गिजोलियो जनप्रियको प्रअ छनोट प्रक्रिया, चार महिना तलब नपाएका शिक्षकले अझै कुर्नुपर्ने – Nepal Press

गिजोलियो जनप्रियको प्रअ छनोट प्रक्रिया, चार महिना तलब नपाएका शिक्षकले अझै कुर्नुपर्ने

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका ८ लिक्मा रहेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकहरूले विगत चार महिना देखी आफ्नो पारिश्रमिक पाएका छैनन् ।

विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालयको खाता खुलेको छैन जसका कारण उनीहरूले कार्तिक देखी माघ सम्मको पारिश्रमिक पाएका छैनन् । केही दिन अघि यहाँका ३३ जन शिक्षक र कर्मचारीले पारिश्रमिकको माग गर्दै आन्दोलन समेत सुरु गरेका थिए ।

३३ जना शिक्षक कर्मचारीहरूले कार्तिक देखी पौष महिना सम्मको तलब भत्ता एक महिना अघि नै खातामा निकासा गरिसकेको तर, विद्यालयले तलब भत्ता उपलब्ध नगराएर काम गराइरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

उनीहरूले २२ गते सम्म तलब उपलब्ध गराउन माग गरेका थिए नभए आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । त्यसपछि विद्यालयका पहिलो घण्टी नपडाएर आन्दोलन गरेका शिक्षकहरूले अहिले सम्म पनि आफ्नो पारिश्रमिक पाएका छैनन् ।

‘हामीले चार महिना देखी पारिश्रमिक पाएका छैनौँ’ शिक्षक जङ्गबहादुर देउवाले भने ‘रकम विद्यालयको खातामा आएको छ हामीले पाएका छैनौँ ।’

चार महिना देखी पारिश्रमिक नपाएका यहाँका शिक्षक तथा कर्मचारीहरूले अझै केही समय पारिश्रमिक नपाउने देखिएको छ ।

सुरुबाटै समस्या

अघिल्लो वर्ष सम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहेका धनिदत्त भट्टलाई आफ्नै कर्मचारीसँग ३० हजार घुस लिएको आरोप लाग्यो । त्यसपछि जयबहादुर बयलकोटीले प्रअको जिम्मेवारी पाए भट्टलाई गौरीगङ्गा वडा नम्बर १ स्थित पशुपति मावि मा खटाइयो ।

त्यहाँ शिक्षकको रूपमा केही समय काम गरे । फेरि उनी जनप्रियमै आए । उनको आगमन पछि विद्यालयका प्रधानाध्यापक बयलकोटी र उनी बिच शक्ति संघर्ष सुरु भयो । दशैको आसपासमा बयलकोटीले आफू प्रधानाध्यापकको जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिए । उनको राजीनामा स्वीकृत भएपछि अहिले विद्यालय प्र अ विहीन छ ।

त्यसको केही समय पछि फेरि विद्यालय व्यवस्थापन समितिले प्रअको लागि भन्दै जगदीश ओझाको नाम गौरीगङ्गा नगरपालिकामा सिफारिस गरेको थियो । सिनिअर शिक्षक हुँदा हुँदै जुनिअरलाई निमित्त बनाउन सिफारिस गरेको भन्दै नगरपालिकाले ओझालाई स्वीकार गरेन । ओझा भन्दा माथिल्लो तहमा दीपेन्द्र खड्का थिए । तर, दीपेन्द्र स्थानीय नभएको भन्दै ओझालाई अगाडी सारियो । त्यो पुरा भएन । त्यसपछि आन्तरिक रूपमा प्र अ नियुक्त गर्ने सम्भावना ट¥यो । विद्यालय व्यवस्थापन समितिले प्रअको लागि खुल्ला विज्ञापन आह्वान ग¥यो । विज्ञापन भएको एक महिना सम्म पनि विद्यालयले प्र अ पाउन सकेन ।

रोकियो छनोट प्रक्रिया

पौष १७ गते विद्यालय व्यवस्थापन समितिको बैठकले माध्यमिक तह स्थायी शिक्षकहरू मध्येबाट प्र अ नियुक्तिको लागि निर्णय ग¥यो । पौष २६ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले प्र अ छनोट समितिको संयोजक व्यवस्थापन समिति सदस्य सपना बम ताडीलाई तोक्यो । त्यसपछि प्र अ नियुक्तिको प्रक्रिया अगाडि बढ्यो ।

प्रअको लागि अघिल्लो पटक प्र अ भइसकेका धनिदत्त भट्ट र जयबहादुर बयलकोटीको दरखास्त प¥यो । नेतृत्व लिने क्षमता बापत व्यवस्थापन समितिको मूल्याङ्कन र शिक्षकको मूल्याङ्कन बाट प्राप्त अङ्क दिइसकिएको थियो । त्यो बेला सम्म सबै ठिकै चलिरहेको थियो । जब विद्यालय विकास प्रस्ताव प्रस्तुत गर्ने र त्यसको अङ्क दिनेमा स्वार्थ बाझिन थाल्यो तब प्र अ नियुक्ति प्रक्रिया गिजोलियो ।

छनोट समिति संयोजक सहित व्यवस्थापन समितिका बहुमत सदस्यहरूले जारी गरेको विज्ञप्तिमा विज्ञ छनोटका लागि शिक्षा विकास तथा समन्वय इकाई का बिनी प्रताप धामीले प्रथम र द्वितीय श्रेणिका चार जना मात्रै विज्ञ बोलाउने तर, जिल्लामा रहेका सूचिकृत माध्यमिक तह तृतीय श्रेणीका विषय विज्ञ बोलाउन नसक्ने अडान लिएपछि विवाद भएको उल्लेख गरिएको छ ।

१९ गते विषय विज्ञ छनोटमा विवाद भएपछि परीक्षा रोकिएको थियो तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चौधरी समेत बिनी धामीको तर्फबाट सहमत भएको भन्दै पुन परीक्षा सञ्चालन गर्ने सूचना जारी गरिएपछि ७ जना मध्ये बहुमत ४ जनाले तत्काल प्र अ छनोट प्रक्रिया रोक्न माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।

शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेर भए पनि प्र अ छनोट गर्ने तयारीमा शिक्षा विकास तथा समन्वय इकाई लागेको थियो । तर, व्यवस्थापन समितिको समय नै सकिएपछि छनोट प्रक्रिया पुन स्थगित गरिएको शिक्षा विकास तथा समन्वय इकाई का शाखा अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।

‘तीन वर्ष अघि आजकै दिन निर्वाचन भएको रहेछ । उहाँहरूको समय गए राति बाटै सकिएको पाइयो’ उनले भने, ‘समय सकिएको व्यवस्थापन समिति मार्फत प्र अ छनोट प्रक्रिया नहुने हुँदा हामीले स्थगित ग¥यौँ ।’

उनका अनुसार अब नयाँ व्यवस्थापन समिति मार्फत प्र अ छनोट प्रक्रिया अगाडी बढ्ने छ । यता प्र अ छनोट प्रक्रियामा ढिलाइ हुने भए पनि चार महिना देखी पारिश्रमिक नपाएका शिक्षक र कर्मचारी थप मारमा पर्ने भएका छन् ।

दुई प्रअका आकाङ्क्षी बिच राजनैतिक प्रतिष्ठा जोडिएको हुँदा पनि समस्या थप बढेको धेरैको बुझाइ छ । भट्ट माओवादी केन्द्र हुँदै अहिले कांग्रेस निकट छन् भने बयलकोटी एमाले निकट हुन् ।

गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम पनि शिक्षामा राजनैतिक हस्तक्षेप हुन नहुने बताउँछन् । ‘कोही परीक्षा गर्नु पर्छ भन्नेमा केही गर्न हुँदैन भन्नेमा लागेको हुँदा समस्या भयो’ उनले भने ‘शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप हुनु राम्रो होइन । ’

प्र अ नियुक्त नहुँदा शिक्षक तथा कर्मचारीहरूले पारिश्रमिक समेत नपाएको हुँदा तत्काल समाधानको खोजी गरिने उनले दाबी गरे । ‘हामी भोली पर्सिमै बसेर समस्याको समाधान गर्छौ’ उनले भने ‘जनप्रियमा धेरै समस्या अब हामी हुन दिन्नौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *