बलियाे टोलीको पुनरागमन हुँदा जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस – Nepal Press

बलियाे टोलीको पुनरागमन हुँदा जावलाखेल र एपिएफलाई खाता खोल्नै सकस

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बुधबार तेस्रो चरणका खेल सकिएका छन् । तेस्रो चरणका खेलमा पनि उपाधि दाबेदार टोली थ्री स्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी नतिजामा चित्त बुझाउँदा नवप्रवेशी सातदोबाट युथ क्लबले शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएर शीर्ष डिभिजन लिगमा परिपक्क खेलको नमूना देखिएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन् । शीर्ष ६ मा अटाएका टोलीले जारी लिगमा अपराजित यात्रा कायम राख्दा यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटे युथ क्लबले शीर्षता लिन सफल भएको छ । ३ खेलमा दुई जित र १ बराबरी खेलेका सातदोबाटोले ७ अंक जोडेर शीर्षता कायम गरेको हो ।

यस्तै दोस्रो र तेस्रो स्थानमा मच्छिन्द्र र मनाङ मस्र्याङ्दी फुटबल क्लबले पनि समान ७ नै अंक जोडे पनि गोल अन्तरका आधारमा स्थान फरक भएको छ । यस्तै समान ५ अंक जोडेका संकटा, पुलिस र आर्मी क्रमशः चौंथो, पाँचौ र छैठौं स्थानमा अटाएका छन् ।

तीन चरणका खेल सकिँदा कुनै पनि टोलीले स्पष्ट जितलाई निरन्तरता दिन सकेनन् । दोस्रो चरणसम्मको खेलमा विजयी यात्रालाई निरन्तरता दिएको मनाङ मस्र्याङ्दीको तेस्रो चरणको खेलमा पूर्णविराम लाग्यो । संकटाविरुद्ध पुनरागमनमा जित निकाल्दै अंक बाँड्यो । विदेशी खेलाडी फ्रांन्कलिन कोटेटाले इन्जुरी समयमा गोल गर्दै मनाङलाई हारबाट जोगाउँदा संकटासँग २-२ गोलको बराबरी खेल्यो ।

जसका कारण मनाङ शीर्षस्थानमा उक्लने अवसरबाट चुक्यो । यस्तै ३ खेलमा जित हारको नतिजा निस्कदा बाँकी ४ खेल भने बराबरीमा टुंगिए । सातदोबाटोले एपिएफलाई ४-१ ले हराउँदा आर्मीले बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई १-० र मछिन्द्रले जावलाखेललाई २-० ले पराजित गर्‍यो ।

ललितपुर डर्बी भिडन्तमा फ्रेन्ड्स र थ्री स्टारले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्दा च्यासल र एनआरटी तथा हिमालयन शेर्पा र विभागीय टोली नेपाल पुलिसले समान १-१ को बराबरी खेले । जावलाखेल र एपीएफ अहिलेसम्म सबै तीन खेलमा पराजित टिम रहेका छन । जावलाखेलले कुनै पनि खेलमा गोल गर्न सकेको छैन । यसक्रममा गोल नगर्ने एक्लो टोली जावलाखेल मात्र रहेको छ ।

तेस्रो चरणमा कुल १८ गोल हुँदा एक ह्याट्रिक र दुई आत्मघाती गोल पनि रहे । विभागीय टोली एपिएफमाथि सातदोबाटो युथ क्लबले ४–१ को शानदार जित निकाल्दा अजयी मार्टिनले जारी लिगमा पहिलो ह्याट्रिक तेस्रो चरणको खेलमा गर्न पुगे । जावलाखेलका सिमान्त थापा र सातदोबाटोका करण रावतले आत्मघाती गोल गरे । दोहोरो पहेँलो कार्डका कारण सातदोबाटोका सुशील राई र च्यासलका यानिक केट्चाले चौथो चरण गुमाउने भएका छन् । लिगमा भोलीबाट चौथो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *