बुटवल उपमहानगर लगानीमैत्री र व्यवसायिक वातावरणमा देशकै उत्कृष्ट – Nepal Press

बुटवल उपमहानगर लगानीमैत्री र व्यवसायिक वातावरणमा देशकै उत्कृष्ट

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगर लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रूपमा मुलुककै पहिलो भएको छ । व्यवसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान हात पारेको हो । ११ वटा नगरपालिकामा जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरूमार्फत मूल्यांकन गरेको थियो ।

लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यमीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआईजेडले जनाएको छ ।

देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रूपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलले बताइन् ।

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यवसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई टिम लिडर खकुरेलसहित जीआईजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको छ ।

मेयर सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको बताए । उनले समृद्ध बुटवल र खुशी बुटवलवासीको लक्ष्य अनुरूपका काममा सार्वजनिक र निजी साझेदारी हुने भन्दै सहकार्यका लागि आग्रह गरे ।

करदातालाई प्रोत्साहन, हजारौंले लिए छुट

करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरपालिकाले करछुटका विभिन्न व्यवस्थाहरू ल्याएपछि हजारौं करदाता लाभान्वित भएका छन् । उपमहानगरपालिकामा जननिर्वाचित जनप्रतिनिधि आएपछि तीन आर्थिक वर्षयता बढिरहेका करदाताहरुलाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्था ल्याइएको थियो ।

गएका चार आर्थिक बर्षमा २३ हजार चार सय तीन जनाले व्यवसाय कर, ७० हजार ८ सय १९ जनाले सम्पत्ति कर र १२ हजार २ सय ८ जनाले घर बहालकरमा १० देखि २५ प्रतिशतसम्म कर छुट लिइसकेको उपमहानगरको तथ्यांकमा छ । उक्त अवधिमा व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६ सय ४५ जना रहेका छन् भने २५ प्रतिशत छुट लिने ६ हजार २ सय ६५ जना रहेका छन् । त्यस्तै सम्पत्ति करमा उपमहानगरपालिकाले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको छ । १० प्रतिशत कर छुट लिने करदाताहरु ४८ हजार ७८ जना रहेका छन् भने १५ प्रतिशत कर छुट लिनेहरु २२ हजार १ सय ४१ जना रहेका छन् । त्यस्तै बहालकर तर्फ कार्तिक १० प्रतिशत कर छुट लिनेहरुको संख्या ८ हजार चार सय ३६ रहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

२५ प्रतिशत कर छुट लिनेमा ३ हजार ७ सय ७२ जना रहेका छन् । कोभिडको महामारीमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा सबै खाले करमा भारी छुट दिएको थियो । जसअनुसार उक्त आबमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर बहाल करमा २५ प्रतिशत कर छुट दिएको थियो । व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

तर, करदाता यदी महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यक रहेछन् भने उनीहरुलाई सम्पत्ति कर, व्यवसाय कर र घरबहाल करमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेको राजश्व शाखाका अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *