भारतमा नक्कली रामग्राम स्तूप बनाएर प्रचार – Nepal Press

भारतमा नक्कली रामग्राम स्तूप बनाएर प्रचार

तत्काल कूटनीतिक पहल गरेर रोक्न सरोकारवालाले गराए सरकारको ध्यानाकर्षण

रुपन्देही । गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम स्तूपबारे भारतले गरिरहेको गलत प्रचार रोक्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनीस्थित रामग्राम स्तूपमा भारतसँग कुटनीतिक पहल गरी नक्कली रामग्रामको प्रचार रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था उजैनीका अध्यक्ष शम्भु उपाध्यायले नवलपरासीमा रहेको स्तूप नै रामग्राम स्तूप प्रमाणित भइसकेको अवस्थामा भारतले गलत प्रचार गरेको बताए ।

भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको जिल्ला प्रशासन कार्यालयको आधिकारिक वैभसाइटमा रामग्राम स्तूप सोही जिल्लाको सोहगीबरवा जंगलमा रहेको उल्लेख छ । नेपाल सरकारले तत्काल खण्डन गरी भारतको उक्त कार्य रोक्नुपर्ने अध्यक्ष उपाध्यायले बताए ।

“चिनियाँ नागरिक ह्वेनसाङ र फाईयानको यात्रा वृत्तान्तमा कोलीय गणराज्यको राजधानी देवदह, रामग्रामदेखि पूर्व र दक्षिण दिशामा ८ माईलको दुरीमा रहेको भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल नै रामग्राम स्तूप रहेको उल्लेख छ, डा.डब्लु ह्वेले पनि सन् १८९८ मा रामग्राम स्तूप पत्ता लगाएका थिए, त्यो स्तूप नवलपरासीको रामग्राम उजैनी गाउँमा छ,यसमा दुई मत नै छैन्,भारतको दुष्प्रचार रोक्नुपर्छ”, उनले भने ।

रामग्राम स्तुप, विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्तु धातु अविछिन्न रुपमा राखिएको छ अर्थात बुद्धको परिनिर्वाण पछि राखिएको यो अस्तु धातु अहिलेसम्म कसैले चलाउन सकेको छैन । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमी टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने घाँसे थुम्कोे नै रामग्राम स्तुप हो ।

सन् १८९९ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो ।

यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो ।

विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तुप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् ।

स्तुपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ । वरिपरी घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ ।

यसबाहेक प्रवेशद्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन्। लुम्बिनीमा जन्मेका बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उनको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।

बौद्ध ग्रन्थहरुको अनुसार उनको महापरिनिर्वाण भएपछि शवको दाह संस्कारपछि केही मोतीका दानाजस्ता अस्तु धातु बाँकी भए । दाहसंस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बीच ती अस्तु धातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए ।

र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएको इतिहास छ ।
त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवान बुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तु धातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्तु धातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो ।

पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्तु धातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए ।

बौद्ध ग्रन्थहरुमा उल्लेख भएअनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्तु सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् । रामग्राम स्तूपको संरक्षण र विकासमा ध्यान दिनसमेत स्थानीयले सरकारसँग माग गरेका छन् ।

यसअघि नागरिक समाज नवलपरासीले पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । भारतका अधिकारीहरु र भारतीय सञ्चारमाध्यमहरुले केही दिनदेखि रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जनाएका छन् । रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा भएपनि भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेर प्रचार गरिरहेको छ ।

नेपाल सरकारको प्राथमिकतामा नपर्दा नवलपरासीमा रहेको रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय बनेको अध्यक्ष सैथवारले बताए ।

“विश्व सम्पदा सूचिमा सूचीकृतको प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान नपुग्दा स्तुप ओझेलमा छ , स्तुपको विकास हुने पर्खाईमा रहैकै बेला पछिल्लो केही समयदेखि मित्र राष्ट्र भारतले नक्कली रामग्राम स्तुप खडा गरी रामग्राम स्तुप भारतीय भूमिमा रहेको प्रचारप्रसार गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,भारत सरकारको यस किसिमको दुष्प्रचारप्रति हाम्रो घोर आपत्ति रहेको छ” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर