रामहरी श्रेष्ठ हत्या प्रकरण : कालीबहादुर विरुद्धको मुद्दा हेर्दाहेदैमा – Nepal Press

रामहरी श्रेष्ठ हत्या प्रकरण : कालीबहादुर विरुद्धको मुद्दा हेर्दाहेदैमा

चितवन । कोटेश्वरको व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको अभियोगमा फरार रही १५ वर्षपछि मंगलबार पक्राउ परेका कालीबहादुर खामविरुद्धको बहस आज हेर्दाहेर्दैमा गएको छ ।

मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ परेका खामलाई हिजो बिहानै प्रहरीले चितवन जिल्ला अदालत हाजिर गराएपनि काठमाडौँबाट मिसिल नआइपुगेकोले आज मात्रै खामको बयान भएको थियो ।

हिजो साँझ सर्वोच्च अदालतबाट मुद्दाको मिसिल आइपुगेपछि आज बिहान खामको बयान भएर दिउँसोबाट बहस सुरु भएको थियो । तर, आज वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जना मात्रै अधिवक्ताले बहस गर्न भ्याएका छन् ।

वादीका तर्फबाट जिल्ला सरकारी न्यायाधिवक्ता शान्तीप्रसाद लुईँटेल, सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गरेका थिए भने जाहेरवाला रमिला श्रेष्ठको तर्फबाट अधिवक्ता पुष्प पौडेलले बहस गरे ।

प्रतिवादी खामका तर्फबाट भने ८ जनाजतिले वकालतनामा लिए पनि दुई जनाले मात्रै आज बहस गर्न भ्याए । जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार आज प्रतिवादीका तर्फबाट अधिवक्ता गोपीलाल देवकोटा र विजय हमालले बहस गरेका हुन् ।

आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार आचार्यले नेपाल प्रेसलाई जानकारी दिए । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको बेञ्चमा मुद्दाको बहस हिजैदेखि भएको हो । भोलि पनि बहस पछि थुनछेक आदेश हुने आचार्यले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर