स्वास्थ्यमन्त्री र मुख्यसचिवले निर्देशन दिँदा पनि बस्न सकेन बीपी प्रतिष्ठानको बैठक – Nepal Press

स्वास्थ्यमन्त्री र मुख्यसचिवले निर्देशन दिँदा पनि बस्न सकेन बीपी प्रतिष्ठानको बैठक

विराटनगर । स्वास्थ्यमन्त्री र मुख्य सचिवले निर्देशन दिँदा पनि पदाधिकारीबीचको विवादका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान धरानको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

धरानका राजनीतिक दलहरूको भेटमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्यालले कार्यकारिणी समितिको बैठक बसेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

निर्देशन दिए पनि कायम मुकायम उपकुलपति प्रह्लाद कार्की धरान नआउने र अन्य पदाधिकारी काठमाडौं जान नमानेपछि बैठक बस्न सकेको छैन । शुक्रबार नै कार्यकारिणी समितिको बैठक बस्ने सहमति भएको थियो । तर, विवाद बढ्दो छ ।

कायममुकायम उपकुलपति प्रा. डा.प्रह्लाद कार्कीले शुक्रवार र शनिवार काठमाडौंस्थित सम्पर्क कार्यालयमा बोलाएको कार्यकारिणी समिति (का.स) बैठक बोलाएका थिए ।

कायम मुकायम उपकुलपति कार्की मात्र काठमाडौंमा छन् । प्रतिष्ठानमै रहेका अन्य तीन पदाधिकारीहरू काठमाडौं नगएपछि बैठक बस्न नसकेको हो । आन्दोलनकारी शिक्षक, कर्मचारीहरू का.स. बैठक धरानमा नै बस्नु पर्ने र उक्त बैठकमा आफूहरूको एक सूत्रीय माग अन्तर्वार्ताको मिति तोक्नुपर्ने अडानमा छन् ।

उनीहरूले रेक्टर र रजिष्ट्रारको कार्यालय घेराउ गर्दै काठमाडौं नजान आग्रह गरेका पनि छन् ।

धरानबाट गएका राजनैतिक दलका नेताहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्यालसँग भेटेर छलफल गरेका थिए ।

छलफलमा तत्काल कास बस्ने र कासले सिनेट बोलाएर समस्या समाधान गर्ने सहमति भएको थियो ।

तर, कार्यकारिणी समितिको बैठक समेत नबस्दा सिनेट बोलाउने अवस्था नै नभएको नेकपा एमाले धरान उप महानगरका अध्यक्ष हर्क एभेङ्गले बताए ।

शिक्षक कर्मचारीहरूको आन्दोलनले विद्यार्थीहरूको पठनपाठन अवरुद्ध छ भने ओपिडी सेवा पनि प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर