गाउँकै उद्यम र समाजसेवामा रमाएका धनबहादुरको तरक्की – Nepal Press

गाउँकै उद्यम र समाजसेवामा रमाएका धनबहादुरको तरक्की

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १ मुर्थुङका धनबहादुर घर्तिमगर उमेरले ४० टेके । आफू १० वर्षको हुँदा ओखलढुंगा गाउँमा रहेको ज्ञानोदय माविमा उनले कक्षा एक पढ्न थालेका रहेछन् ।

२०५८ सालमा जिल्लास्तरीय परीक्षाको नतिजा नआउँदै मंसिर महिनामा भागी बिहे गरे । छोरा जन्मिएपछि उनी २०६० सालतिर भारतको मद्रासतिर कामको खोजीमा हुँइकिए । करिव एक वर्ष उतैतिर सुरक्षा गार्डको काम गरेर नेपाल फर्किए ।

घर, परिवार र समाजको मायाले उनलाई गाउँमै तान्यो । २०६१ सालतिर उनी खोटोको काम गर्न अछाम पुगेर ६ महिनाजति उतै बिताएर आएपछि अन्त कतै गएका छैनन् ।

धन कमाउन धनबहादुर गाउँमै अनेक उपाय अपनाइरहेका छन् । पुख्र्यौली सम्पत्तिका नाममा उनीसँग ६ रोपनी धान फल्ने खेत छ । त्यो पनि प्रकोपका कारण केही भाग छियाछिया परेका छन् । बाँकी केही भागमा धान खेतीबाहेक अरु गर्दैनन् । ७ रोपनी बारीमा तरकारी खेती थालेको दुई वर्ष भयो । बोडी, सेमी, करेला, खुर्सानी, टमाटर,काँक्रा, घिरौला लगायतका खेतीले उनलाई थोरैधेरै आम्दानी दिएको छ ।

उनले गएको सिजनमा टमाटरबाट ३०, ३५ हजार रुपैयाँ आम्दानी गरेका थिए । यसपालि त बोडी र सेमीले खासै भाउ नपाएको उनको गुनासो छ । बारीका पाटाहरुमा गोन्द्रे केरा र विकासे मालभोग केरासमेत लगाएका छन् । गोन्द्रे केरा धार्नीको ८० रुपैयाँ र मालभोग काँचो नै कोसाको तीन रुपैयाँमा गाउँबाटै बिक्री हुँदोरहेछ ।

थप आम्दानीका लागि भैंसीं पालेका छन् । बजार टाढा पर्ने भएको हुँदा दूध बेच्न सक्दैनन् । त्यसैले उनले घ्यू बेच्दा रहेछन् । घर खर्चका लागि बेसार,अदुवा लगाएका रहेछन् । उनको घरमा विकासे र पुरानो काठेघार गरी ६ वटा घारहरु रहेछन् । वर्षमा एउटा घारबाट बेसीमा १३ मानासम्म मह संकलन गर्न सकिने उनले बताए । मानाको एक हजार तीन सय रुपैयाँमा मह बेचेर केही धन आर्जेका छन् ।

वर्षमा तीन पटकसम्म घरबाट मौरीको मह काढ्न सकिने रहेछ । मंसिर, चैत्र र साउनमा गरी । साउनमा मकैंको चउर (धानजस्तै पसाउँदा ) निस्किदा मौरीले राम्रो आहार पाउने भएकोले अरु बेलाको तुलनामा साउनको मह गुणस्तरीय हुने धनबहादुरले सुनाए । उनका अनुसार मंसिरमा तोरी र चिउरी फूल्ने बेलाको मह पनि स्वादिष्ट हुन्छ ।

धनबहादुरले आफ्नै खर्चमा दुईवटा प्लाष्टिक टनेल बनाएका छन् । प्लाष्टिकको पाइपबाट पानी जोडेको छन् । जानी नजानी मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनले कृषिसम्बन्धी तालिम र प्राविधिक सहयोग खासै पाएका छैनन् । आफ्नो वर्कतले जानेका कृषिकर्मले नै उनी अघि बढिरहेका छन् । त्यसैमा पनि उनको तरकारी खेतीलाई मृग( चौडा),दुम्सी लगायतका वन्यजन्तुले हानी पुराउँदा रहेछन् ।

धनबहादुरले स्थानीय सहकारी र स्थानीय सरकारसँग कृषिसम्बन्धी ज्ञान,सीप र वृहतरुपमा कृषि कर्म गर्न आर्थिक सहयोगको अपेक्षासमेत गरेका छन् । थप बजारीकरणका निम्ति समेत अपील गरेका छन् । आम्दानीमुखी फलफूल बारीमा लगाएर मनग्य धन कमाउने आशा पालेका धनबहादुर घर्तिमगरको जाँगरलाई सम्बन्धित निकायले ध्यान दिनसके अझै धेरै गर्न सकिने उनको भनाइ छ ।

आम्दानीले घरका बाबा,आमा,श्रीमती र छोराछोरी पालेका छन् । छोरोले स्काभेटर चलाउन थालेपछि थोरै भएपनि उनलाई घरव्यवहारमा सहयोग मिलेको छ । बाख्रा र कुखुरा पाल्न श्रीमतीले उनलाई सघाएकी छन् ।

सानैमा भागी विहे गरेकी छोरीले एक वर्षमै जण्डिसका कारण श्रीमान् गुमाउनु पर्दा पीडाबोध गर्दै थिए धनबहादुर । अहिले छोरी माइतमै छन् । धनबहादुरका बाबा ६८ वर्ष र आमा ६७ वर्ष पुगिन् । आमा सुस्तमनस्थितिकी छन् ।

धनबहादुरले गाउँमै बसेर समाजसेवा गरेका छन् । गाउँकै ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आफूले पूरा पढ्न नपाए पनि गाउँले विद्यार्थीको भविष्यका निम्ति दिनरात सहयोग गरिरहेका छन् । त्यसैगरी रानीढुंगा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष भएर वन, वातावरण र जैविक विधिता संरक्षणमा टेवा पुर्‍याएका छन् ।

गाउँमा रमाउँदै, गाउँमै कमाउँदै आएका धनबहादुर घर्तिमगरले गाउँकै सेवा गर्दै आएका छन् । तन्दुरुस्त छन् । स्वस्थ छन् । कर्मशील छन् । सबैका लागि उदाहरणीयसमेत रहेका धनबहादुरले गाउँकै माटोमा सुगन्ध महसुस गरेका छन् । गाउँकै विकासमा तल्लीन भएका छन् । बाँचुञ्जेल गाउँमै बसेर, गाउँ र गाउँलेहरुको सेवा गर्ने अठोट लिएका छन् ।

धन कमाउन धनबहादुरले गाउँमै कृषिका अनेक बाटा अपनाएका छन् । अझ् धेरै उपायहरु खोज्दैछन् । उनको धन कमाउने रहर स्थानीयका लागि रहर लाग्दो छ ।

 


प्रतिक्रिया

One thought on “गाउँकै उद्यम र समाजसेवामा रमाएका धनबहादुरको तरक्की

  1. हाम्रा गाउँका धनबहादुरले धन र मन कमाउने अनेक विधि अपनाएका छन् । खुसी र सम्मान लाग्छ उनप्रति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर