जसपाले दुर्व्यवहार गरेपछि एमाले रोजेँ : मेयर सरावगी (भिडिओ) – Nepal Press

जसपाले दुर्व्यवहार गरेपछि एमाले रोजेँ : मेयर सरावगी (भिडिओ)

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार गरेपछि एमाले प्रवेश गरेको बताएका छन् ।

सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे ।

उनले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपथ्र्यो । किनभने म त राजनीतिक पृष्ठभुमिबाट आएको थिएन । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुव्र्यवहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यैपनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए ।’

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए । आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाई छ ।

उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सनहरु थिए, एउटा अप्शन थियो म कांग्रेसमा जाउँ । अर्को अप्सन थियो एमालेमा जाउँ । कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने वहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ आफ्नो जनप्रतिनिधिको अगाडी बढ्नको लागि । त्यहाँनिर धेरै स्कोप नभएको हुनाले र म जुन पार्टीमा लागेको थिए जसपा, एक प्रकारले कम्युनिष्ट भावनाबाटै चलेको पार्टी थियो र एमालेको हाम्रा केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकास प्रति जुन एउटा चाहाना मैले देखेँ । त्यो सबैबाट प्रेरित भएर त्यसपछि म एमालेलाई रोजेँ ।’

उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको बताए । पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए ।

उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरी कहिल्यैपनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निशर्त गएको छु । अब पार्टीले मुल्यांकन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरे । उहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन ।’

उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पारे । मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिएपनि स्वीकार गर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर