बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी – Nepal Press

बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य मुलुकका सेनाको संयुक्त सैन्य अभ्यास भारतको पुनेमा सोमबारदेखि सुरु भएको छ । प्यानएक्स-२१ नाम दिइएको यो अभ्यास मानवीय सहायता र विपत उद्दार अभ्यासमा केन्द्रित हुने भारतीय सेनाले जनाएको छ ।

भारत, बंगलादेश, नेपाल, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका सेना उक्त सैन्य अभ्यासमा सहभागी छन् । बिमस्टेक मुलुकका सेनाको यो संयुक्त अभ्यासको तेस्रो श्रृंखला हो । यसअघि सन् २०२० को फेब्रुअरीमा दोस्रो अभ्यास सम्पन्न भएको थियो ।

भारतीय सेनाले ट्वीटमार्फत यसपटकको सैन्य अभ्यास कोरोना महामारीको जोखिमको बीचमा भैरहेको र प्राकृतिक विपतबाट हुने क्षतिविरुद्ध लड्न संयुक्त उद्दार संयन्त्र गठन गर्नेतर्फ केन्द्रित हुने जनाएको छ । अभ्यासको पहिलो दिन आयोजित कार्यक्रममा भारतीय सेना प्रमुख एमएम नरवाणेले कि-नोट स्पिच दिएका थिए । अभ्यासको साइडलाइनमा टेबुल–वार्ता, सेमिनार, बहुपक्षीय अभ्यासका कार्यक्रम पनि संचालन हुने भएका छन् ।

भारतसँगको राजनीतिक तनावका बीच यसअघि नेपाली सेनाले बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा भाग नलिने जनाएको थियो । भारतीय संचारमाध्यमले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेपाली सेना अभ्यासबाट पछि हटेको जनाएका थिए । पुनेमा सहभागी हुन नेपाली सेनाको टोली त्यसतर्फ जानु एकदिनअघि नेपाली सेनाले भाग नलिने निर्णय गरेको थियो । तत्कालिन नेकपाका प्रभावशाली नेताहरुकै कोणबाट समेत विरोध भएपछि सेना पछि हटेको थियो ।

बैंकक घोषणापत्र सार्वजनिक गर्दै सन् १९९७ मा बिमस्टेक संगठन स्थापना भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर