सरकारी अस्पतालको मूल्यांकनमा लुम्बिनी प्रादेशिक नेपाल प्रथम – Nepal Press

सरकारी अस्पतालको मूल्यांकनमा लुम्बिनी प्रादेशिक नेपाल प्रथम

रुपन्देही । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपाल प्रथम भएको छ । अस्पताल ८८ अंकसहित पहिलो भएको हो ।

सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो पटक लुम्बिनी प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ ।

अघिल्लो वर्ष ८० अङ्क पाइ पहिलो भएकोमा यस वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नतिजाले प्रोत्साहन बढाएको मेसु थापाको भनाइ छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षणपश्चात मंगलबार र बुधबार दुई दिन बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्यूट काठमाडौं रहेको थियो ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पश्चिमसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पालगायतका जिल्लाबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्छन् । लुम्बिनी प्रादेशिक अस्पतालको हालै बेलायती मन्त्रीले अवलोकन गरी सेवा प्रवाहबारे जानकारी लिएका थिए ।


प्रतिक्रिया

One thought on “सरकारी अस्पतालको मूल्यांकनमा लुम्बिनी प्रादेशिक नेपाल प्रथम

  1. हो हजुर मैले पनि त्यहाँ को सेवा लिने अवसर पाए धेरै राम्रो लाग्यो!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *