चिडियाखानादेखि कालापत्थरसम्म- वन्यजन्तुको अभिभावकत्वसँगै महिलाका लागि जलवायु न्याय – Nepal Press
नेपाल टक

चिडियाखानादेखि कालापत्थरसम्म- वन्यजन्तुको अभिभावकत्वसँगै महिलाका लागि जलवायु न्याय

काठमाडाैं । कोरोनाको पहिलो लहर नेपालमा सुरु भएलगत्तैको लकडाउनले सबैलाई घरभित्र सीमित गरेको थियो । त्यसमा एक थिइन्, प्रजिता कार्की ।

लकडाउनकै बेला मिडियामा चिडियाखानामा राखिएका वन्यजन्तुले आहार नपाएर समस्यामा परेको समाचार पढेपछि उनले सोचिन्- जनावर बचाउन कम्तीमा एउटा वन्यजन्तुको जिम्मा किन नलिने ।

सदर चिडियाखानाले अघि सारेको- ‘एडप्ट एन एनिमल’ अवधारणामा प्रजिता सहभागी भइन् । एउटा व्यक्तिले चिडियाखानाको एउटा जनावरको अभिभावकत्व लिइदिने हो भने मात्र पनि कम्तीमा जनावरको जीवनरक्षा हुने थियो ।

आफूनिकट र चिनेजानेकाहरूसँग सल्लाह गरेर थालिएको यो अभियानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासम्मका हाइ प्रोफाइलहरू जोडिए ।

आज यो अभियानमा धेरै मान्छे जोडिएका छन् र देश विदेशमा रहेका धेरैले एउटा वन्यजन्तुको अभिभावकत्व लिने चासो राखेका छन् । उनी यसलाई अब संस्थागत गर्ने अभियानमा छिन् ।

एउटा जनावरको खाने आहार, मेडिकल लगायतका सबै ‘लजिस्टिक’ मा कति खर्च लाग्छ ? जनावर हेरेर उसले खाने आहारका आधारमा एक वर्ष वा त्यसभन्दा बढी वा कम समयको लागि जिम्मा लिने यो नयाँ प्रयोग नेपालमा प्रजिताले गरिन् ।

घरमा जोडी कुकुरका लागि मासिक लाख रुपैयाँसम्म खर्च गर्ने नेपाली छन् । उनीहरूले चिडियाखानाको एउटा ढुकुरको मात्र अभिभावकत्व लिइदिए पनि ‘इकोसिस्टम’ लाई सहयोग पुग्ने उनको आग्रह छ ।

प्रजिताको अरु कुनै परिचय छैन । उनी कुनै पदीय ओहोदाधारी पनि होइनन् । तर, एडप्ट एन एनिमल अभियानमा धेरैको साथ सहयोग खोज्ने क्रममा उनलाई काम गर्ने संस्था चाहियो ।

सबैको सुझावपछि अहिले साथसाथै भन्ने संस्थामार्फत उनले इकोसिस्टम र जलवायु परिवर्तनका मुद्दामा महिलाको एजेण्डा समेत गाँसेर नयाँ अभियान थालेकी छन्- वुमन युनाइटेड फर क्लाइमेट जस्टिस ।

जलवायु परिवर्तनको असर समग्र मानव जातिले भोगिरहेको छ । त्यसमा पनि महिलाले अझ धेरै आयाममा त्यसको असर भोग्छन् । चुल्होदेखि पँधेरासम्म जलवायु परिवर्तनको असरको सामना गर्नेमा पहिले नेपाली महिला नै पर्छन् ।

त्यसका साथै महिलाको प्रजननमा समेत जलवायु परिवर्तनको असर पर्ने गरेका विभिन्न अध्ययनहरुले देखाएका छन् । जसरी चिडियाखानाका वन्यजन्तुले खान नपाएको समाचारले उनलाई जनावरको अभिभावकत्व लिने अभियानको अभियन्ता बनायो, त्यसैगरी अहिले जलवायु परिवर्तनमा महिलाको न्याय खोज्ने अभियानमा उनी लागेकी छन् ।

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन यसपटक अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उनले समाजका प्रतिष्ठित महिलाहरूलाई सगरमाथा आधार शिविरसम्म पदयात्रा गराउँदैछिन् ।

जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा गर्दैछन् । यसको संयोजन गर्दैछिन् प्रजिता कार्की ।

विभिन्न विधाका प्रतिष्ठित २७ महिलाले काठमाडौंदेखि कालापत्थरसम्म झण्डै १२ दिनको पदयात्रा गर्नेछन् र विश्वलाई सन्देश दिनेछन् ।

जलवायु परिवर्तनका कारणले परेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलामा उत्पन्न गरेको समस्याको न्यायका लागि वकालत गर्ने उनको उद्देश्य छ । समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्ने र त्यहीँबाट जलवायु परिवर्तनका असरले महिलामा पारेका असरको उजागर गर्ने तथा त्यस्ता मुद्दाको राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा ध्यानाकर्षण गराइने उनले बताइन् ।

स्थानीय महिलासँग सहकार्य गर्ने र कालापत्थरको उचाइबाट जलवायु परिवर्तन प्रभावित महिलाको आवाज उठाएर विश्वलाई सन्देश दिने अयिभानको उद्देश्य रहेको छ । उनी अहिले यसैमा काम गरिरहेकी छन् ।

यिनै दुई अभियानका साथ उदाउँदै गरेकी नयाँ अनुहार प्रजितालाई यसपटक नेपाल प्रेसले चिनाउन खोजेको छ । दुवै अभियानबारे उनकाे धारणासहित याे भिडिओ अन्तर्वार्ता प्रस्तुत छ, नेपाल टकमा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर