नागरिकले महसुस गर्नेगरी न्याय सम्पादन हुनुपर्छ : महान्यायाधिवक्ता खाती – Nepal Press

नागरिकले महसुस गर्नेगरी न्याय सम्पादन हुनुपर्छ : महान्यायाधिवक्ता खाती

रुपन्देही । नेपाल सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीले न्याय सम्पादन गर्दा नागरिकले महसुस गर्ने गरी हुनुपर्ने बताएका छन् ।

नेपाली नागरिकले न्याय क्षेत्रमा परिवर्तनको महसुस गर्न नसकेको बताउँदै उनले नेपालमा ठूलाठूला परिवर्तन भए पनि न्याय क्षेत्रमा परिवर्तन महसुस हुन नसकेको उनको भनाई थियो ।

बुटवलमा नवनिर्मित उच्च अदालत सरकारी वकिल कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खातीले भने, ‘न्याय सम्पादन गर्दा नागरिकले परिवर्तनको महसुस गर्ने गरी गर्नुपर्छ । बाहिरी सुन्दरता देखिएर मात्रै हुँदैन हामीले गर्ने कार्य सम्पादनमा नागरिकले सुन्दरता महसुस गर्न पाउँछ वा पाउँदैन त्यसमा भर पर्छ ।’

न्याय क्षेत्रबाट नागरिकले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले नयाँ भवनमा बस्ने पुरानै आचरण र व्यवहार गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने बताए ।

नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नयाँ र सुन्दर भवनमा बसेर गरिने पुरानै आचरणले न्याय क्षेत्रमा सुधारको महसुस हुन नसक्ने बताउँदै साँच्चै नै नागरिकले न्यायको अनुभूति गर्नसक्ने गरी काम गर्नुपर्ने बताए ।

‘विचार र न्यायमा नागरिकले नयाँपनको महसुस गरेका छन् वा छैनन हेर्नुपर्छ’, पाण्डेले भने ।

कार्यक्रममा तुलसीपुर उच्च अदालत बुटवल इजलासका मुख्यन्यायाधीश नित्यानन्द पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायतले बोल्दै न्याय क्षेत्र प्रविधिमैत्री र नागरिकमैत्री बन्दै जानुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *