्यसैको जनाउ दिनलाई उनी निर्वाचनमा सहभागी नभएका हुन् ।

यता गणतन्त्र आएपछि राजालाई विस्तापित गरेर बनेका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि चुनावमा भोट हालेनन् । उनको पनि तर्क राजाकै जस्तो रह्यो । राष्ट्रपति कुनै पनि दल विशेषको नभएर सबैको साझा हुने भएकाले भोट नहाल्ने बताइयो । त्यही परम्परालाई दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निरन्तरता दिइन् । उनी पनि २०७४ सालमा भएका निर्वाचनमा सहभागी भइनन् । यस्तै, उपराष्ट्रपति नन्दकिशोर पुनले पनि भोट राष्ट्रपतिलाई पछ्याउँदै भोट हाल्न गएनन् ।

राष्ट्रपति-उपराष्ट्रपतिमा निर्वाचित भएपछि दलिय आवद्धता त्याग्ने प्रचलन छ । त्यसअनुसार अहिले राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन कुनै दलमा आवद्ध छैनन् । तर, राष्ट्रपति र उपराष्ट्रपतिको नाम मतदाता नामावलीमा छ । उनीहरुलाई कुनै कानूनले पनि भोट हाल्न नरोक्ने बताउँछन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत रहेका विश्लेषक सुर्यनाथ उपाध्याय ।

‘भोट नहाल्नु उहाँहरुको वैयक्तिक निर्णय हो । तर, संविधान र कानूनले उहाँहरुलाई मतदानको अधिकारबाट रोक्दैन,’ उनले भने ।

राजतन्त्रकालिन प्रचलनलाई निरन्तरता दिइएको भए पनि राष्ट्रपति-उपराष्ट्रपतिले भोट नहाल्नुको कुनै तुक नरहेको उपाध्यायको भनाइ छ ।

‘विगतमा राजाहरु कुनै राजनीतिक दलसँग जोडिएका हुन्थेनन् । त्यसैले उनीहरु राजनीतिक रुपमा स्वतन्त्र नै हुन्थे । तर अहिलेका राष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिक पृष्ठभूमि सबैलाई थाहै छ । उनीहरु कुन पार्टीका हुन् भन्ने जगजाहेर नै छ । त्यसैले चुनावमा भोट खसाएर तटस्थताको अभिनय गर्नुको कुनै औचित्य हुन्छ जस्तो लाग्दैन,’ उपाध्यायले भने ।

यता, राष्ट्रपति-उपराष्ट्रपतिको सिको गर्दै प्रदेश प्रमुखहरुले पनि निर्वाचनमा भाग लिने गरेका छैनन् । सातै प्रदेशका प्रमुखहरु आज भएको निर्वाचनमा सहभागी आफ्नो राष्ट्रपतिको कुर्सीमा हुँदा भोट नखसाएका डा. रामवरण यादवले आज भएको स्थानीय चुनावमा भने मतदान गरेका छन् । अघिल्लो चुनावमा पनि उनी सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय प्रचलन हेर्दा राष्ट्रप्रमुखले निर्वाचनमा भाग लिने सन्दर्भमा फरक-फरक अभ्यास पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर