टिकट बाँड्ने कांग्रेस बैठकमा ‘माइन्यूट च्यात्नेदेखि हात हालहाल’ सम्म – Nepal Press

टिकट बाँड्ने कांग्रेस बैठकमा ‘माइन्यूट च्यात्नेदेखि हात हालहाल’ सम्म

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेश अन्तर्गतका नगरपालिकाहरुमा उम्मेदवार चयनमा तीव्र विवाद हुँदा संस्थापन पक्षकै केन्द्रीय सदस्यदेखि क्षेत्रीय सभापतिसम्मले पार्टी छाड्ने चेतावनी दिएका छन् ।

वागमती प्रदेश संसदीय समितिको बैठकमा टिकट वितरणको लागि भइरहेको बैठकमा अपमान गरिएको भन्दै सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य अम्बिका बस्नेतले नै ‘पार्टी छाड्ने’ चेतावनी दिएकी छिन् ।

उनले निकटस्थहरुसँग केन्द्रीय सदस्यबाटै राजीनामा दिने बताएकी छिन् । राजीनामाबारे जानकारी लिन मंगलबार दिउँसो टेलिफोन गर्दा उनको मोबाइल स्वीच अफ गरिएको थियो ।

प्रसंग वागमती प्रदेश संसदीय समितिको बैठकको हो । जहाँ टिकट वितरणमा विवाद बढ्दा माइन्यूट च्यात्नेदेखि झण्डै ‘हात हालहाल’ सम्मको स्थिति रहेको थियो । वागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई बैठकबाट बाहिरिन निर्देशन दिएपछि स्थिति झनै तनावपूर्ण रह्यो ।

खुमलटारको ट्रिनिटी होटलमा भएको बैठकमा गोकर्णेश्वर नगरपालिकाको मेयरको उम्मेदवार छनोटको विषय पेचिलो बन्यो । नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली लगायतका नगरपालिकामा वर्तमान मेयरलाई नै दोहोर्‍याइएपनि गोकर्णेश्वरमा मेयर सन्तोष चालिसेलाई दोहोर्‍याउन बानियाँ तयार भएनन् ।

गोकर्णेश्वर नगर समितिले चालिसे र क्षेत्र नम्बर ३ को प्रदेशसभा ख का सभापति विमल ठकुरीको नाम मेयरमा सिफारिस गरेको थिएन । अन्यत्र सिफारिसै नभएकालाई उम्मेदवार बनाइएपनि गोकर्णेश्वरमा चालिसे र ठकुरी दुवैलाई टिकट दिइएन । बैठकमा केन्द्रीय सदस्य बस्नेतले एकपक्षीय ढंगले निर्णय नगर्न र सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिएकी थिइन् ।

‘सबै मेयर दोहोरिन हुने सन्तोष चालिसे दोहोरिन किन नहुने ?’, बस्नेतको प्रश्न थियो । बस्नेतको धारणालाई प्रदेश सभापति बानियाँले हल्का ढंगले लिए । ‘केन्द्रीय सदस्यज्यू हजुरले राय दिनुभयो अब बाहिर जानुस्’, बानियाँको जवाफ थियो । बानियाँले अपमान गरेपछि बस्नेत बैठकबाट बाहिरिइन् ।

‘पार्टीको विधान र भावनालाई कुल्चेर दादागिरी देखाउने काम भएको छ । यस्तो अन्याय सहनुभन्दा यो पार्टीमा नरहनु नै वेश हुन्छ’, यत्ति भनेर बस्नेत बाहिरिन् । विवादको क्रम यत्तिमै रोकिएन । बुढानिलकण्ठ नगरपालिकाको टिकट वितरणमा पनि उत्तिकै झमेला पर्यो । प्रदेश सभापति बानियाँले केन्द्रीय सभापतिको क्षेत्र भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘बुढानिलकण्ठमा कसलाई गर्ने ?’ भनी सोधेका थिए ।

जवाफमा देउवाले महामन्त्री गगन थापालाई सोधेर निर्णय लिन निर्देशन दिए । प्रदेश महामन्त्री रहेका राजु श्रेष्ठले बुढानिलकण्ठमा आफ्नो पनि चासो रहेको बताए । बानियाँले राजुको भनाईलाई पनि वास्ता गरेनन् । बैठकका दौरान धेरै विषयमा बानियाँ र श्रेष्ठबीच भनाभन परिरह्यो ।

बानियाँले एकलौटी निर्णय गरको भन्दै महामन्त्री श्रेष्ठले माइन्यूट नै च्याते । बानियाँले कारवाहीको चेतावनी दिदाँ श्रेष्ठले उल्टै कारवाही गरेर देखाउन चेतावनी दिए । बानियाँ र श्रेष्ठबीच ‘भनाभन’ सँगै झण्डै हात हालाहालसम्मको स्थिति रहेको बैठकमा सहभागि एक नेताले बताए ।

वागमती कांग्रेसको प्रदेश समिति बैठकमा लगातारजसो गरमागर्मी भई नै रह्यो । असन्तुष्ट पक्षले सभापति बानियाँले एकलौटी गरेको आरोप लगाएका छन् भने सभापति पक्षका नेताहरु संसदीय समितिले गरेको निर्णयमा हेरफेर नहुने बताउँछन् ।

वागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये ७४ स्थानीय तहमा मात्रै गठबन्धन कायम रहेको छ । ४५ तहमा गठबन्धन भत्कनुका पछाडि वागमती प्रदेश कांग्रेसभित्रको विवाद पनि मुख्य कारण रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर