किन जाँदैनन् गठबन्धनको संयुक्त चुनावीसभामा जसपा अध्यक्षद्वय ? – Nepal Press

किन जाँदैनन् गठबन्धनको संयुक्त चुनावीसभामा जसपा अध्यक्षद्वय ?

काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावीसभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावीसभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन् ।

पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावीसभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् । गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगइ गृहजिल्लामा खटिएका छन् ।

उक्त पार्टीका एक नेता राजकिशोर यादवले यसबारे थाहा नभएको बताए ।

शुक्रबार डा. भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो ।

असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावीसभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् ।

अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवार बनेकी छिन् ।

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् ।

गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर