सभापतिको दौड छाडेका शशांक, ८१ प्रतिशत मतसहित ‘म्यान अफ दी इलेक्सन’ – Nepal Press

सभापतिको दौड छाडेका शशांक, ८१ प्रतिशत मतसहित ‘म्यान अफ दी इलेक्सन’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको प्रबल दावेदार रहेरपनि त्याग गरेका डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका छन् । उनले सबैभन्दा धेरै ३ हजार ८ सय ३६ मत ल्याए । जुन कुल खसेको मतको ८१ प्रतिशतभन्दा बढी हो ।

दोस्रो स्थानमा रहेका एनपी साउदसँग उनको मतान्तर ८ सय ९९ को रहेको छ । यसअघि नै घोषित परिणाममध्ये महामन्त्रीमा गगन थापाबाहेक कसैले पनि ३ हजार मत कटाउन सकेका छैनन् । गगनले ३ हजार २३ मत ल्याए । यो हिसाबले शशांक १४ औं महाधिवेशनको ‘म्यान अफ दी इलेक्सन’ बनेका छन् ।

१३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित कोइरालाले ‘सभापतिमा शेरबहादुर देउवालाई आफूले मात्रै हराउनसक्ने’ दावी गर्दै आएका थिए । संस्थापन इतर समूहबाट सभापतिको आकांक्षी रहे पनि सहमतिका लागि भन्दै उनले रेस छाडेको घोषणा गर्नुपरेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह र दाजु डा.शेखर कोइरालाको अनुरोधका बीच शशांकले सभापतिको उम्मेदवार नबन्ने निर्णय लिएका थिए । साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा बसेको बैठकमा शशांकले वरिष्ठ नेता पौडेलको आग्रहअनुसार आफूले सहमतिका लागि त्याग गरेको बताएका थिए ।

‘रामचन्द्र दाईले एकपटक मलाई सहयोग गर भन्नुभएको छ । त्यसैले मैले सहमतिका लागि त्याग गरेको छु’, उनले भनेका थिए । यद्यपि उनको त्यागका वावजुद संस्थापनइतर समूह एकजुट हुनसकेन ।

पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला दुवै सभापतिको उम्मेदवार भएपछि शशांक तटस्थ रहेका थिए । साझा उम्मेदवार तय नभएपछि रामचन्द्र—शशांक दुवैले कुनैपनि उम्मेदवारको पक्षमा आफूलाई खुलाएनन् ।

सभापतिको रेस छाडेर खुला तर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका शशांकलाई सभापतिका सबै प्रत्याशीले आफ्नो प्यानलमा राखेका थिए । मतदानका लागि राष्ट्रियसभा गृह पुगेका शशांकले आफू कसैका पक्षमा नभएर पार्टी एकताका पक्षमा उभिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर