बझाङमा १२ जनाको उम्मेदवारी दर्ता, सत्ता गठबन्धनका दलहरू नै प्रतिस्पर्धामा – Nepal Press

बझाङमा १२ जनाको उम्मेदवारी दर्ता, सत्ता गठबन्धनका दलहरू नै प्रतिस्पर्धामा

कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नै बझाङमा एक-अर्काविरुद्ध निर्वाचनमा होमिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा र नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट निर्वाचन लड्दै गरेका भण्डारी बझाङ अध्यक्ष हुन् भने नेकपा एकीकृत समाजवादीका सिंह जिल्ला इन्चार्ज हुन् । माओवादीका बुढा प्रदेश सचिव हुन् ।

सत्ता गठबन्धनभित्रैका तीनसहित आज १२ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ । उपनिर्वाचनअन्तर्गत वैशाख १५ गते मतदान हुनेछ ।

निर्वाचनमा मुख्य भिडन्त प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने देखिन्छ । २०५६ को आमनिर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार व्यहोरेको एमालेले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।

२०४८ को आमनिर्वाचनमा बझाङमा २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ-१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।

२०५६ को आमनिर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ- १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम प्रतिस्पर्धीमा कांग्रेस छ ।
२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ पछि एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र तोकियो । त्यसपछि २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेशसभा- १ मा एमाले र २ मा माओवादी केन्द्रले जित्यो ।

एमाले-माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएको कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सीटमा हार व्यहोर्‍यो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभामा एमाले नील भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर