नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके – Nepal Press

नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके

काठमाडौं । त्यो बेला लुइस इनिरकेको सेतो स्पेनिस जर्सीमा जताततै रगतै रगत थियो । सन् १९९४ विश्वकपको क्‍वार्टरफाइनलमा इटालीविरुद्ध स्पेनको खेल चलिरहँदा त्यो द‍ृश्य देखिएको थियो । उक्त खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै इटालीले सेमिफाइनल यात्रा तय गरेको थियो ।

त्यो खेलमा देखिएको द‍ृश्य कुनै पनि स्पेनिस समर्थकले कहिले पनि बिर्सिँदैनन् ।

मंगलबार राति स्पेनले युरो २०२० को सेमिफाइनलमा इटालीसँग खेल्दै छ । र, आज राति फेरि यी दुई टोली वेम्ब्ली स्टेडियममा भेट हुँदा स्पेनिस प्रशिक्षक लुइस इनरिकेले २७ वर्षपछि आफ्नो नाक भाँचिएको नराम्रो अनुभव पुनर्ताजगी गर्नेछन् । बल जित्ने क्रममा इटालीका डिफेन्डर माउरो टासोट्टीको कुहिनाले लागेर इनरिकेको नाक रक्ताम्मे भएको थियो ।

त्यो चर्चित घटना १९९४ जुलाई ९ मा फक्सबोरो स्टेडियममा भएको थियो । त्यसपछि इनरिकेले आफ्नो करियरमा खेलाडी वा प्रशिक्षकको रूपमा कहिल्यै पनि इटालीको सामना गरेका छैनन् ।

इनरिके र टासोट्टी शान्त भए

त्यो घटना भएको क्षण एकदमै तनावग्रस्त थियो । इनरिकले त्यो फाउलबापत् पेनाल्टीका लागि अपील गरेका थिए । तर, रेफ्रीले पेनाल्टी दिएनन् । प्रशिक्षक क्लेमेन्टेका अनुसार रेफ्री धेरै संख्यामा भएका इटालियन समर्थकका अगाडि पेनाल्टी दिन डराएका थिए ।

‘इनरिके रेफ्री र टासोट्टीलाई मार्न चाहन्थे,’ स्पेनिस फिजियोथेरापिस्ट सेनेन कोर्टेगोसोले केही समयपछि इनरिकेको रिसको व्याख्या गर्दै भनेका थिए ।

केही वर्षपछि इनरिके रोमाको प्रशिक्षक हुँदा टासोट्टी एसी मिलानका सहायक प्रशिक्षक थिए । र, उनीहरूको भेट सम्भव भएको थियो । त्यो भेटमा दुवैले हात मिलाएका थिए र टासोट्टीले माफीसमेत मागेका थिए ।

स्पेनविरुद्ध इटाली: क्लासिक राइभरी

यद्यपि, १९९४ विश्वकपपछि इनरिकेले इटालीको सामना गरेका छैनन् । पछिल्लो २७ वर्षमा यी दुई टोली भने १४ पटक मैदानमा लडेका छन् । तीमध्ये पाँच खेल स्पेनले जितेको छ भने दुई इटालीले जितेको छ । बाँकी सात खेल बराबरीमा टुङ्गिएका छन् । तर, आज रातिको खेल बराबरीमा टुङ्गिन असम्भव छ । त्यसैले आजको खेलपछि स्पेनको ६ वा इटालीको तीन हुने निश्चित छ ।

यी दुईबीचको अन्तिम भेट २०१८ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा स्पेनले सान्टियागो बेर्नाबेउमा इटालीलाई ३-० को नतिजामा पराजित गर्दा इस्कोले दुई र अहिले टोलीमा रहेका फरवार्ड अल्भारो मोराटाले एक गोल गरेका थिए ।

तर, ठूला प्रतियोगितामा भने यी दुई टोलीको भेट युरो २०१६ मा भएको थियो । त्यो खेलमा भिसेन्टे डेल बोस्क नेतृत्वको स्पेन २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

इटालीविरुद्धको त्यो खेल खेलेका सर्जियो बुस्केट, जोर्डी अल्बा र अल्भारो मोराटाले त्यो दिन असफल भएका थिए । त्यो असफलतालाई सफलतामा परिणत गर्ने मौका आज उनीहरूसँग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर