‘दशरथ चन्द’ र ‘गंगालाल’को गुञ्जन : झुण्डिएर हैन, गोली थापेर मर्नुपर्छ

काठमाडौं । कल्पनामा पनि भयानक लाग्छ, मृत्यू । यो भयानक मृत्यूलाई देशको खातिर जसले हाँसिहाँसी अँगाल्छ, उ शहीद कहलाउँछ । जस्तै, गंगालाल श्रेष्ठ र दशरथचन्द ठाकुर ।
यी दुई वीरले ८० वर्षअघि ‘राणाशासन मुर्दावाद’ को नारा लगाउँदै ज्यानको आहुति दिएका थिए । १९९७ साल माघ १५ गतेका दिन उनीहरू दुवैलाई बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानेर राणाहरूले ढालेको इतिहास देश र समाजका निम्ति सदैव प्रेरणादायी छ ।
त्यो गौरवपूर्ण इतिहासको एक झल्को आज प्रस्तुत गरे कलाकारहरुले । यो एउटा अभिनय थियो, तर अतितको वास्तविकताभन्दा धेरै फरक थिएन ।
‘यिनीहरूलाई भात त के पानी पनि पिउन नदिनू । उठेर हिँड्न पनि नदिनू । एक अर्कासँग बोल्न पनि नदिनू,’ कर्नेल नरशमशेरले आदेश दिएपछि शहीद गंगालाल र दशरथचन्दको आँखामा कालो पट्टी बाँधिन्छ । मृत्यु सामुन्नेमा देखिँदा पनि उनीहरूको आँखामा कुनै भय देखिन्न । उल्टै बहादुरीका साथ दुई भाइको आवाज चर्किन्छ, ‘मर्नुपर्छ । झुण्डिएर हैन, गोली थापेर मर्नुपर्छ ।’
उनीहरूलाई माफी मागेमा मृत्युबाट छुटकरा मिल्ने आश्वासन दिइन्छ । तर, उनीहरूको अडान हुन्छ– तानाशाहसँग माफी नमाग्ने । बरु मृत्युदण्ड हाँसेरै स्वीकार गर्ने । त्यसपछि अन्धाधुन्द गोलीका वर्षाले उनीहरूको इहलीला समाप्त हुन्छ ।
इतिहासको यो पीडादायी क्षणलाई नागरिक समाजको अभियानले आज बिम्बात्मक रुपमा प्रस्तुत गरेको हो ।
‘ढाल्नु छ सत्ता अब तानाशाही शासकको….,’ नाटकको प्रारम्भिक दृश्यमा गुञ्जिरहेको यो आवाजले अहिलेको सत्तासँग पनि असन्तुष्टि भाव व्यक्त भएको छ ।
च्यामिनीको बिम्बदेखि अभियन्ताका कुरा
‘मोहिनी ! लेऊ कुचो एक
सडक बढार,
‘मानव जिउँछ ! नाली जित्छ !
यत्ति प्रसार !’
महाकवी लक्ष्मी प्रसाद देवकोटाको कविता ‘एक सुन्दर च्यामिनी’ को याद आजको नागरिक समाजले प्रस्तुतिले दिलायो । राममाया च्यामिनी राणा शासनकालमा कुचो लगाउँथिन् । कवि सिद्धिचरणले श्रेष्ठले आफ्नो जेल संस्मरणमा च्यामिनीबारे लेखेका थिए– ‘एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई देख्दा हाम्रो निगरानीमा रहेका पाश्र्वदलका सिपाहीहरु र आठपहरियाहरु जिस्कन्थे । प्रत्युत्पन्नमति भएकी राममाया उनीहरुसित जिस्केर त्यही मौकामा हामीसित यताउतीका दुइ–चारवटा कुरा चुहाएर जान्थिन् । त्यति मात्र होइन, हामी विभिन्न साथीहरुको घरको खबर पनि ओसारपसार गर्थिन् । दुई–दुईजना राखिएका स्कूलघरका कोठाहरुबाट अर्को कोठामा रहेका साथीहरुका कुरा पनि उनी सुनाइदिन्थिन् । साँच्चै उनी आउँदा हामीलाई खुसीको अनुभव हुन्थ्यो । मुखले भन्ने पनि यी राणा शासकहरुले हामीलाई पक्रेर कडा कारवाही गरेको छ भन्ने उनी बुझ्थिन् । कडा निगरानीमा हामीहरुलाई बाहिरको र भित्रको खबर पुर्याउन उनी सिपालु थिइन् ।’
च्यामिनी कुचो समातेरै राणा शासनको विरुद्ध लागिन् । दरशथचन्द र गंगालालको खबर ल्याउने च्यामिनी थिइन् । नागरिक अभियन्ता सन्तोष परियारले शोभा भगवतीको प्रदर्शनमा च्यामिनीलाई सम्झँदै भने, ‘च्यामिनी, जसले कुचोले राणाशाहीको तानाशाही व्यवस्था पनि बढारेकी थिइन् ।’
च्यामिनीबारे नेपाल भाषामा कवि दुर्गालाल श्रेष्ठले लेखेको कविता आज शोभा भगवती परिसरमा गुन्जिएको थियो । श्रेष्ठले दशरथ चन्द र राममाया च्यामिनीबीचको संवाद कवितामा ढालेका थिए । उनको कविताको भाव यस्तो थियो–
तिम्रो आँसुले मेरो सहादतलाई फुलाउँछ
तिम्रो मायाले क्रान्तिको बाटोमा मुक्ति सुवास फैलाउँछ
च्यामिनी दलित महिला थिइन् । उनको प्रसंगलाई नागरिक समाजका अभियन्ताहरूले जोड्नुको तात्पर्य थियो– समाजमा कमजोर, अशक्त भनेर पेलिएका र शोषित बनाइएका समुदायका मानिसहरूले नै इतिहासका महत्वपूर्ण घटनाक्रममा योगदान दिएका छन् ।
नागरिक अभियन्ता कैलाश राईले च्यामिनीको प्रसंग जोड्दै भनिन्, ‘आन्दोलनका अग्रपंक्तिका व्यक्ति पुरुष नै हुने गर्थे । आन्दोलन शिथिल भएको बेला त्यसलाई अगाडि बढाउने, त्यतिबेला जंगली र स्वाँठे भनेर विश्लेषण गरिएका समुदायका मान्छेहरूले नै आन्दोलनलाई अगाडि बढाएको इतिहास हामीसँग छ । शोषित बनाइएका सम्पूर्ण समुदायका मानिसले प्रतिगमनको विरुद्ध विरोध नगरिकन यहाँसम्म जीवित भएर आफ्नो पुस्तालाई ल्याएको छैन ।’
आदिवासी, दलित, मधेशी, थारु, जनजाति लगायतका सीमान्कृतहरूलाई राज्यले सधैं पेलानमा पारेको उनको तर्क थियो । उनले भनिन्, ‘सास फेर्न हामीले ठूलो मूल्य चुक्ता गरेका छौं । हाम्रो इतिहासको पनि पुनःलेखन हुनुपर्छ ।
अभियन्ता सन्तोष परियारले इतिहास आफैंमा विभेदकारी भएको जिकिर गरे । देशको इतिहासमा जनजातिहरूको कथा लेखिएन, राममाया च्यामिनीको इतिहास लेखिएन । मधेशको इतिहास लेखिएन । काठमाडौं उपत्यकाको वरिपरी बस्ने तामाङहरूको इतिहास लेखिएन,’ उनले भने, ‘सत्तामात्र नभई इतिहास र भाषा प्रतिगमनकारी छ ।’
अर्का नागरिक अभियन्ता नरेश ताम्राकारले नागरिक आन्दोलनले जातीय विभेदविरुद्ध पनि लाग्नुपर्नेमा जोड दिए । ‘०९७ सालमा तीन जना नेवार भएका कारण मारिए । एक जना ठकुरी भएका कारण मारिए । त्यही अपराधमा केही मानिसलाई सुंगुरको पाठा बोकाएर अपराधलाई क्षम्य बनाइयो । राज्य त्यतिवेला जातिवादी थियो । त्यसविरुद्ध हामी निरन्तर लडिरहेका छौं,’ उनले भने ।
नागरिक अगुवा नारायण वाग्लेले भने अर्को घोषणा गरे, ‘फागुन ७ गते काँडेतार हटाएर भए पनि जनआन्दालनको उभार ल्याउँछौं ।’
‘पहिले पनि प्रतिगमनविरूद्ध टुँडिखेलमा नागरिक आन्दोलनको घोषणा भएको थियो, काँडेतार हटाएर त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ,’ वाग्लेले भने ।
युवा अभियन्ता हिमांशुले शहीदका दबाइएका सपनाहरू पूरा गर्न सडक उर्लिएको बताए ।
‘अब हामी संसद पुनःस्थापना भए पनि चुप भएर बस्दैनौं । प्रतिगमन सच्चिएछ अब घरमा सुत्छु भन्ने हैन । अग्रज नागरिक थाकेर घर बस्नु भयो भने उहाँहरूलाई घर बस्न दिने हो । तर, हामी यो ब्यानर खोसेर पनि यस्ता आन्दोलनका आँधीहुरी ल्याउनेछौं । हामी शहीदहरूको साँचो सपना पूरा नभइन्जेलसम्म निरन्तर सडकमा रहिरहन्छौं,’ हिमांशुले भने ।
गायक देवानको गीतदेखि डोटी कवितासम्म
नागरिक समाजले आज शहीदहरूलाई सम्झिएन मात्र, नयाँ पुस्तादेखि विविधता बोकेका नागरिकहरूलाई पनि एउटै मञ्चमा उभ्यायो । गायक प्रदीप देवानले जनवादी गीत गाए ‘खो छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा
गीत गाउँदा छेउमा बसिरहेकी एक महिलाले आँसु पुछ्दै ताली पिटिन् । यो दृश्यले सबैलाई भावुक बनायो । पत्रकार तथा लेखक अरुणदेव जोशीले डोटेली भाषाको कविता सुनाए–
ए मेरा बाबा ए मेरी इजा मारमा कहाँ हो
ब्यासको सेरो, लेकमको फेरो, दुहुँ कहाँ हो ।
भेडाका पिठ नुन ल्यौना सौका दादी कहाँ छ
काठको सरियो, रौउतका तौड काँ हुन्न अब त ।।
त्यसैगरी सुजन आङदेम्बेले लिम्बू गीत सुनाए । उर्मिला गम्बा थारुले थारु भाषाको कविता सुनाइन् ।