एमाले सिन्धुपाल्चोकको अधिवेशन मिति तय, अध्यक्षमा दुईजना आकांक्षी – Nepal Press

एमाले सिन्धुपाल्चोकको अधिवेशन मिति तय, अध्यक्षमा दुईजना आकांक्षी

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १०औं अधिवेशन मिति चैत १६-१८ मा हुने भएको छ । चौतारामा सञ्चालन गरिने अधिवेशनको मूल नारा ‘विचारमा स्पष्टता-विधिको संगठन ! जुझारु कार्यकर्ता-समृद्धिको अभियान’ तय गरिएको छ ।

हालैको जिल्ला कमिटी बैठकले अधिवेशनका लागि अध्यक्ष कमल नेपालको संयोजकत्वमा ४ सय ४९ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीबाट गराइने नेपालले बताए ।

अधिवेशनका लागि प्रतिनिधि व्यवस्थापना, प्रचार प्रसारलगायत कूल १४ उपसमिति छन् । प्रतिनिधि छनोट गर्दा १० जना संगठित सदस्य बराबर एकजना छनोट हुने व्यवस्था गरिएको छ । जिल्ला अधिवेशनमा ७ सय बढी प्रतिनिधि सहभागी हुने छन् । १२ पालिकामा चैत १० गते प्रतिनिधि छनोट गरिने र त्यसका लागि मुख्य निर्वाचत अधिकृत र सहायक निर्वाचन अधिकृत चयन गरिसकिएको छ ।

सिन्धुपाल्चोक एमालेको नयाँ नेतृत्वका लागि दुईजना मुख्य आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष कमल नेपाल र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठ प्रमुख दाबेदारमा देखिएका छन् । नेपाललाई एमाले पोलिटब्युरो सदस्य अरुण नेपालको साथ छ । श्रेष्ठलाई केन्द्रीय सदस्य शरेस नेपालको समर्थन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर