२४ घण्टामा नवलपरासी पश्चिममा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु – Nepal Press

२४ घण्टामा नवलपरासी पश्चिममा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही । पछिल्लो २४ घण्टाको अवधिमा मात्र नवलपरासी पश्चिममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २–२ जना तथा सरावल गाउँपालिकाका एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

उनीहरुमध्ये सुनवल नगरपालिका–६ का ८४ वर्षका पुरुषको शुक्रबार होम आइसोलेसनमा र वडा नम्बर ७ का ८५ वर्षका पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना सम्पर्क व्यक्ति देविलाल पौडेलले जानकारी दिए । उनका अनुसार रामग्राम नगरपालिकाका–६ का ४२ वर्षका पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

रामग्राम नगरपालिका–१० का ४५ वर्षका महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउंपालिका–२ का ४५ वर्षका युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।

सामान्य अवस्थामा रहेका उनलाई शुक्रबार राति एक्कासी खोकी र सास फेर्न गाह्रो भएपछि शनिबार बिहान अस्पताल ल्याइएको थियो । अस्पतालमा सुविधायुक्त आइसोलेसन छैन् । उनलाई इर्मजेन्सीमा राखेर उपचार गरिएको थियो । यसअघि कुनै दीर्घरोग नभएका उनको उपचार सुरु गरेको १ घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ ।

बैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने अहिलेसम्म जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर