चोभारमा बनेको नमूना क्यानओपी जीपलाइन सञ्चालनमा, अभिनेत्री वर्षा राउतले गरिन् उद्घाटन – Nepal Press

चोभारमा बनेको नमूना क्यानओपी जीपलाइन सञ्चालनमा, अभिनेत्री वर्षा राउतले गरिन् उद्घाटन

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ ।

शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् । आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीनवटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ ।

सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ । कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीनवटा अनुभव लिन सकिने बताए ।

उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए । उनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताए । उनले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए । उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए ।

‘यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी हो । जीपलाइन एउटै स्टेपमा, एउटै अनुभवमा सकिन्छ । तर यहाँ र यो तीन वटा अनुभव एकै ठाउँमा लिन सकिन्छ । द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव यहाँबाट पाउनुहुनेछ । प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएका छौँ । सुरक्षाको हिसावले पनि नमूना छ’, उनले भने, ‘तीन वटा चरणको सुरक्षा यसमा छ । जीपलाइन भन्दा पृथक अनुभव दिने खालको क्यानओपी सञ्चालनमा ल्याएका छौँ । यसमा जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज छ । यसमा चार करोड लगानी भएको छ । न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी टिकट दर एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय छ । स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट छ । सबैले यसको अनुभव लिन सक्नुहुनेछ । तीन वटा स्टेप गरी ३५० मिटरको दूरी छ ।’

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए । उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए ।।

उनले भने, ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ । यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ ।’

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे । उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए ।

उनले भने, ‘हामीले खाएका कसमहरु पूरा गर्दै जाने हो भने यो एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउँछ । यहाँ हुने हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्नेछ ।’

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन् । उनले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताइन् ।

उनले भनिन्, ‘म पहिलादेखि नै एड्भेन्चर प्रेमी हुँ । रमाइलो लाग्छ, एक्साइटेड भएँ । बालबालिकादेखि सबैले गर्न मिल्छ । डर धेरै नै हुँदैन । नेशनल टुरिजम यस्ता कुराहरुले राम्रो हुन्छ । नेपालमा यस्ता कुरा धेरै हुनुपर्छ, नेपालमा हातमा गन्ने मात्रै छन् ।’

उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताए । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *