भैरवी गाउँपालिका अध्यक्ष भन्छन्- श्रीस्थानको पेट्रोलियम चाँडो उत्खनन् गरौं – Nepal Press

भैरवी गाउँपालिका अध्यक्ष भन्छन्- श्रीस्थानको पेट्रोलियम चाँडो उत्खनन् गरौं

सुर्खेत । साढे तीन वर्षअघिको स्थानीय चुनावमा दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा तत्कालीन नेकपा एमालेबाट उम्मेद्वार बनेका प्रेम बुढाले भैरवीमा विमानस्थल र श्रीस्थानमा पेट्रोलियम उत्खनन् गर्ने घोषणापत्र जारी गरेका थिए ।

जनताको सामान्य आशाभन्दा माथिका यी दुई घोषणाबारे उनले बल्ल बुझेका छन्, यी त स्थानीय सरकारबाट सम्भव हुने काम होइन रहेछन् ।

भैरवीमा विमानस्थल निर्माण प्राविधिक रुपमा कठिन हुने बुझेर पछि हटेका उनी सम्भावित पेट्रोलियम उत्खनन्को कामले ठोष उपलब्धी हासिल भएमा आफ्नो सपना पूरा हुने बताउँछन् । अन्य जनचासोका काममा जनताले गुनासो गर्ने ठाउँ नरहेको उनको दावी छ ।

२०७६ सालको असोजदेखि फागुन मसान्तसम्म श्रीस्थानमा चिनियाँ कम्पनीले इन्धनको सम्भावित खानीबारे अनुसन्धान सुरु गरेको थियो । प्राप्त नतिजा लिएर फर्किएको चिनियाँ टोली अहिलेसम्म फर्केको छैन । अध्यक्ष बुढाले सुनेका छन्, ‘श्रीस्थानको जमिनमूनि तेल भए–नभएको ल्यावमा अनुसन्धान भइरहेको छ, कोरोना महामारीका कारण नतिजासहित टोली आउन ढिला भएको हो ।’

उनले श्रीस्थानको पेट्रोलियम उत्खनन गर्न संघीय र प्रदेश सरकारलाई बारम्बार आग्रह गरिरहेको बताए । ‘हाम्रो क्षेमताको त्यो काम होइन । संघीय र प्रदेश सरकारले छिटो भन्दा छिटो काम अगाडी बढाई हाम्रो कार्यकालमा तेल निकाल्न सकेको खण्डमा भैरवीगाउँपालिका मात्रै नभएर देशकै विकासमा एक सुनौलो इटा थपिने थियो,’ उनी भन्छन् ।

विमानस्थलबारे उनको बुझाइ र वास्तविकता फरक रहेछ । ‘रावतकोटको रतिखालमा विमानस्थल निर्माण गर्ने पालिकाको योजना थियो । थोरै सल्लाको रुख काटेर विमानस्थल निर्माण गर्न सजिलो नै थियो तर छलफल संवाद अगाडि बढाउँदा विमानस्थल बनाउन भन्दा पनि त्यसलाई सञ्चालन गर्न अप्ठयारो हुने रहेछ । सीमित श्रोतले विमानस्थल सञ्चालन गर्न कठिन हुने भएपछि हामी हटेका हौं ।’ उनी भन्छन्, ‘बरु यहाँ एक क्रसर उद्योग सञ्चालन गर्ने तयारी हामीले गरिरहेका छौं ।’

सडक नै प्राथमिकता

अध्यक्ष बुढाले भैरवी गाउँपालिकाको विकास गर्न सडक नै पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । माथिल्लो डुङगेश्वर–दुल्लू–डाँडिमाडी–कुसापानी, कालिकोट, जुम्ला हुँदै मुगु जिल्लाको नाग्चेलाग्ना सडक निर्माणमा जोड दिएको उनको भनाई थियो । यसका लागि प्रदेश सरकारसँग आवश्यक बजेटका लागि कुराकानी भइरहेको छ ।

‘यो सडक निर्माण गर्न सकिएको खण्डमा जुम्ला–कालिकोटका नागरिकलाई कर्णाली राजमार्ग भन्दा ६८ किलोमिटर छोटो पर्नेछ । यस्तै, बडालम्जी–डाँडिमाडी–कुसापानी र बडालम्जी–रावतकोट सडकलाई स्तर उन्नती र कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका थियौँ । डाँडिमाडी बजारको सडकलाइ हामिले ग्राभेल गरेर नालीसमेत बनाएका छौं,’ उनले थपे, ‘मध्यपहाडी लोकमार्गमा पर्ने जगत्रादेखि रावतकोट हुँदै भिरखेतको पुलसम्म १० किलोमिटर सडकसंघिय सरकारको उक्त सडक आयोजनाले नै कालोपत्रे गर्दैछ । अन्य सडकहरु स्तरोन्नतीको काम भइरहेको छ । कालिकोटको सिमाना नजिकैको व्याउलीसम्म सहज तरिकाले गाडि जान्छ ।’

बाजथला–बगौरा, बगना–गडाजिउला, डाँडिमांडी–गडाजिउला, डाँडिमांडी–सैन, डोक्रा–कुसापानी साथै कुसापानी–गैरासरु –कडेनी–गोर्ती–काशिकाँध, कुसापानी–घुम्नेखाली–कुर्माकोट–कुटी–काशिकाँध सडक पनि चुनावी प्रतिवद्धताअनुसार काम भइरहेको छउनले बताए ।
उनले यो डेढ वर्षको अवधीमा भैरवीका ९८ प्रतिशत जनताको घरमा विजुली बल्ने बताए । ‘सडक पछिको महत्वपूर्ण विकासको रुपमा हरेक घरमा विजुली पुर्‍याउने काम हो । बाँकी कार्यकालमा हामीले ९८ प्रतिशत घरमा विजुली बालीसक्छौं ।’

भैरवी गाउँपालिकामा खानेपानीको धेरै समस्या थियो । बडालम्जी खानेपानी आयोजना विसं २०४० सालमा निर्माण सुरु भएपनि बीचमा रोकिएको थियो । अहिले त्यो पुर्ननिर्माणको अन्तिम चरणमा छ । अहिले पानी धारमा आइसकेको छ । अहिले भैरी, बडालम्जी र रावतकोटसम्मका जनताले पानी खाइरहेका छन् । त्यस्तै ग्रामिण जलस्रोत परियोजनाले रावतकोटमा लिफ्ट खानेपानी आयोजना गतवर्ष सम्पन्न गरेको छ । साना तिना आयोजना धेरै सम्पन्न भइसकेका छन् ।

‘हाम्रो गाउँपालिकामा उत्तरी क्षेत्रमा जडिबुटी र दक्षिणी क्षेत्रमा तरकारी , फलफूल र मत्स्यपालन पकेट क्षेत्र हनाई कृषिमा आधुनिकीकरण प्रविधि अपनाउन सुरु गरेका छौं,’ उनी भन्छन्, ‘उत्तरी क्षेत्रमा अलैंची र कीबी खेतीको सुरुवात गरेका छौं । त्यसका साथै २ वटा दूध संकलन केन्द्र पनि स्थापना गरेका छौं । डेरीले छुर्पी उत्पादन गरेर दैलेख र सुर्खेतको बजारमा विक्री गर्ने गरेको छ ।’

भैरवी गाउँपालिका वडा नम्बर ६ मा डिप्लोमा तहको ३ वर्षे वालिविज्ञान र पशु विज्ञानको अध्यापन सुरु भएको छ । अन्यत्रका माध्यमिक विद्यालयलाई डिजीटल विद्यालयको रुपमा विकास गर्दै लैजाने योजनाका साथ पालिका अघि बढेको उनको भनाई छ ।

‘यो अवधीमा हामीले ६ वटा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिसकेका छौं भने सबै वडाका कार्यालयहरु हाम्रो कार्यकालभरि सक्ने गरी काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यी बाहेक कृषि, पशु क्षेत्रमा पर्याप्त काम गरेका छौं ।’

उनले हालसम्म सबै नागरिकले काम गरेको देखेर सन्तुष्ट भएको महसुस गरेको बताए । ‘जनताका सबै अपेक्षा पुरा गर्न गाह्रो हुँदो रहेछ । यद्यपी पालिकामा आउने सीमित बजेटलाई सकेसम्म नागरिकको पक्षमा काम गरेर अधिकतम उपयोग गरेका छौं,’ उनी भन्छन्, ‘अब आगामी वाँकी कार्यकालमा भैरवी वासीलाई पहिलेको तुलनमा विकसित पालिका नासोको रुपमा छोडेर जान्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर