धनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिने तीन व्यक्तिमाथि अभद्र व्यवहार मुद्दा दर्ता – Nepal Press

धनुषामा प्रहरीमाथि आक्रमण र मार्ने धम्की दिने तीन व्यक्तिमाथि अभद्र व्यवहार मुद्दा दर्ता

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका- ८ बिसरभोराका केही व्यक्तिले प्रहरीलाई नै मार्ने धम्की दिएको घटना सार्वजनिक भएको छ ।

प्रहरीमाथि आक्रमण गर्नुका साथै मार्ने धम्की दिएका तीन युवकमाथि इलाका प्रहरी कार्यालय यदुकोहाले मुद्दा दर्ता गरेको छ । बिसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिता, पप्पु भन्ने उदनकुमार यादव र अमरपति रोहितामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको कार्यालयका इन्स्पेक्टर चन्द्रकिशोर शाहले जानकारी दिए ।

जग्गा विषयमा आफन्तसँगै विवाद भएपछि विसरभोराका भुल्ला भन्ने शैलेन्द्र रोहिताले सार्वजनिक सडक अवरुद्ध पारेका थिए ।

इन्स्पेक्टर शाहले भने, ‘सडक खुलाउन इलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली त्यहाँ पठाएका थियौं । सो क्रममा भुल्लासहित तीनै जनाले प्रहरीमाथि आक्रमण गरे । प्रहरी जवानलाई ड्युटीमा आए मारिदिने धम्कीसमेत दिए । स्थानीय भद्रभलादमीले छलफल र नापजाँच गरेर विवाद मिलाइसकेका थिए । भुल्ला र उनकै काका नातामा पर्ने विनोद रोहिताबीच जग्गाको विवाद थियो । तर, पप्पु नामका व्यक्तिले भुल्लालाई उस्काएर प्रहरीमाथि आक्रमण गर्न लगायो । महिलालाई समेत प्रयोग गरी प्रहरीमाथि ढुंगामुढा गर्न लगाए ।’

पप्पु र भुल्ला आपराधिक चरित्रका व्यक्ति भएको प्रहरीको दाबी छ । भुल्लाका बुवा प्रदीप रोहिता जनतान्त्रिकमा लागेर भूमिगत आन्दोलन गर्दा प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनका छोरा पप्पु पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको नोटिसमा रहेको इन्स्पेक्टर शाहले बताए ।

मुद्दा दर्ता भएपछि प्रहरीलाई बदनाम गर्न भुल्लाले चोरीको नाटक रचेका थिए । इन्स्पेक्टर शाहले भने, ‘चोरी भएकै छैन् । तर, भुल्लाका परिवारका सदस्यले घरमा चोरी भयो भनेर झूटो हल्ला चलायो ।’

प्रहरीलाई राति बोलाएर फसाउनेसम्मको षड्यन्त्र गरेको उनको भनाइ छ ।

स्थानीय वडाध्यक्ष तनुकलाल कुसियैतले पनि केही व्यक्तिले समाजलाई आतंकित बनाउन खोजेको बताए । उनले नेपालप्रेससँग भने, ‘जग्गाको सामान्य विवाद थियो । विवाद समाधान भयो । दुबै पक्ष सहमत भए । जग्गामा सिमाना पनि गाडिसक्यौं । तर, अन्तिममा प्रहरीमाथि नै एक पक्षले आक्रमण ग¥यो ।’

जग्गाकै विषयलाई लिएर उनीहरु विनोद रोहिता र उनकी श्रीमती अम्बिकालाई समेत पटक पटक धम्काउने गरेका छन् । विनोद भन्छन्, ‘जग्गाको विवाद मेरो आफ्नै भतिजा भुल्लासँग भयो । तर पप्पु नामका व्यक्तिले प्रहरीमाथि आक्रमण गर्न लगाए ।’

प्रहरीले मुद्दा दर्ता गरेर खोजी गरिरहेका कारण उनीहरुले आफूलाई समेत धाकधम्की दिने गरेको विनोद बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *