वान् एक्स बेटको जालमा कसरी परे बल्छी धुर्वे ? सरकार भन्छ– कारवाही गर्छौं – Nepal Press
सट्टेबाजी सिरिज–६

वान् एक्स बेटको जालमा कसरी परे बल्छी धुर्वे ? सरकार भन्छ– कारवाही गर्छौं

काठमाडौं । अवैध रूपमा हुन्डी र सट्टेबाजी धन्दा चलाइरहेको वान् एक्स बेट कम्पनीले नेपाली सेलेब्रिटी तथा प्रसिद्ध कन्टेन्ट क्रिएटरहरूलाई झुक्याएर यसको प्रोमोसन गर्न लगाइरहेको पाइएको छ ।

पछिल्लो समय युट्युबमा सक्रिय युवा लक्षित च्यानलहरूलाई विज्ञापनको माध्यम बनाइरहेको यो कम्पनी बिस्तारै ठूला कलाकारलाई पनि यसमा खिचिरहेको छ ।

सुरुआती समयमा जलान, मिङसेराप जस्ता युट्युबर र टिकटकरहरूबाट विज्ञापन गरिरहेको यो कम्पनीले अहिले मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)लाई पनि माध्यम बनाएको छ ।

आइतबार राति मात्रै मरिचमानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘हल्का रमाइलो’ हास्य टेलिश्रृंखलाको ६१औं भागमा यसको २० सेकेन्ड लामो विज्ञापन राखिएको छ । १० लाखभन्दा धेरै सब्सक्राइबर भएको त्यो च्यानलबाट अपलोड भएको यो विज्ञापनसहितको भिडियो ४ लाखभन्दा धेरै पटक हेरिसकिएको छ ।

तर, के मरिचमानलाई यो विज्ञापनको वैधानिकताबारे थाहा छ ? अहँ, छैन । ‘मलाई त यो अवैध कार्यको विज्ञापन भन्ने थाहै थिएन,’ मरिचमानले नेपाल प्रेससँग भने, ‘एउटा भाईले विज्ञापन छ दाई राम्रो पैसा दिन्छ भनेर ल्याएको थियो, मैले हालिदिएँ ।’

सेलेब्रिटी भनेका समाजका आदर्श व्यक्तित्व हुन् । उनीहरूका साना–साना कार्यको पनि समाजमा ठूलो प्रभाव हुन्छ । र, उनीहरूको वौद्यिक स्तर पनि माथिल्लो स्तरको हुन्छ ।

तर, सरकारको नाकमुनी अवैध हुन्डी र सट्टेबाजीको धन्दा चलाइरहेको वान् एक्स बेटले सेलेब्रिटीलाई नै सहज रूपमा गुमराह गरिरहेको पाइन्छ । यसबाट पनि बेरोजगार र न्युन वौद्यिक स्तर भएका नेपालीहरू यो अवैध कारोबारको कति हदसम्म शिकार भइरहेका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

गल्ती भएकै हो : निर्माण सल्लाहकार

आइतबार साँझ ‘बल्छी धुर्वे’को च्यानलबाट अपलोड भएको उक्त भिडियोका निर्माण सल्लाहकार सोम धितालले अवैध कार्यको विज्ञापन हुनु गलत भएको स्वीकार गरे ।

‘प्रोडक्सनको पक्ष मात्रै मेरो हो, ब्रोडकास्टिङ बल्छी (मरिचमान)ले नै आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट गर्छन्,’ उनले भने, ‘तर, त्यसो भनेर मैले पन्छिन खोजेको होइन । मेरो कम्पनी मिडिया हबको नाम नै त्यहाँ आइसकेपछि गल्ती हाम्रो हो, त्यसलाई स्वीकार्छौं ।’

पैसा पाएपछि केही नदेख्ने नेपाली

कुनै पनि नागरिक देशको कानुन र व्यवस्थाबारे जानकार हुनुपर्छ । तर, कानुनी र गैरकानुनी कार्यको लेखाजोखा गर्न सक्नु पर्छ । तर, वान् एक्स बेटको अवैध आम्दानीमा रम्न थालेका सेलेब्रिटी र कन्टेन्ट क्रिएटरहरूले कानुनको कोखमा लात हानेको देखिन्छ ।

नेपाल प्रेसमा वान् एक्स बेटेको अवैध हुन्डी र सट्टेबाजीको खुलासा भएपछि केही युट्युबरले प्रोमोसन हटाएका थिए भने कम्पनीले पनि आफ्नो वेबसाइटबाट पेमेन्ट प्लेटफर्महरू हटाएको छ । तर, त्यति हुँदा हुँदै पनि केही युट्युबरहरूले खुलेआम यसको प्रचार गर्न छोडेका छैनन् ।

‘नेप–ग्याजम’ नामक युट्युब च्यानलबाट जनवरी ७ मा अपलोड भएको ‘विवाहित पुरुष–२’ नामको भिडियोमा १ मिनेट ३ सेकेन्ड लामो विज्ञापन गरिएको छ । त्यो थाहा पाउने बित्तिकै त्यसै भिडियोको ‘डिस्क्रिस्पन’मा दिइएको ह्वाट्सएप नम्बरमा म्यासेज गरेर जानकारी दिँदा पनि नेप–ग्याजमले नदेखेझैँ गरेको छ ।

यो विषयसँग सम्बन्धित सबै समाचारहरू पठाइदिए पछि ‘महत्वपूर्ण सल्लाहका लागि धन्यवाद्’ भनेर प्रतिउत्तर आए पनि भिडियोबाट प्रोमोसन हटाइएको छैन । न त त्यसपछि म्यासेजको रिप्लाई नै आएको छ ।

त्यस्तै, मरिचमान श्रेष्ठले पनि आफूलाई राम्रो पैसा दिएकाले भिडियोमार्फत् विज्ञापन गरिदिएको स्वीकारे । ‘मलाई त खल्तीबाट पैसा एड्भान्समै दिएको थियो,’ उनले भने, ‘अवैध भन्ने थाहा भएको भए त यस्तो काम गर्दिन थिएँ ।’ यसबाट नेपालीले पैसा आउने भएपछि कानुनी-गैरकानुनीबारे पनि जानकारी लिनु आवश्यक नठानी त्यसैमा होमिने गरेको प्रष्ट पारेको छ ।

वान् एक्स बेटको नाटकीय प्रतिक्रिया

नेपाल प्रेसमा वान् एक्स बेटको अवैध धन्दाको खुलासा भएपछि वान् एक्स बेटले धेरैखाले प्रतिक्रिया जनायो । पेमेन्ट प्लेटफर्म हटाउने, युट्युबरले प्रोमोसन हटाउने तर अर्कातिर नयाँ-नयाँ च्यानलबाट यसको विज्ञापन गराउने ।

वान् एक्स बेटले सिस्टमबाट नेपाली पेमेन्ट प्लेटफर्म हटाएको छ । यसअघि डिपोजिट र विथ्ड्र गर्नका लागि खल्ती, आइएमई पे, एनआइसी एसिया बैङ्क र कनेक्ट आइपिएस लगायतका पेमेन्ट प्लेटफर्म उपलब्ध थिए । अहिले ती सेवा हटाएको छ । तर, एकातिर धन्दा बन्द गर्ने लक्षण दिइरहे पनि नयाँ–नयाँ माध्यमबाट गरिरहेको विज्ञापनले वान् एक्स बेटको नाटकीय प्रतिक्रिया देखिन्छ ।

छानबिन हुँदैछ, कारबाही हुन्छ : सञ्चार मन्त्रालय

सूचना तथा प्रशारण विभागबाट यस विषयमा अनुगमन भएको र प्राविधिक टीमले यसबारे कार्य गरिरहेको विज्ञापन बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता डिल्लिराम शर्माले बताएका छन् । समग्र विज्ञापन बजारको अनुगमन, नियमन तथा कार्यान्वयनका लागि गठित विज्ञापन बोर्डको प्राविधिक टोलीले यसबारे अनुगमन गरिरहेको उनले जानकारी दिए ।

‘हामीले सूचना निकालिसकेका छौं, कार्यान्वयनमा गइसकेको छ,’ उनले भने, ‘यसको सबैले कार्यान्वयन गर्नुपर्छ, कसैले कार्यान्वयन गर्दैनन् भने प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । यस विषयमा विज्ञापन बोर्ड, विभाग र मन्त्रालयमा पनि यस विषयमा छलफल भएको र अहिले अनुगमन भइरहेको उनले बताए ।

थाहा नपाएर गरेको भए पनि कानुनभन्दा बाहिर गरेर कसैले त्यस्तो कार्य गर्छ भने कारबाहीको भागिदार बन्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ ।

‘गल्ती गरेको छ भने कानुनमा छुट्हुँदैन,’ उनले भने, ‘कानुन के छ थाहा पाउनुपर्छ र कार्यान्वयनमा जानुपर्छ । थाहा नभएर छुट पाइँदैन ।’

याे पनि पढ्नुहाेस् 

सट्टेबाजी सिरिज–१ 

युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

सट्टेबाजी सिरिज–२

नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

सट्टेबाजी सिरिज-३

वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

सट्टेबाजी सिरिज-४

वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

सट्टेबाजी सिरिज-५

नेपाल प्रेस समाचार प्रभाव: वान एक्स बेटले हटायो पेमेन्ट प्लेटफर्म, युट्युबरले हटाए विज्ञापन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर