एनआरएनए युएईले दुबईमा कन्सुलेट खोल्न माग गर्दै परराष्ट्रमा ज्ञापन र प्रधानमन्त्रीलाई स्मरण पत्र बुझायो – Nepal Press

एनआरएनए युएईले दुबईमा कन्सुलेट खोल्न माग गर्दै परराष्ट्रमा ज्ञापन र प्रधानमन्त्रीलाई स्मरण पत्र बुझायो

युएई । दुबईमा नेपाली दुतावासको कन्सुलर सेवा विस्तार गर्न माग गर्दै एनआरएनए युएईले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

दुबईमा अत्यधिक नेपाली रहेकाले त्यहा दुतावासको कन्सुलर सेवा अनिवार्य भएको भन्दै एनआरएनए युएईका प्रतिनिधिले शुक्रबार परराष्ट्र मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन एनआरएनए युएईबाट महासचिव भुवन कुमार वाग्लेको नेत्रित्वमा सचिव अरुण अधिकारी र प्रवक्ता सुनिल खड्का काठमाडौं गएर मन्त्री श्रेष्ठलाई भेटी ज्ञापनपत्र बुझाएको अध्यक्ष बिकास शाहीले जानकारी दिए ।

दुबईमा कन्सुलेट स्थापनाका लागि युएईमा बस्ने धेरैको माग छ, नेपालबाट आउने हरेक सरकारी प्रतिनिधिलाई भेटेर युएईका संघसस्थाले अनुरोध गर्दै आएको भएपनि यस पटक डेलिगेट्सकै रुपमा प्रतिनिधिलाई नेपाल पठाएर ज्ञापनपत्र बुझाइएको शाहीको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री श्रेष्ठले निकट भविष्यमा दुबईमा कन्सुलर सेवा सुरु गर्न आफू सकारात्मक भएको र त्यसबारे छिट्टै नतिजा आउने बताएको एनआरएनए युएईले जनाएको छ ।

त्यस्तै ज्ञापनपत्रमा युएईमा निकट भविष्यमा सेफ सोसाइटीसँग मिलेर गर्न लागेको ‘नेपाली फुड फेस्टिभल’ सम्बन्धमा परराष्ट्र, पर्यटन मन्त्रालय र नेपाली दुतावास समेतको सहयोगका लागि अनुरोध गरिएको छ ।

प्रधानमन्त्रीलाई स्मरण पत्र

एनआरएनए युएईको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार भेटेर दुबईमा कन्सुलेट स्थापनाका लागि स्मरण पत्र समेत बुझाएको छ ।

एनआरएनएले गत डिसेम्बरमा दुबईमा भएको कोअप सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुबईमा कन्सुलर सेवाका लागि कन्सुलेट स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

सो बेला ज्ञापनपत्र ग्रहण गर्दै कन्सुलेट स्थापना गर्न सकरात्मक भएको भन्दै आफू नेपाल फर्केर निर्णय गर्ने प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले गरेका थिए । यद्यपी झन्डै ५ महिनासम्म कुनै निर्णय नहुँदा एनआरएन युएईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पहिलेको विषय स्मरण गराउँदै स्मरण पत्र बुझाएको एनआरएनए युएईका महासचिव वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर