प्रदेश २ का प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई सोधे– किन मन्त्रिमण्डल समावेशी नबनाएको ? – Nepal Press

प्रदेश २ का प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई सोधे– किन मन्त्रिमण्डल समावेशी नबनाएको ?

जनकपुर । प्रदेश २ सरकार समावेशी नभएको भन्दै प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले मुख्यमन्त्री लालबाबु राउतलाई लेखेको ‘स्मरण–पत्र’ सार्वजनिक भएको छ ।

एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएकै बिहान अर्थात् जेठ २८ गते प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्रीलाई ‘स्मरण–पत्र’ सार्वजनिक भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनामा प्रदेश २ ले उल्लेख्य योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख अहिराजले पत्रमार्फत् महिला, दलित, आदिबासी, गैरमधेसीलगायतलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्रीलाई लेखेको पत्रमा संविधानको व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्त अवलम्बन नगरेको औंल्याइएको छ । ‘प्रदेश भित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो’, स्मरण–पत्रमा उल्लेख छ ।

प्रदेशका मुख्यमन्त्रीसहित ७ मन्त्रीमा सबै पुरुष छन् । जसपाले उषा यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री मात्र बनाएको छ । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी डिम्पल झालाई बर्खास्त गरिसकिएको छ ।

तीन दिनअघि मात्रै कांग्रेस तीन मन्त्री लिएर सरकारमा सहभागी भएको छ । कांग्रसबाट मन्त्री भएका तीनजना पुरुष हुन् । महिलालाई मन्त्री नबनाएकोमा नेकपा एमालेकी सांसद मञ्जु यादवले मुख्यमन्त्री लालबाबु राउतसँग जवाफ समेत मागेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर