आमचोकका ३० विपन्न परिवारलाई गाउँपालिकाले बनाइदियो घर – Nepal Press

आमचोकका ३० विपन्न परिवारलाई गाउँपालिकाले बनाइदियो घर

भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ छ । ‘हामीले यहाँका पुस्तौंदेखी पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएका हौँ’, अध्यक्ष राईले भने, ‘राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएपछि अहिले उनीहरुलाई प्रत्यक्ष लाभ पुगेको छ ।’ गाउँपालिकाले यहाँका अतिविपन्न परिवारलाई स्थानीय सरकार भएको अनुभूति दिलाएको स्थानीय ७३ वर्षीय लाभग्राही वृद्ध कानबहादुर राईले बताए ।

जन्मेदेखि घरबिहीन भएर बसेको अवस्थामा गाउँपालिकाले घर निर्माण गरी दिएपछि आफू हर्षित भएको उनको भनाइ छ । “म ७३ वर्ष पुँगे । अहिलेसम्म मेरो जीवन गाई गोठमा बितेको थियो । यो जुनीमा मेरो घर होला भन्ने सोचेको पनि थिइन् तर गाउँपालिकाले घर बनाइदियो । आफ्नो कोही पनि साहरा नभएकाले बृद्धभत्ताबाट आएको पैसाले ज्यान बचाएको छु’, वृद्ध राईले भने, ‘विगतमा कोही नहुँदा र बासको पनि अभावमा कष्टकर जीवन बिताउनु परे पनि अहिले अभिभावक पाएको जस्तो भएको छ । गरिबको बच्चो भइयो । घर नहुँदा यो उमेरसम्म आउदा धेरै कष्टपार गरियो । आफ्नै घरमा मर्न पाइएला भन्ने सोचेको पनि थिइन् तर अहिले आफ्नै घरमा बस्न पाउँदा खुसी छु ।’

गाउँपालिकाले घर निर्माण गरिदिएपछि दैनिक जीवनमा परिवर्तन आएको अर्का स्थानीयवासी जिदर शेर्पाले बताए । अहिले परिवारसहित गाउँपालिकाले निर्माण गरिदिएको घरमा बस्दै आएका उनले भने, ‘गरिबीका कारण जीवनमा एउटा घर बनाउन पनि सकेको थिइन् । अर्काको बनिबुतो गरेर दिन जान्छ । सरकार चाहिने भनेको हामीजस्ता नागरिकलाई त होनी । घर पाउँदा निकै खुसी लागेको छ ।’

खुल्ला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएका कुमार सार्कीले पनि नयाँ घर पाएका छन् । अहिले नयाँ घरमा बस्न थालेका उनले भने, ‘घर नहुँदा दिन बिताउन समस्या थियो । हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई बचाउन नै गाह्रो हुन्थ्यो । ढिलै भए पनि राज्यले हामीलाई देख्यो । हाम्रो पीडा बुझ्यो । असाध्धै खुसी छु । म जस्ता धेरै दलित परिवारले घर पाएका छौँ ।’ गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित फुसको छानो हटाउने अभियानसमेत सञ्चालन गर्नाका साथै एक घर एक धाराको अभियान पनि चलाइएको बताइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर