सुदूरपश्चिममा कार्यान्वयन नहुँदै ‘निजामती ऐन’ संशोधनको तयारी – Nepal Press

सुदूरपश्चिममा कार्यान्वयन नहुँदै ‘निजामती ऐन’ संशोधनको तयारी

बढुवाको अङ्क थपघट, आरक्षणको प्रतिशतमा हेरफेर

कैलाली । केन्द्रमा संघीय निजामती ऐन आउन ढिलाइ भइरहेका बेला सुदूरपश्चिम प्रदेशमा पारित गरिएको सुदूरपश्चिम प्रदेश निजामती ऐन २०७९ कार्यान्वयन नहुँदै संशोधनको तयारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत एक साता पहिले प्रदेश सभा सचिवालयमा ऐन संशोधनका लागि विधेयक दर्ता गरिसकेको छ ।

अहिले प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित रहेको छ । बैठक सुरु भए लगत्तै संशोधन विधेयक प्रदेश सभामा पेस हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्चमा परेको थियो रिट

२०७८ असार १३ गते सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको विधेयक १४ महिना पछि पारित भएको थियो । संघीय निजामती ऐन नआउँदै प्रदेशमा तयार हुँदा पनि पारित हुन ढिलाइ भएको थियो । प्रदेश सभाले २०७९ भदौ ३१ गते उक्त विधेयक पारित गर्यो । श्रेणि विहीन कर्मचारीलाई पनि स्थायी गर्ने गरी ऐन ल्याएको भन्दै त्यो बेला नै उक्त ऐनको विरोध भएको थियो ।

सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ विरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर गरिएको थियो ।

निजामती सेवा ऐन २०४९ को प्रावधान विपरीत प्रदेश सरकारले विधेयक पारित गरेको भन्दै बोलन्या थलीका संयोजक यादव जोशी र अधिवक्ता वीरभद्र जोशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । प्रदेशसभाबाट उक्त विधेयक बहुमतले पारित भएको थियो ।

संघीय निजामती ऐन संघीय संसदमा विचाराधीन रहेकै अवस्थामा प्रदेश निजामती ऐन पारित गरिएको हो ।

निजामती सेवा तथा अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ल्याएको उक्त ऐनको तत्कालीन समय (प्रदेशसभाबाट पारित हुँदा) पनि चर्को विरोध भएको थियो । विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले)का कृष्णराज सुवेदीले विधेयक विवादित भएकोले फिर्ता लिनुपर्ने बताएका थिए ।

प्रदेश सरकारले प्रदेशमा अस्थायी तथा सेवा करारमा कार्यरत कर्मचारीलाई सोझै स्थायी गर्ने उद्देश्यले विधेयक प्रदेश सभामा टेबल गरेको थियो ।

तर, विधायन तथा प्रदेश मामिला समितिले भने संशोधन गरेर लोकसेवा आयोगमार्फत परीक्षा लिएर स्थायी गर्ने बुँदा थप गरिदियो । हाल श्रेणीविहीन कर्मचारीलाई स्थायी गर्ने व्यवस्था छैन । संघीय व्यवस्थासँग बाझिने गरी प्रदेशमा कानून निर्माण गरिएपछि खारेजीको लागि रिट दायर गरिएको हो । अहिलेसम्म पनि उक्त रिटको सुनुवाइ भएको छैन ।

के-के हुँदैछ संशोधन ?

सुदूरपश्चिम सरकारले प्रदेश निजामती ऐनमा बढुवाको अङ्क थपघटदेखि आरक्षण प्रतिशत हेरफेरसम्म गर्ने गरी संशोधन विधेयक प्रदेश सभामा दर्ता गराएको छ । दफा ४ मा प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश न्याय सेवा थप गरिएको छ । यस अघि ८ सेवा रहेकोमा अब ९ पुग्ने छ ।

निजामती सेवा ऐन २०४९ को प्रावधान विपरीत श्रेणीविहीन कर्मचारीलाई पनि स्थायी गर्ने व्यवस्था अहिले हटाउन प्रस्ताव गरिएको छ । दफा ९ मा प्रदेश निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा बढुवा अङ्क थप घट गरिएको छ ।

दफा १० को पदपूर्ति सम्बन्धी विशेष व्यवस्थामा महिला र पिछडिएको क्षेत्रबाहेक सबै कोटाको प्रतिशत हेरफेर गरिएको छ ।

महिलालाई ३३ प्रतिशत र पिछडिएको क्षेत्रलाई १० प्रतिशत कायम राखिएको छ भने दलितलाई १४ प्रतिशतबाट बढाएर १५ पुर्याइएको छ । थारु्राना थारुलाई पनि १३ बाट १५ गरिएको छ । आर्थिक रूपमा विपन्न खस आर्यलाई १२ प्रतिशतबाट ११ बनाइएको छ ।

आदिवासी जनजातिलाई १० बाट ७, अपाङ्गलाई ४ बाट ५, मधेशीलाई ३ बाट २ र मुस्लिमलाई २ प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ ।

दफा १३ को ज्यालादारी वा करार नियुक्त गर्न नपाइने व्यवस्थामा कुनै पनि व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएका तलब भत्ता र अन्य सुविधा बापतको रकम नियुक्त गर्ने अधिकारीबाट असुल उपर गरिने उल्लेख गरिएको छ । संशोधन गरिएको विधेयकमा निरोगिताको प्रमाणपत्र पेस गर्नेदेखि प्रमुख सचिवको पदावधि समेत फेरिएको छ ।

यस अघि उमेदको हद ननाग्ने गरी प्रमुख सचिवको पदावधि तीन वर्ष कायम गरिएकोमा अब पाँच वर्ष उल्लेख गरिएको छ । बढुवाको लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यतालाई पनि थप स्पष्ट पारिएको छ ।

कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनमा आधारहरूमा अङ्क समेत हेरफेर गरिएका छन् । ५८ वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरिएको ऐनमा सेवा सर्तसँग सम्बन्धित प्रचलित सङ्घीय कानुनले अनिवार्य अवकाशको लागि तोकेबमोजिम भन्ने शब्द राखिएको छ ।

संशोधन गरिएको विधेयकमा निवृत्तिभरण नपाउने व्यवस्थालाई पनि थप स्पष्ट पारिएको छ ।

 


प्रतिक्रिया

One thought on “सुदूरपश्चिममा कार्यान्वयन नहुँदै ‘निजामती ऐन’ संशोधनको तयारी

  1. विना पूर्वाधार, विना योजना ऐनजस्तो दूरगामी महत्वका काम गर्न प्रदेश सरकारलाई जिम्मा दिएर देश भद्रगोल र असाधारण खर्चको चपेटामा पारिदैछ । पद पाए देशै बेच्न तयार हुने गठबन्धन नामको दिल्ली र पश्चिमाका दलालहरूको झुण्ड सरकारमा छ । देश रहने नरहने चिन्ता पो बढन थाल्यो । देशभक्त एकमात्र दल एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन् । हुँदाहुँदा दिल्लीको दलाल, बैंक ठग दुर्गा पनि मान्छे भेला गरेर ओलिलाई मात्र गाली गर्छ । अब नेपाली जनता स्वयम् सचेत भएर यी दिल्ली र पश्चिमाका दलाल, ठग, भ्रष्टाचारीहरूलाई ठेगान लगाउन ढिला भैसक्यो । यसको नेतृत्व एमालेले गर्नुपर्छ र जनता जुरूक्क उठेर एमालेलाई साथ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *