सामाजिक सञ्जालको विज्ञापनमा बढ्दो प्रतिस्पर्धा, कसरी गरिन्छ फेसबुकमा बुस्ट ? – Nepal Press

सामाजिक सञ्जालको विज्ञापनमा बढ्दो प्रतिस्पर्धा, कसरी गरिन्छ फेसबुकमा बुस्ट ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामहरुमा ‘स्पोन्सर्ड’ उल्लेख गरिएका पोस्टहरू थुप्रै देखिने गर्दछन् । फेसबुक र इन्स्टाग्राममा देखिने उक्त ‘स्पोन्सर्ड’ पोस्टहरू भनेका विज्ञान अर्थात् पैसा खर्च गरेर गरिएका पोस्टहरू हुन् ।

दिनहुँ यस्ता पोस्टहरू सामाजिक सञ्जालहरू चलाउँदा देख्न सकिन्छ । यस्तो पैसा तिरेर पोस्टहरू स्पोन्सर्ड गर्नुलाई बुस्ट अथवा प्रचार भनेर भन्ने गरिन्छ । कुनै पनि व्यक्तिले सामाजिक सञ्जालमा आफ्नो रिच बढाउन चाहेमा बुस्ट गर्नुपर्ने हुन्छ । अर्थात् कुनै पोस्ट अथवा सूचनालाई धेरै भन्दा धेरै मानिसहरूमा पुर्‍याउन तथा लाईक तथा भ्युज बढाउनका लागि यस्तो बुस्ट गरिन्छ ।

सामाजिक सञ्जालमा गरिने बुस्टहरु विभिन्न प्रकारका हुन्छन् । कुनै पोष्टमा स्पोन्सर्ड भनेर उल्लेख गरिएको हुन्छ भने कुनैमा सिधै ह्वाट्सएप नम्बर दिएर कल गर्ने अप्सन राखिएको हुन्छ । कुनैमा सिधै अनाउन्समेन्ट मात्रै गरिएको हुन्छ ।

स–साना स्टार्टअपदेखि ठुला कम्पनीहरूले सबैभन्दा बढी प्रयोग गर्ने भनेकै डिजिटल मार्केटिङ हो । डिजिटल मार्केटिङ गर्न नसक्ने अथवा स्रोत र साधनको कमी हुनेहरूले बुस्टमार्फत आफ्नो प्रवर्धन गर्ने गर्दछन् ।

फेसबुक र इन्स्टाग्राममा हजारौँ मानिसहरूले विज्ञापन गरेर आफ्नो प्रोडक्टको सेल गरिरहेका हुन्छन् । विज्ञापन पनि विभिन्न प्रकारका हुने गर्दछन् । सामान्यतया कन्टेन्ट बनाएर अपलोड गर्न एक खाले विज्ञापन हुन्छ । भने, अर्को सिधै सामाजिक सञ्जालमा पैसा खर्च गरेर गरिने विज्ञापन ।

फेसबुकमा मात्रै एकै दिनमा ३ हजार रुपैयाँसम्मको बुस्ट अर्थात् स्पोन्सर्ड विज्ञापन चलाउँदै आएको सिद्धार्थ एजुकेशनल सेन्टका सञ्चालक नरेन्द्र शाही बत्ताउँछन् ।

फेसबुकमार्फत गरिने विज्ञानको प्रभावकारिता बढी भएर यस्तो बुस्टमा पैसा खर्च गर्ने शाहीको भनाइ छ ।

शाही भन्छन्, ‘हामी फेसबुकमा दिनहुँ विज्ञापन गर्छौं । लोकसेवा आयोगले लिने सबै तहका परीक्षाको अनलाइन कक्षाका लागि प्रत्येक दिन २ देखि ३ हजार रुपैयाँसम्म फेसबुकमा खर्च गर्छौं । अहिलेको समयमा फेसबुकै बढी मानिसहरूको पहुँच रहेको छ । त्यसैले यतातिर बुस्ट नगरेर केही हुँदैन । फेसबुकबाट गरिने विज्ञापनको प्रभावकारिता बढी छ ।’

गत तिन महिनाको तथ्याङ्क हेर्ने हो भने अप्रिलदेखि जुलाई महिनासम्ममा मात्रै नेपालबाट ५ हजार ५१४ अमेरिकन डलर अर्थात् ७ लाख ३५ हजारको विज्ञापन गरिएको छ । एक महिनामा मात्रै ८५ हजार बढीको विज्ञापन गरिएको मेटा लाइब्रेरीको रिपोर्टले देखाउँछ । यस रिपोर्टमा नेपालको अकाउन्टबाट गरिएको विज्ञापनको खर्च मात्रै देखाइएको हो । अर्थात् विदेशी एकाउन्टको प्रयोग गरेर नेपालमा विज्ञापन गरिएको तथ्याङ्क समेटिएको छैन ।

नेपालमा डलर कार्ड बनाएर फेसबुक तथा इन्स्टाग्रामबाट विज्ञापनहरू चलाइदिने थुप्रै कम्पनीहरू रहेका छन् । यस्ता कम्पनीहरूले नेपाली पैसा लिएर बुस्टहरु गरिदिने गर्छन् । तर, प्रयोगकर्ता आफैले पनि डलर कार्ड बनाएर बुस्ट गर्न सक्छन् ।

नेपालको डलर कार्डको लिमिट सीमित भएकोले अधिकांश प्रयोगकर्ता तथा बुस्ट गरिदिने मानिसहरूले विदेशको अकाउन्ट प्रयोग गर्ने गर्दछन् । त्यसैमा अहिले अधिकांश नेपालीहरू विदेश भएकोले नेपालको अकाउन्टका साथै विदेशका विभिन्न अकाउन्टहरू प्रयोग गरेर मेटा कम्पनीले दिएको लिमिटभन्दा बढीको बुस्ट गरिरहेका हुन्छन् ।

कसरी गरिन्छ सामाजिक सञ्जालमा शुल्क तिरेर बुस्ट ?

फेसबुकमा पेज पोस्ट इन्गेजमेन्ट, वेबसाइट प्रमोसन, इभेन्ट प्रमोसन, पेज लाइक, लिड जेनेरेसन, मेसेज, स्टोर भिजिट, एप प्रमोसन गरी आठ वटा क्याटोगरिमा बुस्टहरु गरिने गरिन्छ । फेसबुक र इन्स्टाग्राम कम्पनी मेटाले शुल्क तिरेर बुस्ट अर्थात् प्रचार गर्ने गरेको छ । यस्तो बुस्ट गरिदिने विभिन्न कम्पनीहरू रहेका छन् । आफैले पनि एड अकाउन्ट बनाएर सजिलै बुस्ट गर्न सकिन्छ ।

दिनहुँ सामाजिक सञ्जालमा विज्ञापन गर्नुपर्ने र पेमेन्टका लागि अलिक गाह्रो मानेर मानिसहरूले बुस्ट गरिदिने कम्पनीहरूबाट आफ्नो व्यवसाय अथवा प्रोडक्टको प्रमोसन गर्ने गर्दछन् ।

फेसबुक तथा इन्स्टाग्रामबाट विज्ञापनहरू चलाउँदा एक दिनमा एक ‘एड अकाउन्ट’ बाट अधिकतम ५० डलर सम्मको मात्रै चलाउन मिल्ने हुन्छ । सामाजिक सञ्जालमा बुस्ट गर्नका लागि ‘एड अकाउन्ट’ र ‘डलर कार्ड’ बनाउनुपर्ने हुन्छ ।

सुरुमा एड अकाउन्ट बनाउँदा फेसबुक कम्पनी मेटाले २५ डलर सम्मको थ्रेसहोल्ड दिने गर्दछ । मेटाले एड अकाउन्टबाट सुरुमा २५ डलर सम्मको विज्ञापन चलाइदिन्छ । २५ डलर सम्मको विज्ञापन रन गरेपछि । डलर कार्डबाट पैसा काट्ने गर्दछ । दुई डलरको थ्रेसहोल्डलाई मेटाले बढाइदिन्छ ।

एड अकाउन्टबाट निरन्तर विज्ञापन भइरहेमा मेटाले २५० डलरसम्म थ्रेसहोल्ड बढाइदिने उल्लेख गरेको छ । सामान्यतया एक दिनमा अर्थात् ५० डलर खर्च गर्न सक्ने भने तापनि ५०० डलरसम्म खर्च गर्न सकिने मेटाले उल्लेख गरेको छ । जसका लागि पुरानो विज्ञापनको कारोबार हेरेर मात्रै दिने गर्दछ ।

मेटाबाट विज्ञापन गर्नका लागि सबैभन्दा पहिला फेसबुक अकाउन्टबाट फेसबुक पेज बनाउनुपर्ने हुन्छ । जसबाट विज्ञापनहरू गर्न सकिन्छ ।

फेसबुक पेज बनाइसकेपछि फेसबुक बिजनेस म्यानेजरमा गएर व्यवसायको प्रकार, नाम र इमेल भरेर सब मिट गर्नुपर्ने हुन्छ । त्यसपछि फेसबुक पेज र बिजनेस म्यानेजरलाई जोड्नुपर्ने हुन्छ ।

जसमा लागि बिजनेस सेटिङ्समा गएर ‘पेजस’ मा क्लिक गरेर ‘एड’ सेक्सनबाट ‘एड पेज’ लाई छनोट गर्नुपर्ने हुन्छ । ‘एड पेज’मा पेजको नाम अथवा युआरएल राखेर सेट अप गर्नुपर्ने हुन्छ । अथवा मेटा को वेबसाइटमा गएर पनि ‘बिजनेस म्यानेजर सेट अप’ गर्ने विधि हेर्न सकिन्छ ।

बिजनेस म्यानेजर सेट अप भइसकेपछि ‘एड अकाउन्ट’ बनाउनुपर्ने हुन्छ । जसमा लागि ‘बिजनेस सेटिङ्स’मा गएर ‘एड अकाउन्ट’ मा जानुपर्ने हुन्छ । त्यस्तै, एड सेक्सनबाट ‘क्रियट न्यु एड अकाउन्ट’मा जानुपर्छ । यहाँबाट एड अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

माथि उल्लेखित एड अकाउन्टपछि बुस्टका गर्नका लागि अकाउन्ट तयार हुन्छ । सिधै आफूले चाहेको पोस्ट अथवा पेज तथा भिडियोलाई पोस्ट गरेपछि छेवैमै बुस्टको अप्सन देखाइएको हुन्छ । त्यहाँबाट आफैंले बुस्ट गर्न सकिन्छ । पेमेन्ट गर्दा डलर कार्ड भए सजिलो हुन्छ । डलर कार्डबाट सिधै आवश्यक कुराहरू भरेर पेमेन्ट गर्न सकिन्छ । डलर कार्डका लागि बैंकमा निवेदन दिएर अथवा अनलाइनबाट अप्लाइ गरेर ‘डलर कार्ड’ बनाउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर