बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत – Nepal Press

बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

सिन्धुपाल्चोक । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार सर्वसम्मत सिफारिस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रमुख, उपप्रमुखमा हालकै मेयर, उपमेयर दोहोरिने भएका छन् ।

केही दिनदेखि जारी नेकपा एमाले बाह्रविसे नगर कमिटीको बैठकले मेयरमा निमफुञ्जो शेर्पा र उपमेयरमा शुसिला पाख्रिनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

मेयरमा अन्यको पनि आकांक्षा भएपनि अहिलेको जटिल अवस्थामा पार्टीभित्र एकमना एकताका साथ हालकै मेयर उपमेयरलाई निरन्तरताका लागि सिफारिस गरिएको एमाले बाह्रविसे नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतले जानकारी दिए ।

आफू नदोर्याउने पक्षमा भएपनि बाह्रविसेका पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना र पार्टीमा संकटको अवस्था भएकोले पुनःउमेदवार भएको मेयरका उमेदवार निमफुञ्जो शेर्पाले बताए ।

बाह्रविसे नगरपालिकामा जसरी पनि जितेर आउनका लागि भन्दै केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नै बोलाएर शेर्पालाई निर्देशन दिएका थिए । ‘अध्यक्ष ज्यूले समेत बाह्रबिसे नगरपालिकामा जिताउनु भन्ने छ, सबै साथीहरुको चाहना पनि यही छ, त्यही भएर म फेरि उम्मेदवार भएर एमालेलाई जिताउने अभियानमा लागेको छु’, शेर्पाले भने । बाह्रविसेमा अब एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी शेर्पाले गरे ।

सिन्धुपाल्चोकमा गठबन्धनको टुङ्गो नलागे पनि माओवादी केन्द्रले पनि बाह्रविसे नगरपालिकामा मेयर र उमेयरमा आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । मेयरमा बुद्धराज बस्नेत र उपमेयरमा पातली थामीलाई सिफारिस गरेको छ । बस्नेत अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बुद्धराज अघिल्लो निर्वाचनमा माओवादीमा प्रवेश गरेर मेयरमा उम्मेदवार भएका थिए । कांग्रेस, माओवादी गठबन्धन गर्ने चर्चा भइरहे पनि बस्नेत भने गठबन्धनको विपक्षमा छन् ।

उनले केही दिनअघि सामाजिक सञ्जालमा मन मिल्नेहरुसँग मात्रै गठबन्धन हुनुपर्ने धारण सार्वजनिक गरेका थिए । बाह्रविसेमा अहिले आफूहरुको संगठन मजबुत भएकाले योपटक एक्लै लड्दा पनि जित्ने अवस्था भएको मेयरका उम्मेदवार बस्नेतले दाबी गरे ।

सवारी साधान फिर्ता

आसन्न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने भएपनि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशिला पाख्रिनले नगरपालिकाबाट लिएको सवारीसाधान नगरपालिकालाई फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले घोषणा गरेको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै नगरपालिकाबाट लिएको सवारी साधान फिर्ता गरेको उपमेयर पाख्रिनले जानकारी दिइन् । निर्वाचन आयोगले लाभको पदधारण गरेकाहरुले उम्मेदवार हुन नपाउने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर