बुटवल उपमहानगरमा विरासत जोगाउने र भत्काउनेबीच भिडन्त हुँदै, कस्तो थियो विगत ? – Nepal Press

बुटवल उपमहानगरमा विरासत जोगाउने र भत्काउनेबीच भिडन्त हुँदै, कस्तो थियो विगत ?

रुपन्देही । स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसकेर मनोनयनसमेत गरिसकेका छन् । दलहरुले अघिल्लो निर्वाचन परिणाम र पार्टीभित्रको पहुँचलाई आधार बनाएर उम्मेदवार छनोट गरेका छन् । त्यसैले आसन्न स्थानीय तह निर्वाचनको लागि २०७४ सालको मत परिणामको लेखाजोखा जरुरी छ । उक्त परिणामअनुसार अहिले वर्चश्व भत्काउने र कायम राख्नेबीचको लडाइँ हुने देखिएको छ ।

रुपन्देहीको महत्वपूर्ण स्थानीय तह बुटवल उपमहानगरमा कसरी निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्ने भन्ने कसरतमा दलहरु लागेका छन् । बुटवलको निर्वाचन ठूला दलहरुका लागि प्रतिष्ठाको लडाइँ मानिन्छ ।

दलहरु निर्वाचन केन्द्रित आन्तरिक बैठक, भेला र पार्टी प्रवेशदेखि प्रचार कार्यालय स्थापनामा केन्द्रित छन् । आआफ्नो शक्ति थाहा पाउन वडावडामा कार्यकर्ता परिचालन गरिएको छ । उनीहरुले गोप्य मत सर्वेक्षणसमेत गरिसकेका छन् । त्यसको आधारमा उम्मेदवार टुंगो लगाएका दलहरुलाई एकल निर्वाचन जित्न भने फलामको च्यूरा चपाउनुसरह हुने स्पष्ट भइसकेको छ । त्यसैले सबै गठबन्धनतर्फ आकर्षित छन् ।

बुटवल उपमहानगरमा यसपटक एमाले र नेपाली कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसलाई सत्तागठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन् । तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ ।

संगठन मजबुत भएको एमालेले गत निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको जनमुक्ति पार्टीलाई यसपटक आफूतिर तानेको छ । अर्कोतर्फ एमाले एकल रुपमा बुटवलमा पहिलो पार्टी भए पनि पार्टी फुटका कारण केही मत घटेको छ । आन्तरिक शक्ति संघर्ष नमिले एमले थप समस्यामा पर्नेछ ।

गत निर्वाचनको अवस्था

मेयर पदका उम्मेदवार                                                       मत
शिवराज सुवेदी (नेकपा एमाले)                                               २३२४९
खेलराज पाण्डे (नेपाली कांग्रेस)                                               २०८५१
जनकबहादुर थापा (राष्ट्रिय जनमुक्ति पार्टी)                              ११५१
होमबहादुर गलामी (स्वतन्त्र)                                                   २३१
टीका पौडेल (राप्रपा)                                                               १७९
ढुण्डीराज शर्मा (राजमो)                                                          १७३
राजबहादुर छन्त्याल (स्वतन्त्र)                                                   ४८
ऋषिराम काफ्ले (स्वतन्त्र)                                                         २२
हरिसुन्दर बासी (नेपाल मजदुर किसान पार्टी)                           २१
रामप्रसाद पोखरेल (स्वतन्त्र)                                                     १८
लोकनाथ पाण्डे (मधेसी जनअधिकार फोरम लोकतान्त्रिक)        १६

मतदाता
२०७९ : ९० हजार ६५ जना
२०७४ : ६६ हजार ६६३ जना
नयाँ मतदाता : २३ हजार ३९९ जना

कस्तो थियो २०७४ को परिणाम ?

बुटवल उपमहानगरपालिकामा २०७४ सालमा एमालेले क्लिन स्वीपको अवस्थामा विजय हात पारेको थियो । २०७९ सालमा त्यो अवस्था कायम राख्न उसलाई ठूलो चुनौती छ । कांग्रेसको नेतृत्वको चारदलीय गठबन्धन एमालेको किल्ला तोड्ने योजनामा छ । तर, गठबन्धनलाई पनि लक्ष्य पाउन सहज पक्कै छैन ।

अघिल्लो निर्वाचनमा कांग्रेसले माओवादी र जनमुक्तिको साथ पाएको थियो । तालमेलअनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेल उम्मेदवार थिए ।

एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य उम्मेदवार थिए । निर्वाचनमा एमालेका सुवेदीले २३,२४९ मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका पाण्डेले २०,८५१ मत पाएका थिए । उपमेयरमा आचार्यले २५,३०१ र पोखरेलले १४,७९२ मत पाएका थिए ।

२३ हजार नयाँ मतदाता थप

यस पटक ०७४ सालको मत परिणामको आधारमा मात्रै हिसाबकिताब गर्दा पूर्ण नहुनसक्छ किनकि यसबीच थुप्रै पार्टी जुट्ने र फुट्ने घटना भइसक्यो । नयाँ मतदाताको संख्या बढेको छ । उनीहरुको रुझानले पनि परिणाममा फेरबदल ल्याउन सक्छ । वामपन्थीहरुबीचको बेमेलले कांग्रेसलाई केही सहज छ । एमालेबाट फुटेको समाजवादी पार्टी गठन भएका कारण एवं एमालेविरुद्ध गठबन्धन भएको हुँदा एमालेका उम्मेदवारलाई चुनाव जित्न सहज नहुने बुझाइ छ ।

बुटवलमा २३ हजार ६९९ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार बुटवलमा ९० हजार ६५ जना मतदाता पुगेका छन् । २०७४ सालको निर्वाचनमा बुटवलमा मतदाताको संख्या ६६ हजार ३६३ थियो ।

यस्तो थियो वडाको अवस्था

बुटवलका १९ वडामध्ये एमालेले १६ वटामा अध्यक्ष जितेको थियो । बाँकी ३ वडा कांग्रेसले जितेको थियो । कांग्रेसले अध्यक्ष जितेका वडामा बहुमत सदस्य भने एमालेले नै जितेको थियो । कतिपय वडामा निकै कम मतान्तर रहेको छ । तर यसैलाई आधार माने आसन्न निर्वाचनमा पाउने मतको आंकलन गर्न सकिने अवस्था छैन ।

वडा नं १

२०७४ सालको निर्वाचनमा यस वडामा महिला सदस्यबाहेक एमाले वडा अध्यक्ष उम्मेदवार महेन्द्र लिगलको टिमले जितेको थियो । विजयी लिगलले ६५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र बस्नेतले ५२५ मत प्राप्त गरेका थिए । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमका मोहम्मद समिरले २७६ मत र माओवादी केन्द्रका राजु लिगलले १०८ मत पाएका थिए ।

वडा नं २

यस वडाका सबै पदमा एमाले उम्मेदवार फराकिलो मतान्तरले विजयी भएको थियो । एमालेको पकड रहेको यस वडाको अध्यक्षमा एमालेका रमेश नेपालले १,५२० मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर लामाले ४०८ मतमात्र पाएका थिए ।

त्यसैगरी राजमोका कृष्ण पोखरेलले ३१, नयाँशक्ति पार्टीका राममिलन भुजले ३०, जनमुक्तिका कृष्णबहादुर गलामीले ७१ मत ल्याएको थिए ।

वडा नं ३

यस वडामा एमालेका अध्यक्ष उम्मेदवार लालप्रसाद बस्यालले १,३३७ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांगे्रसका आनन्दभगत श्रेष्ठले १,०७२ मत पाएका थिए । यसैगरी माओवादीका विष्णु ढकालले ५९० र जनमुक्तिका लक्ष्मण समालीले ७२ मत ल्याएका थिए ।

वडा नं ४

यस वडामा पनि एमालेका सबै उम्मेदवार जितेका थिए । कांग्रेसका अर्जुन रानाभाटलाई पराजित गर्दै टंक पराजुली वडा अध्यक्ष बनेका थिए । पराजुली १,४१२ मत ल्याएर विजयी भएका थिए । रानाभाटले १,१९७ मत पाएका थिए । यसैगरी माओवादीका कृष्ण अर्यालले ९३, जनमुक्तिका दुर्गाबहादुर घर्तीले १६४ मत ल्याएका थिए ।

वडा नं ५

यो वडा बुटवल बजारको बीच भागमा रहेको छ । मतदाता संख्या कम भएको यस वडामा एमालेले अध्यक्षसहित सबै पद जितेको थियो । कांग्रेसका हरिप्रसाद श्रेष्ठलाई पराजित गर्दै एमालेका तेजकुमार विक वडा अध्यक्ष निर्वाचित भएका थिए । विकले ३९० मत ल्याएका थिए । श्रेष्ठले ३२५ मत पाएका थिए । यसैगरी माओवादीका शमशेर मियाले २५५ मत ल्याएका थिए ।

वडा नं ६

यस वडामा कांग्रेसका निर्मल आचार्यलाई पराजित गर्दै एमालेका जगदीश आचार्य वडा अध्यक्ष बनेका थिए । विजयी जगदीशले १,३०० मत ल्याउँदा निर्मलले ९०८ मत पाएका थिए । अन्य उम्मेदवारहरुमध्ये माओवादीका सन्दीप सापकोटाले ७५, राजमोका दलबहादुर भण्डारीले १७ र राप्रपाका सुनित क्षेत्रीले १० मत ल्याएका थिए

वडा नं ७

यस वडामा एमालेविरुद्ध ३ पार्टीले गठबन्धन गरेको थियो । एमालेको पकड रहेको यस वडामा कांग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच गठबन्धन भएको थियो । तैपनि सबै पदमा एमालेले जितेको थियो । एमालेका अध्यक्ष उम्मेदवार कमल थापाले १,८७४ मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका पदम गाहाले १,६१६ मत पाएका थिए ।

वडा नं ८

यस वडामा पनि एमालेविरुद्ध कांग्रेस, माओवादी र जनमुक्तिले गठबन्धन गरेको थियो । तैपनि एमालेका सबै उम्मेदवार विजयी भएका थिए । वडा अध्यक्षमा एमालेका भीमबहादुर श्रेष्ठले १,५२६ मत ल्याउँदा कांग्रेसका राधेश्याम राजभण्डारीले १,०५१ मत पाएका थिए ।

वडा नं ९

कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भएको यस वडामा एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका प्रदीपकुमार श्रेष्ठलाई पराजित गर्दै विष्णु थापा एमालेबाट वडा अध्यक्ष बनेका थिए । थापाले १,२८१ मत ल्याएका थिए । श्रेष्ठले ९,६९ मतमात्रै पाएका थिए ।

वडा नं १०

यस वडामा पनि एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका खड्कबहादुर महतलाई पराजित गर्दै एमालेका पदम थापा वडा अध्यक्ष निर्वाचित भए । थापाले ६५७ मत ल्याएका थिए । महतले भने ५९७ मत पाएका थिए । यसैगरी माओवादीका बसन्त गौचनले २७१ र राजमोका शिव खनालले ७ मत ल्याएका थिए ।

वडा नं ११

यस वडालाई बुटवलको प्रमुख र उपप्रमुखको जीतहार बनाउन सक्ने मानिन्छ । यस वडामा एमालेले भारी मतले जीत हात पारेको थियो । कांग्रेसका सावित्रा टण्डनलाई पराजित गर्दै एमालेका रामचन्द्र खनाल क्षेत्री वडा अध्यक्ष निर्वाचित भएका थिए । टण्डनले १,९६७ ल्याउँदा विजयी क्षेत्रीले ४,७३४ मत पाएका थिए । यसैगरी माओवादीका शिवप्रसाद घिमिरेले ४९१, राप्रपाका कृष्णबहादुर मगरले १५० र राजमोका टानबहादुर खत्रीले ३३ मत ल्याएका थिए ।

वडा नं १२

यस वडामा कांग्रेसका उम्मेदवार एमालेका उम्मेदवारसँग १२१ मतले पराजित भएका थिए । यहाँ एमालेका सबै उम्मेदवारले जितेका हुन् । कांग्रेसका महेश राईलाई पराजित गर्दै एमालेका दुर्गा सुवेदी वडा अध्यक्ष्मा निर्वाचित भएका थिए । सुवेदीले १,१६९ मत ल्याएका थिए । राईले १,०४८ मत पाएका थिए ।

यसैगरी माओवादीका शेरबहादुर सापकोटाले ४७२ र राजमोका गंगालाल सापकोटाले ३३ मत ल्याएका थिए ।

वडा नं १३

एमालेभित्रको विवादको फाइदा उठाउँदै यस वडामा कांग्रेसले जीत हात पारेको थियो । वडा अध्यक्षमा कांग्रेसका नारायण पुन विजयी हुँदा एउटा सदस्यबाहेक सबै एमालेले जितेको थियो । विजयी कांग्रेसका पुनले १,७६५ मत ल्याउँदा एमालेका योग गुरुङले १,३६३ मत पाएका थिए ।

वडा नं १४

यस वडामा कांग्रेसका लीलाबहादुर थापालाई पराजित गर्दै एमालेका दधिराम न्यौपानेले वडा अध्यक्ष जितेका थिए । न्यौपानेले ९७२ मत ल्याएका थिए । थापाले ७२८ मत पाएका थिए ।

यसैगरी माओवादी केन्द्रका रामचन्द्र पन्थीले ९० र जनमुक्तिका हीराबहादुर बुढाथोकीले ३२ मत ल्याएका थिए ।

वडा नं १५

यहाँ पनि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । जसमा एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका प्रेमप्रसाद पौडेललाई १२२ मतले पराजित गर्दै एमालेका डम्मरबहादुर भण्डारी वडा अध्यक्ष निर्वाचित भएका थिए । भण्डारीले ९६६ मत ल्याएका थिए । न्यौपानेले ८४४ मत पाएका थिए । यसैगरी माओवादी केन्द्रका जयबहादुर छन्त्यालले १०४, जनमुक्तिका तेजबहादुर छन्त्यालले ३७ र राजमोका नन्दलाल आर्चायले १३ मत ल्याएका थिए ।

वडा नं १६

यस वडाको अध्यक्षमा कांग्रेसका भवानीप्रसाद शर्मालाई एमालेका रामप्रसाद रेग्मीले २९७ मतले पराजित गरेका थिए । कांग्रेसका शर्माले ६३६ मत ल्याउँदा विजेता एमालेका रेग्मीले ९३३ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका रामराज तिवारीले २२ र राप्रपाका दिनानाथ अहिरले १९ मत ल्याएका थिए ।

वडा नं १७

यस वडामा पनि एमालेका सबै उम्मेदवार विजयी भएका थिए । कांग्रेसका ओमबहादुर घिमिरेलाई एमालेका सन्तबहादुर रानाले पराजित गरेका थिए ।

कांग्रेसका घिमिरेले ४४७ मत ल्याउँदा विजयी रानाले ५४१ मत पाएका थिए । यहाँ माओवादी केन्द्रका गंगाराम ढकालले २५८ र जनमुक्तिका थम्मन थापाले ३५ मत ल्याएका थिए ।

वडा नं १८

यस वडामा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त भएको थियो । जसमा कांग्रेसका हुमनाथ आचार्य ४८३ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

एमालेका खोमराज ढकालले ४२८ मत ल्याउँदा माओवादी केन्द्रका भीमप्रसाद थारुले ३२१ मत ल्याएका थिए ।

वडा नं १९

यस वडामा कांग्रेसले एउटा सदस्यबाहेक सबै पदमा जीत निकालेको थियो । यहाँ कांग्रेस र जनमुक्ति पार्टीबीच तालमेल भएको थियो । जसअनुसार वडा अध्यक्षमा कांग्रेसका हिमबहादुर खत्री ९८३ मतले विजयी भएका थिए ।

एमालेका चन्द्रसिंह थापाले ७८४ मत ल्याएका थिए । माओवादी केन्द्रका राजु गौडेलले ८७ मत ल्याउँदा राप्रपाका गिरिप्रसाद भुसालले २३ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर