‘अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ’ – Nepal Press

‘अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ’

काठमाडौं । स्थानीय तहको निर्वाचन भएको पनि तीन वर्ष बितिसकेको छ । ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले चुनाव अघि जनतालाई आश्वासनका पोका र दलका घोषणापत्र बोकेर आए । तिनै घोषणापत्र देखाएर जनतासँग भोट मागे र जनप्रतिनिधि बने ।

अहिले कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे ।

गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने टरेको छैन । सिन्धुपाल्चोक देशको राजधानीबाट नजिक भए पनि हिमाली भेगका स्थानीयहरू स्वास्थ्य र शिक्षाबाट अझै बञ्चित नै छन् ।

तर, तीन वर्ष अघिको र अहिलेको हेलम्बुको स्वरुप भने धेरै परिवर्तन भइसकेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हेलम्बुलाई अझ देश–विदेशमा चिनाउन झनै लागिपरेका छन् हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा र स्वास्थ्यबाट बञ्चित गाउँपालिकामा विशेष जोड गरेर शिक्षा, स्वास्थ्य सडक पु¥याउन दत्तचित भएर लागिपरेका छन् । अध्यक्ष शेर्पा भन्छन्, ‘अबको केही वर्षमा पर्यटनबाट आम्दानी गरेर देशकै धनी गाउँपालिका बन्नेछौं । यहाँका सर्वसाधारणलाई स्वरोजगार बनाएर छुट्टै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं ।’

उनी निर्वाचित भएर आइसकेपछि गाउँगाउँ सिंहदरबारको अनुभूति गर्न थालेका छन् । अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफूले चुुनावअघि जनतामाझ गरेको घोषणापत्र लागू गर्न दिनरात खटिरहेका छन् । उनी बिहानदेखि बेलुकासम्मै सर्वसाधारणको घरआँगनमा पुगिरहेका हुन्छन् । हेलम्बु गाउँपालिकाका मेयर निमा ग्याल्जेन शेर्पासँग गरिएको छोटो कुराकानीः

तीन वर्षको कार्यकाल कस्तो रह्यो ?

अहिलेसम्म त सन्तोषजनक नै रह्यो । अहिले हामीले सन्तोष मान्ने नमान्ने भन्दा पनि हामीले गरिरहेका कामहरू ठीक छन् कि छैनन् भनेर नाप्ने हो । तर त्यस्तो नाप्ने यन्त्र त छैन । जनता हाम्रो कामदेखि खुशी छन् कि छैनन् भनेर भन्ने हो । अहिलेसम्म हेर्दा गाउँपालिकाले गरेको कामप्रति खुशी नै छन् । त्यसअनुसार हामीले राम्रै काम गर्‍यौं होला भन्ने महसूस हुन्छ ।

अहिले तपाईंहरूको अग्रसरतामा गाउँपालिकाभित्र के–कस्ता कामहरू हुँदैछन् ?

हामीले गाउँपालिकामा जुन परिस्थिति आउँछ सोही अनुसार काम गरिराखेका छौं । कोभिडको बेला गाउँगाउँमा पुगेर गर्भवतीदेखि दीर्घरोगीहरूलाई निःशुल्क औषधि वितरण गर्‍यौं । र अहिले पनि निरन्तरता दिइराखेका छौं । शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा विशेष पहल गरिराखेका छौं । कतिपय पूरा पनि भएका छन् भने कति हुने क्रममा छन् ।

तपाईंको गाउँपालिकामा जनताले अझै पनि स्वास्थ्य सेवा र शिक्षा सहज रूपमा पाइराखेका छैनन् नि ?

होइन, हामी निर्वाचित भएर आउँदा हाम्रो नगरपालिकामा एउटा मात्र बर्थिङ सेन्टर थियो । राष्ट्रिय तथ्याङ्क विभागले गाउँपालिकामा ४०० महिलाको डेलिभरी हुन्छ भनेको थियो । हामी आउँदा जम्मा पाँच जनाले मात्रै बर्थिङ सेन्टरको सेवा लिएका थिए ।

त्यसपछि हामीले के सोच्यौं भने, सुत्केरी हुनको लागि आधा काठमाडौं गयो होला भनेर सोचेका थियौं । तर, २०० भन्दा बढी महिलाको होम डेलिभरी हुनेरहेछ । त्यसपछि त्यही सालदेखि सुत्केरी महिलालाई गाउँपालिकाको एम्बुलेन्सबाट बर्थिङ सेन्टरसम्म ल्याउने काम ग¥यौं । त्यसपछि डेलिभरी भइसकेपछि घरसम्म पुर्‍याइदिने काम पनि गाउँपालिकाको एम्बुलेन्सले नै गर्छ, त्यो पनि निःशुल्क ।

त्यति मात्र होइन बर्थिङ सेन्टरमा डेलिभरी हुन नसकेका गर्भवतीलाई काठमाडौंमा लैजाने र काठमाडौंबाट घरसम्म ल्याउन पनि निःशुल्क एम्बुलेन्स उपलब्ध गराइराखेका छौं ।

अर्को समस्या के भयो भने विकट गाउँमा डेलिभरी भएको महिला र शिशुलाई जाँच गराउन तीन दिनमा अस्पताल ल्याउनुपर्ने बाध्यता रहेछ । अप्ठ्यारो बाटोमा बच्चा र सुत्केरीलाई ल्याउँदा झनै समस्या हुने देखिएपछि बरु स्वास्थ्यकर्मीलाई नै सुत्केरीको घरसम्म पुगेर उपचार दिने व्यवस्था गरिदिएकोे छ ।

गत साल सोही बर्थिङ सेन्टरमा ७४ जनाले सेवा लिनुभयो । त्यसपछि अर्को ठाउँमा पनि बर्थिङ सेन्टर बनायौं । यो साल १४७ जनाले बर्थिङ सेन्टरबाट सेवा लिए । नेपाल सरकारले सुत्केरी भएकोलाई तीन हजार दिंदै आएको थियो भने त्यसमा हामीले तीन हजार थपेर ६ हजार दिन थालेका छौं । हामीले स्वास्थ्य क्षेत्रमा विस्तारै परिवर्तन गरिराखेका छौं ।

हेलम्बुमा अझै पनि बाहिर पढ्न जाने बाध्यता टरेको छैन नि ?

शिक्षाको क्षेत्रमा केही न केही परिवर्तन गर्नुपर्छ भनेर गाउँपालिका शुरुआतदेखि नै लागिपरेको छ । हामी आउने वित्तिकै प्रत्येक स्कूलमा इलेक्ट्रोनिक हाजिरीको व्यवस्थादेखि तालिमको साथै बाल विकासमा पढाउने शिक्षिकाहरूलाई सरकारले दिएको रकमबाट थपेर १० हजार पुर्याइदिएको छ ।

धेरै जसो शिक्षकहरू अस्थायी छन् । अस्थायी शिक्षकहरूले जागिर छोडेपछि केही सुविधा नआउने भएपछि गाउँपालिकाले नै अस्थायी शिक्षकको लागि केही रकम थपेर राखिदिने गरेका छौं । साथै गाउँपालिकामा १० वटा मावि छन् । तर आधामा त शिक्षक नै छैनन् ।

त्यति मात्र होइन विद्यार्थीलाई स्कूल जान–आउन चार घण्टा लाग्छ । त्यो ठाउँमा नयाँ स्कूल खोले पढ्न को आउँछ ? मावि तहमा शिक्षक नहुने भएपछि अर्को स्कूल खोलेर अर्थ छैन ।

नेपालमा सामुदायिक विद्यालयले केही न केही गरेन भने अबको १५ वर्षमा बन्द हुने अवस्था छ । अहिले चाहिं सरकारी स्कूल भनेको गरीबको बच्चाले पढ्ने भनेर भनिराखेको छ ।

सार्वजनिक विद्यालयलाई जोगाउन अब केही गर्नुपर्छ भनेर नमूना विद्यालय खोल्न थालेका छौं । ८ कक्षा भन्दा माथिको विद्यार्थीलाई एकै ठाउँमा होस्टल बनाएर त्यहीं राखेर पठनपाठन गर्ने तयारी गरिराखेका छौं । जहाँ माविको शिक्षक पनि हुने र विद्यार्थी पनि यहीं पढ्न पाउँछन् ।

अहिले तपाईको गाउँपालिकामा मुख्य समस्या के छ ?

हाम्रो गाउँपालिकामा मात्र होइन नेपालमा दुई खालको समस्याले मान्छेलाई दीर्घरोगी बनाउने काम भइराखेको छ । कुनै घरका तीन वटा छोराछोरी राम्रो पढ्ने छन् । तीनै जनाले डाक्टर पढ्छु भने मैले कहाँबाट पैसा ल्याएर पढाउने भनेर प्रत्येक आमाबुबालाई नराम्रो पढ्छ कि भनेर चिन्ता हुनुपर्नेमा राम्रो पढ्छ कि भनेर चिन्ता हुन्छ ।

अर्को तत्काल बिरामी भयो, १० लाख तिर्नुपर्ने वा एक करोड खर्च गर्नुपर्ने परिस्थिति आयो भने कहाँबाट पैसा ल्याएर स्वास्थ्यको उपचार गर्ने भन्ने चिन्ता आम मानिसमा छ । यी दुईवटा चीजले हरेक नेपालीलाई दीर्घरोगी बनाइराखेको छ ।

हामीले त्यो दुई चीजमा राज्यले जिम्मा लिनुपर्छ भनेर भनिराखेका छौं । त्यसका लागि हामीले शुरुआत गर्नुपर्छ भनेर अहिले स्वास्थ्य कोष खडा गरेर प्रत्येक व्यक्तिले २०० जम्मा गर्नुपर्ने बनाएका छौं । त्यही कोषमा गाउँपालिकाले प्रत्येक वर्ष १० लाख रकम थपिदिन्छौं । कोही बिरामी भए त्यहींबाट खर्च गर्ने व्यवस्था गरेका छौं । भोलि यहाँको जनताले मैले तिरेको कर कहाँ गयो भन्दा देखाउन पनि सकियो नि !

चुनावको बेला गर्नुभएको घोषणापत्रको कुरा कति पूरा गर्नुभयो ?

मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि हेलम्बु गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँछौं भनेका थियौं । मुख्य सडकहरूमा बाहै्र महीना गाडी चलाउँछु भनेको थिएँ ।

अहिलेसम्म पनि ६ महीना नि गाडी चल्दैनन् नि ?

मैले पाँच वर्षभित्र मुख्य सडकहरू बर्खामा चलाउँछु भनेको हो । तर अहिलेसम्म सकिसक्थ्यो ।

प्रत्येक सडक शुरुदेखि बनाउनुपर्नेछ किनकि एउटा मात्रै गाडी छिर्ने बाटो थियो । पूरै सडक विस्तार गर्नुपर्ने भएकाले अलि ढिला भयो ।
अहिले नै पनि धेरै ठाउँमा बर्खामा पनि गाडी चल्ने भइसकेको छ । हामी चुनावताका बोलेको कुराहरू पूरा गर्ने तयारीमा छौं । अस्पताल बन्ने क्रममा छ । अहिले सबै संरचनाहरू बन्दैछन् । अन्तिम चरणमा छन् । हेलम्बुमा अर्को के छ भने अर्को साल पर्यटन क्षेत्रबाट फस्टाएर सबैभन्दा धनी जनता कहाँको छ ? भन्यो भने ‘हेलम्बु’ भन्ने दिशामा हेलम्बुलाई लैजानुपर्छ भन्ने हिसाबले अगाडि बढेका छौं ।

काम गर्दै जाँदा कत्तिको अप्ठ्याराहरू आइपरेका छन् ?

चुनौती र अवसर सँगसँगै आउँछ । जति बढी चुनौती आयो त्यति नै अवसर आउँछ ।  म प्रत्येक आयोजनाहरूमा आफैं पुगिरहेको हुन्छु । आँखाले हेर्नैपर्ने र चित्त बुझेन भने त्यहीं आपत्ति जनाउँछु । त्यसमा सबै जनताको साथ र सहयोग छ ।

हेलम्बुलाई यो ठाउँमा पु¥याउन सबै जनताले साथ–सहयोग नगरेको भए यहाँ पुग्ने थिएन । हेलम्बुलाई एकजुट बनाउन हरेक क्षेत्रबाट सहयोग पुगेको छ ।

आगामी चुनावमा जनताले फेरि चुन्ने गरी काम गर्नुभएको छ ?

जनताले मेरो काम मन पराइराख्नुभएको होला भन्ने लाग्छ । मलाई विश्वास छ, यो चुनाव पछाडि जो आए पनि हेलम्बुको समृद्धि अझ बढ्ने आशा गर्छु । र, नमूना गाउँपालिका हुन्छ भनेर विश्वास लिएको छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर