८४ वर्षे विद्रोही, जसको ६७ वर्ष पुरानो क्रियाशील सदस्यता खोसियो – Nepal Press

८४ वर्षे विद्रोही, जसको ६७ वर्ष पुरानो क्रियाशील सदस्यता खोसियो

काठमाडौं । अन्यथा निर्णय नभए नेपाली कांग्रेससँग कृष्णलाल सापकोटाको ६७ वर्ष पुरानो राजनीतिक सम्बन्ध आजै तोडिएको छ ।

२०१२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका चितवन कांग्रेसका पूर्व सभापति सापकोटाले ८४ वर्षको उमेरमा पार्टीभित्र विद्रोह गरे ।

भरतपुरमा दोस्रो पटक माओवादीलाई मेयर सुम्पने निर्णयको विरुद्ध सबैभन्दा पहिले उनै कृष्णलाल उत्रिएका थिए । पार्टीभित्र कारबाहीको डर वा प्रलोभनको प्रस्तावले धेरै क्रान्तिकारीलाई गलाएको कृष्णलालले धेरै पटक देखेका थिए । त्यसैले असन्तुष्ट पक्षको भेलामा कृष्णलालले भनेका थिए – हामीले छानेर स्वतन्त्र उठाउने उम्मेदवार भोलि उतै मिस्सिने खालको हुनुभएन । यहाँ उभ्याएर कबोल गराएर, कागज गराएर , भ्वाइस रेकर्ड गराएर उम्मेदवार बनाउनुपर्छ ।

कृष्णलालको यो सर्त कबोल गरेर स्वतन्त्र उम्मेदवार बन्न तयार भए– पूर्व सांसद जगन्नाथ पौडेल । शुक्रवार साँझसम्म पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका शीर्ष नेताहरूको आग्रह र दबाब जारी नै थियो ।

गृहमन्त्री बालकृष्ण खाण ३ दिन चितवनमै बसेर पहल गरे पनि पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएसँगै पौडेल, उनका प्रस्तावका सापकोटा र समर्थक मिना खरेल कांग्रेसको आन्तरिक कारबाहीमा परेका छन् ।

कांग्रेस विधानले ‘पार्टीले प्रस्तुत गरेको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्ताव र समर्थक’ साधारण सदस्यता समेत नरहने गरी स्वतः निष्कासित हुने व्यवस्था गरेको छ । त्यही व्यवस्था अनुसार पौडेल, सापकोटा र खरेलको क्रियाशील सदस्यता पनि खारेज हुनेछ ।

१९९५ सालमा म्याग्दीमा जन्मिएका सापकोटा बसाइँ सरेर चितवन झरेसँगै राजनीतिक गतिविधिमा सक्रिय थिए । १२ वर्षको उमेरमै २००७ सालको आन्दोलनका जुलुसहरूमा उनले सक्रिय सहभागिता जनाएका छन् ।

१७ वर्षको उमेरमा २०१२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका सापकोटा ८४ वर्षको उमेरमा कांग्रेसबाट अलग भएका छन् । यद्यपि कागजी आबद्धताको अन्त्यले प्रजातन्त्रप्रतिको प्रतिबद्धता नघट्ने सापकोटा बताउँछन् ।

‘कांग्रेस कि विधानले चल्छ कि बिपीको विचारले चल्छ । हामी बिपीको विचारले चलेका छौँ । विधानका कुरा गरेर कागजी कारबाही गर्दैमा केही फरक पर्ने वाला छैन । हाम्रो लडाइँ प्रजातन्त्र र कांग्रेसकै लागि हो’, सापकोटा भन्छन् ।

२०१५ सालमै शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।

२०१७ सालमा प्रजातन्त्र खोसिएपछि देशभर प्रजातन्त्रवादीमाथिको दमन तीव्र भयो । चितवन कांग्रेसका संस्थापक बखानसिंह गुरुङको घरमा सेनाले आगो लगाइदियो । जिउधनको रक्षाका लागि राजनीतिक आस्था लुकाउनुपर्ने अवस्था बन्यो । त्यति बेला पनि कृष्णलालले आफ्नो आस्था लुकाएनन् । जिल्लाभरमा १ सय जना कांग्रेस भेट्न मुस्किल हुने बेलामा पनि संगठन गरी नै रहे ।

२०३१ सालमा चितवन कांग्रेसको सचिव बनेका सापकोटाले २०४४ सालपछि चितवन कांग्रेसलाई नेतृत्व दिए । २०४९ सालमा जिल्ला विकास समितिको सभापति बनेका सापकोटा जिविस महासंघको पनि अध्यक्ष बने ।

चितवन कांग्रेसलाई लामो समय नेतृत्व दिएका सापकोटालाई गिरिजाप्रसाद कोइरालाले २०६२ पछि कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य बनाएका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमै माओवादीसँग कांग्रेसको तालमेलको खिलापमा थिए, कृष्णलाल । त्यति बेला भरतपुरमा कसैसँग तालमेल नहुने भन्दै हस्तलिखित सन्देश सार्वजनिक गरेका थिए । यद्यपि अन्तिम समयमा सबैले पार्टीको निर्णय मान्न दबाब दिए । अन्तर्विरोध थाती राखेर उनी मौन बसे ।

अहिले फेरी माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा उनले ‘व्रिदोह’ गरे । बुढेसकालमा गरेको विद्रोहका सबै क्षति व्यहोर्न उनी तयार छन् । बदलामा चितवनका कांग्रेसहरुको साथ चाहेका छन् ।

‘कांग्रेस भएर कांग्रेसमा भोट हाल्न नपाउने ? यति ठूलो विडम्बनाका विरुद्ध प्रजातन्त्रवादीहरुले विद्रोह गर्नै पर्छ’, सापकोटाको भनाई छ ।

गत वैशाख ३ गते उनको चौरासी भयो । चितवन कांग्रेसका नयाँ पुराना सबै नेता पुगेर उनलाई शुभकामना दिए ।

जीवनको ८४ औँ वसन्तमा सापकोटाले पार्टी जीवनबाट विद्रोह गरेका छन् । उनको विद्रोहले कस्तो परिणाम देला ? प्रतीक्षा वैशाख ३० को ।


प्रतिक्रिया

5 thoughts on “८४ वर्षे विद्रोही, जसको ६७ वर्ष पुरानो क्रियाशील सदस्यता खोसियो

  1. ६७ वर्ष पार्टीमा याेगदान गरेकाे पुरस्कार । यस्ताे पार्टीमा लाग्ने अरूलाई साेच्न अनुराेध ।

  2. शेर बहादुर देउवा ले हिजो राजाको पाउमा किन प्रजातन्त्र चढाए भनेको यहीँ यस्तै बुद्धि ले रहेछ ।

  3. जुन गोरुको सिङ छैन उस्कै नाम तिखे भने जस्तो!!जुन छेर बहादुर पार्टी हाक्ने साहस नभएर उखाने सङ्ग डराएर सुरुवाल मुत्दै हिंड्छ त्यस्कै नाम शेर बहादुर थुक्क!!!कुर्सिको लागि आफ्नो साथिहरुको बलि चढाउन पनि तयार हुने छेर बहादुर लेउपा मुर्दाबाद।यो वृद्ध अबस्थामा आएर पार्टी भित्र बिद्रोह गर्ने हिम्मत राख्नु भएकोमा वृद्ध बा लाई हृदय देखिनै सलाम छ।जयनेपाल।

  4. शेर बहादुर दुरदर्शिता नभएको ब्याक्ति हाे ।

  5. शेर बहादुर दुरदर्शिता नभएको ब्याक्ति हाे । जनतालाई अाफ्नाे रैती सम्झन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर