अमेरिकी र चिनियाँ कूटनीतिक युद्धको छायाँमा बेइजिङ विन्टर ओलम्पिक – Nepal Press

अमेरिकी र चिनियाँ कूटनीतिक युद्धको छायाँमा बेइजिङ विन्टर ओलम्पिक

गत शुक्रबार चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्स्ले अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्तो फर्नान्डेज चीनमा आउने समाचारलाई ‘एक्सक्लुसिभ’ भन्दै प्रकाशन गर्यो ।

माघ २१ (फेब्रअरी ४)देखि फागुन ८ (फेब्रअरी २०)सम्म हुने विन्टर बेइजिङ ओलम्पिकमा आउने पाहुनाको सामान्य समाचार ‘एक्सक्लुसिभ’ भन्नुले अमेरिका र चीनबीच ओलम्पिकको नाममा भएको कूटनीतिक युद्धको झल्को दिन्छ ।

अमेरिका नेतृत्वको पश्चिमा देशहरुको एक क्याम्प चीनमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कारको पक्षमा छ । अमेरिकी लाइनमा बेलायत, अस्टे«लिया, क्यानडा, डेनमार्क, जापानजस्ता देशहरु छन् ।

राष्ट्रिय तथा अन्तर्रास्ट्रिय इज्जत मानिने विश्वस्तरीय खेल ओलम्पिकमा खेलाडीले स्वीकार गर्ने तर कूटनीतिज्ञले बहिष्कार गर्ने अमेरिकी नेतृत्व क्याम्पको देखिने रणनीति छ । यसो गर्नमा चीनको मानव अधिकारदेखि अल्पसंख्यकमाथिको दमन भन्ने तर्क अमेरिकी क्याम्पको छ । अमेरिकाले चीनलाई ‘रणनीतिक प्रतिस्पर्धी’ मानेपछिको यो दुई महाशक्तिको सम्बन्ध सामान्य नभएको र आ–आफ्नो गुट बनाएको एक उदाहरण पनि हो, यो ।

अमेरिकी क्याम्पले कूटनीतिक बहिष्कार गरे पनि बहुसंख्यक विश्वका देश भने चीन ओलम्पिकको कूटनीतिक बहिष्कारको पक्षमा छैनन् ।

ओलप्पिकमा कोभिड महामारीका बीचमा पनि विश्वका ३२ राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स्ले उल्लेख गरेको छ । यसरी सहभागी हुनेमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसम्मका छन् ।

राष्ट्रपतिको जोडबलमा चीनले आएको एक मौका

हरेक चार वर्षको अन्तरालमा दुई सिजन ओलपिम्क प्रतियोगिता आयोजना हुन्छ । गर्मी सिजनमा हुने समर ओलम्पिकदेखि जाडो सिजनमा हुने विन्टर ओलम्पिक फरक–फरकरुपमा आयोजना हुन्छन् । यी दुवै सिजनमा शारीरिक अशक्तता भएकाहरुका लागि बेग्लै पारालाम्पिक प्रतियोगिता आयोजना हुन्छ । उदाहरणको लागि, यो सिजनको पारालाम्पिक विन्टर ओलम्पिक खेलकुद फागुन २० (मार्च ४)देखि फागुन २९ (मार्च १३)सम्म आयोजना हुँदैछ ।

बेइजिङ विश्वको एकमात्र सहर भएको छ, जसले सामान्य अवस्थामा खेलिने समर ओलम्पिकदेखि हिउँ र बरफमा खेलिने विन्टर ओलम्पिक दुवै आयोजना गर्ने मौका पाएको छ । सन् २००८ मा भएको समर ओलम्पिक आयोजना गरेको बेइजिङले सन् २०२२ को विन्टर ओलम्पिकको पनि आयोजना गर्ने मौका पाएको छ ।

विन्टर ओलम्पिक चीनले आयोजना गर्ने कुरामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पत्याएको थिएन । सन् २०१५ जुलाई अन्तिम सातामा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १२८ औं सेसनमा मलेसियाको क्वालालाम्पुरमा भएको भोटमा चीनले काजकिस्तानलाई उछिन्यो ।

खेल चीनको राजधानी बेइजिङमा कि काजकिस्तानको सहर अलम्याटीमा भन्नेमा मतदान भएको थियो । जसमा बेइजिङको पक्षमा चार मत बढी आयो । बेइजिङको ४४ मत आउँदा आलम्याटीको पक्षमा ४० मत आएको थियो ।

केही समयअगाडि काजकिस्तानमा हिंसा तथा आगजनी भड्केर विदेशी शान्ति सेना ल्याउनु परेकाले ओलम्पिक कमिटीको निर्णय अहिले थप सही सावित भएको देखिएको छ ।

बेइजिङले विन्टर ओलम्पिक आयोजनाको मौका पाउनुमा राष्ट्रपति सी चिनफिङको सक्रिय सहभागिता छ । भोटिङ हुनुअगाडि सीले एक भिडियो सन्देश पठाएका थिए । सन्देशमा उनले आफ्नो सक्रिय सहयोग हुने र खेल आयोजना हुने बेलासम्ममा आफ्ना सबै प्रतिवद्धता पूरा गर्ने बताएका थिए ।

हालसालै न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा सीले पूर्वाधार विकासदेखि अन्य तयारीमा वाचा पूरा गरेको लेखिएको छ । चार घण्टाको बाटो एक घण्टामा झरेको, प्रदूषित हावाको मात्रा घटाएको, कित्रिम हिउँ र बरफ बनाउने प्रविधि जडानमा सफलता पाएकोलगायतका काम सीले गरेको न्यू योर्क टाइम्सले लेखेको छ ।

जर्मन सरकारको संचारमाध्यम डिडब्लुका अनुसार कृत्रिम हिउँ निर्माणका लागि चीनले चार करोड ९० लाख जर्किन पानी प्रयोग गर्नेछ । एक जर्किनमा झन्डै तीन दशमलव आठ लिटर पानी हुन्छ, जसअनुसार १८ करोड ६२ लाख लिटर हाराहारी पानी प्रयोग हुने देखिन्छ ।

सीको ओलम्पिकप्रेम सन् २००८ बाटै सुरु भएको हो । सन् २००८ मा बेइजिङमा ओलम्पिक आयोजना हुँदा उनी चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिट्ब्युरो सदस्य थिए । त्यतिबेला उनको जिम्मेवारी बेइजिङ ओलम्पिकको सुरक्षा व्यवस्थापनको पक्षमा थियो ।

खासगरी हवाइ सुरक्षा प्रबन्धको तयारी नै उनको जिम्मेवारी थियो । त्यसका लागि उनले संभावित हवाइ आक्रमणको प्रतिरक्षा गर्न बेइजिङ वरपरको आकाशमा ४४ वटा हवाइ प्रतिरक्षा ‘ब्याट्री’हरु जडान गराएका थिए ।

आमदर्शकले टिकट नपाउने ओलम्पिकमा ६ हजार पत्रकार, १९ हजार स्वयंसेवक

सन् १९२४ मा फ्रान्सको स्यामुनिमा भएको प्रथम विन्टर ओलम्पिक आयोजना भएको ९८ वर्ष पूरा भएपछि बेइजिङ विन्टर ओलम्पिक आयोजना हुँदैछ । चिनियाँ नयाँ वर्ष सुरु भएपछि हुने ओलम्पिक आफैंमा महत्वपूर्ण छ । त्यसमाथि कोभिड–१९ त्रासदिबीचमा हुने खेलकुदको कुम्भ मेला भएकोले यो संस्करणमा आमदर्शकले टिकट पाउने छैनन् । केही सीमित दर्शकहरुले मात्रै प्रत्यक्ष खेल हेर्न पाउनेछन् ।

नाइनन्यूज डटकमका अनुसार १५ खेलका १०९ पदकका लागि विन्टर ओलम्पिक खेलकुद हुँदैछ । तीन हजार प्रतियोगी, खेल अधिकारी र कोचहरु सहभागी हुने प्रतियोगितामा ९१ देशले सहभागिता जनाउँदैछन् ।

चिनियाँ मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ– ओलम्पिकका लागि चीनले ६ हजार ८ सय सवारीसाधन र १३ हजार चालकहरु तयारी अवस्थामा राखेको छ ।

५ सय १० किलोमिटर लामो रोड ट्रयाक तयार भएको छ । ग्लोबल टाइम्सले १९ हजार स्वयंवेवक हुने र त्यसमा ९४ प्रतिशत ३५ वर्षमुनिका हुने उल्लेख गरेको छ । यस्तै उद्घाटनको दिन प्रस्तुति दिने तीन हजारमा ९५ प्रतिशत युवाहरु नै हुनेछन् । दैनिक आउने पत्रकारहरुको संख्या पाँचदेखि छ हजार हुनेछन् ।

चीनको विन्टर ओलम्पिक खेलकुद अहिलेसम्मकै सबैभन्दा हरित र स्वच्छ हुने दाबी गरेको छ । शतप्रतिशत ऊर्जा सौर्य र वायुबाट उत्पादन हुने भएकोले हरित र स्वच्छ हुने चीनको तर्क छ ।

सन् २००८ मा तिब्बत र २०२२ मा सिन्ज्याङको चर्चा

सन् २००८ मा समर ओलम्पिक आयोजना गर्दा चीनले आफ्नो राष्ट्रिय पहिचान विश्वमा फैलाउने प्रयास गरेको थियो । १४ वर्षपछि सन् २०२२ मा विन्टर ओलम्पिक आयोजना गर्दैगर्दा चीनले विश्व मानचित्रमा तस्बिर फेरिएको छ । चीन शक्तिबाट महाशक्ति भएको छ । चीनको आर्थिकदेखि सामरिक शक्ति विश्वमा बलियो बनेको छ ।

सन् २००८ मा भएको ओलम्पिकपछि चीनका एक–एक सफलता सुरु भए । जस्तै, सन् २००९ मा चीन अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कार बजार बन्यो । सोही वर्ष चीनले जर्मनीलाई उछिनेर विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक बन्यो ।

सन् २०१० मा चीनले जापानलाई पछि पार्दै अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको हैसियत कायम गर्यो । जिडिपीको कोणमा अमेरिकाभन्दा एक कदम मात्रै पछि भएको चीनले पर्चेजिङ पावर प्यारिटि (पिपिपि)को आधारमा सन् २०१४ मै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।

सन् २०२१ मा आउँदा चीनले गरिबीमुक्त देश बनाउन सफल भयो । सन् २०२१ को जुनमा चीनले आफ्नै अलग्गै अन्तरीक्ष केन्द्र बनाएर अन्तरीक्ष यात्रु पठायो । यसरी चीनले एकपछि अर्को प्रगति गरेर आर्थिक र सामरिक रुपमा सन् २००८ को ओलम्पिकभन्दा सन् २०२२ को ओलम्पिकलाई विश्व मञ्चमा आफूलाई झनै शक्तिशाली बनाएको छ ।

मध्यमस्तरको विश्व शक्तिदेखि अमेरिकाले ‘रणनीतिक प्रतिस्पर्धी’ मान्नेस्तरको शक्ति हुँदा पनि चीनको ओलम्पिकमा अमेरिकी नेतृत्वको विरोध भने उस्तै छ । सन् २००८ मा ओलम्पिक हुँदा तिब्बती मामिलामा चीनको व्यापक आलोना पश्चिमा देशहरुले गर्दै आएका थिए ।

सन् २०२२ मा भने तिब्बत मामिला चर्चामा छैन । अहिले चर्चामा छ, सिन्ज्याङ प्रान्त । सिन्ज्याङका ह्विगुर मुस्लिमलाई ‘आम नरसंहार’ गरेको भन्दै अमेरिकी क्याम्पले कूटनीतिक बहिष्कार गरेको छ । चीनले अमेरिकी क्याम्पको आरेलाई भ्रामक भन्दै आएको छ ।

रोचक कुरा चाहिँ– अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र डेनमार्कले कूटनीतिक बहिष्कार गरेपनि फ्रान्स, जर्मनी, दक्षिण कोरिया, साउदी अरेबियालगायतका अमेरिकी साझेदारहरुले भने कूटनीतिक बहिष्कार गरेका छैनन् ।

 


प्रतिक्रिया

One thought on “अमेरिकी र चिनियाँ कूटनीतिक युद्धको छायाँमा बेइजिङ विन्टर ओलम्पिक

  1. कस्तो झुर आर्टिकल ? चीनको सफ्ट पावरको चर्चै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर