तुलसीपुर उपमेयर उम्मेदवार स्यानी भन्छिन्- न्याय र सुशासनलाई प्राथकिता दिएर काम गर्छु – Nepal Press
नेपाल टक

तुलसीपुर उपमेयर उम्मेदवार स्यानी भन्छिन्- न्याय र सुशासनलाई प्राथकिता दिएर काम गर्छु

स्यानी चौधरी निम्न वर्गीय परिवारमा जन्मेकी हुन् । उनका पालामा थारु समुदायमा पढ्नु हुँदैन, जिम्दारको घरमा काम गर्नुपर्छ भन्ने अन्धविश्वास थियो । तर, उनी त्यो अन्धविश्वासलाई छिचोल्दै स्कूल गइन् । एसएलसी उत्तीर्णसँगै स्यानीले जापान, अमेरिका र डेनमार्कमा छात्रवृत्तिमा पढ्ने अवसर पाइन् । राजनीति शास्त्र र समाज शास्त्रमा एमए गरेकी चौधरीलाई अहिले नेकपा एमालेले तुलसीपुर उपमहानरपालिकामा उपमेयरको उम्मेदवार बनाएको छ । प्रस्तुत छ चौधरीसँग गरिएको कुराकानी नेपाल टकमा-

– चुनावको तयारी कसरी गरिरहनुभएको छ ?

जनताको घरमा पुग्ने, मत माग्ने, एजेण्डा सुनाउने यस्तै चलिरहेको छ । पार्टीका कमिटी सभा, वैठक, भेला पनि चलिरहेका छन । विहानदेखि साँझैसम्म व्यस्थितरुपले प्रचार प्रसार, मतदाता भेटघाट र दिनभरी भएका गतिविधिको विषयमा साँझ समीक्षा पनि हुँदै आएको छ ।

– तपाईंले उपमेयरमा उम्मेदवारी किन दिनुभएको हो ?

वास्तवमा म जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको हुँ । खासगरी यस क्षेत्रका दिदी वहिनीहरुको नेतृत्व विकास, क्षमता विकासमा मैले लामो समय काम गरे । सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । सरकार राम्रो हुनका लागि नेतृत्व राम्रो हुनुपर्छ । त्यो हैसियत लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभवले समग्र नगरबासीको काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।

– चुनाव जितेपछिका योजना के के छन् ?

पहिलो कुरा सरकारी सेवा प्रवाहमा सुधार नै हो । साना जस्ता लाग्ने तर जनताको सेवामा तिनै साना साना सुधारका काम गर्न सकियो भने सेवा प्रवाहमा सहजता ल्याउन सकिने थुप्रै काम गर्न सकिन्छ । मलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवले नागरिक सेवामा ल्याउनु पर्ने परिवर्तनबारे जानकारी छ । अर्को कुरा किशोरी शिक्षा, सडक बालवालिकाको संरक्षण गर्न सकिन्छ । यही कुरा मैले व्यक्तिगतरुपमा गरिरहेको छु । २४ जना त्यस्ता वालवालिकाहरुलाई मैले संरक्षण गरिरहेकी छु । तर, स्थानीय तहको नेतृत्व गर्ने अवसर मिल्यो भने सबै महिला, बालबालिका, नगरबासी दाजुभाइ दिदीबहिनी, वर्ग, समुदायको संरक्षण, सेवामा लाग्नेछु । त्यसैगरी गुणस्तीय शिक्षाका लागि काम गर्ने र हरेक बालबालिकाहरूलाई यो देशको सक्षम नागरिक बनाउने योजना छ । त्यस्तै सडक मानवमुक्त बनाउन घरवास नभएका असहाय, हिंसापीडितहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुको संरक्षण, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय सरकारको लगानीलाई ध्यान दिने र हरेक नागरिकहरुलाई सक्षम बनाएर यही देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना छ ।

– तपाईंसँग अरुभन्दा फरक त्यस्ता केही एजेण्डा छन् ?

पहिलो कुरा त म ठूलो जनसंख्या रहेको महिलाको प्रतिनिधि हुँ । त्यसो भएर जसरी आमाले परिवारमा समभाव राखेर मातृत्व प्रदान गर्नुहुन्छ त्यसैगरी मैले उपमहानगरवासीको विकासमा आग्रहपूर्वाग्रह नराखेर काम गर्नेछु । नेतृत्व प्रदान गर्नेछु । मलाई जापान, अमेरिका, डेनमार्कलगायत विकसित देशहरुको सुशासन, विकासको अनुभव छ । त्यो अनुभवलाई यो उपमहानगरको विकासका लागि आम नगरबासीको सुझावका आधारमा काम गर्ने र सुशासनयुक्त प्रणालीको विकास गर्ने काम मैले गर्नेछु ।

– तपाईंको पार्टीविरुद्ध पाँच दलिय गठबन्धन छ । कसरी सामना गर्नुहुन्छ ?

मलाई त त्यस्तो लाग्दैन । गठवन्धनले महिला प्रतिनिधित्वलाई बेवास्ता गरेको देख्नुहुन्न तपाईं ? म आम नगरबासीको साझा उम्मेदवार हुँ । एमालेले मलाई टिकट दिए पनि उपमेयरमा महिला उम्मेदवार म नै हुँ । आम नगरवासीको साझा उम्मेदवार भएकाले मलाई चुनौती होइन अझ सहज भएको छ ।

– उपमेयरको काँधमा न्यायिक निरुपणको जिम्मेवारी पनि छ । कसरी दायित्व पूरा गर्नहुन्छ ?

संविधानले दिएको जिम्मेवारी पूरा गर्ने आँटका साथ चनुावी मैदानमा छु । मलाई किन पनि सजिलो छ भने हिंसामा परेका महिला, बालवालिकालगायत आम नागरिकहरुको सेवामा यसअघि नै मैले झण्डै ३० वर्ष गुजारेको छ । यसर्थ मलाई न्याय निरुपणमा गाह्रो भन्ने छैन । मुख्य त नेतृत्व गर्ने कुरा हो । पीडितहरूको न्यायका लागि काम गर्न सक्षम छु । मैले यो जिम्मेवारीलाई समाज सेवाकै रुपमा लिएको छु । यो सेवा गर्ने अवसर आम नगरवासीहरूले दिनुहुनेछ भन्ने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर