ज्वाइँको भरमा घरजग्गा पासः पैसा नपाएर वृद्धवृद्धाको पिँढीको बास – Nepal Press

ज्वाइँको भरमा घरजग्गा पासः पैसा नपाएर वृद्धवृद्धाको पिँढीको बास

रुपन्देही । आफ्नै ज्वाइँको भर परेर ऋण लागेपछि घर बिक्री गरेपनि रुपन्देहीको शुद्धोधनका एक दम्पती दुई वर्ष पुग्न लाग्दासमेत त्यो रकम हात पार्न नपाएर तड्पिरहेका छन् । घर खरिद गरेका व्यक्तिले ६० लाख रुपैयाँ नदिएपछि ती दम्पतीको न त घर न त हातमा रकम भएको छ ।

२०७८ मंसिर १५ मा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ निवासी मनरुपा रेग्मीको १५ धुरमा बनेको घर कपिलवस्तु ४ नम्बरका कुम्भस गिरीले खरिद गरेका थिए । तर खरिद गर्दा विभिन्न मितिमा ६३ लाखको चेक दिएपछि सोही चेकको विश्वासका आधारमा घरधनी मनरुपाले १५ धुरमा बनेको घर कुम्भज गिरीका नाममा रजिष्ट्रेशन पास गरिदिएकी थिइन् ।

घरधनी मनरुपाले आफ्नै ज्वाईंको विश्वासको आधारमा घर पास गरिदिएकी थिइन् । ज्वाईं राजेश लम्सालले भने उनले चिनेका माया सुवेदीको विश्वासको आधारमा घर पास गर्नका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए ।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरिद गर्ने गिरीलाई घरधनी मनरुपाका ज्वाईं राजेश लम्सालसँग सम्पर्क गराएकी थिइन् ।
“म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको छैन, आफ्नै ससुरालीको घर बिक्रीका लागि स्थानीय माया सुवेदीले घर खरिद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरीद बिक्रीको काम भएको हो, अहिले यस्तो अवस्था भयो, कसको के विश्वास गर्ने ?”–लम्सालले भने ।

घर खरिद गर्ने क्रममा बयानाबापत १० लाख रुपैयाँको चेक २०७८ मंसिर १५ गतेको मितिमा खरिदकर्ताले काटेका थिए । तर सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रुपैयाँ नगद ल्याएर दिएको घरधनी मनरुपाले बताइन् ।

त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपैयाँको चेक काटिएको छ भने २०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपैयाँको चेक काटिएको छ । ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रुपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रुपैयाँ घरधनीले पाउने गरी खरीद बिक्री भएको पाइएको छ ।

तर घर खरीद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रुपियाँ कारोबार गरिदिने माया सुवेदीले कमिशन खाने मनसाय राखेको देखिएको छ ।

मनरुपाका श्रीमान रत्नखर रेग्मीले पैसा प्राप्त नहुँदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाईंले भनेपछि पास गरिदिएको बताए । दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले घर खरिद गरेर पैसा नतिर्दा आफू समेत तनावमा परेको बताइन् । “मैले नै कारोबार गराएकी हुँ, तर खरिद गर्ने कुम्भज गिरीले पैसा दिन्छु भनेर बारमबार झुक्याइरहेका छन्, यसले मलाई समेत तनाव भैरहेको छ”–सुवेदीले भनिन् ।

घर बिक्री गरेका मनरुपा र रत्नखर रेग्मीले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरे पनि खरिदकर्ता गिरीले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको पीडितहरुले बताएका छन् । चेक काटेको मिति ६ महिना नाघेमा चेक बाउन्समा उजुरी नलाग्ने ब्यवस्था छ । पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् । तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

ऋण लागेर आपत परी बिक्री गरेको घरको ६४ लाख रूपैयाँ पैसा नपाएपछि वृद्ध दम्पती न्यायका लागि जहाँतही भौतारिरहेका छन् । कहिले पत्रकार सम्मेलन गरेका छन् कहिले वडामा धाएका छन् कहिले जिल्ला प्रहरी कार्यालयमा धाए तर पनि पैसा आउने मेसो नै छैन । ‘पैसाको खाँचो थियो, अप्ठ्यारो परेपछि ऋण लिएर खर्च चलाएका थियौं, ज्वाइँको विश्वासमा परेर राजीनामा पास गरिदिएँ, तर पैसा अहिलेसम्म आएन’ मनरुपाले भनिन् ।

७२ वर्षका रत्नखर र ६५ वर्षकी मनरूपका ६ छोरीमध्ये ५ जनाको बिहे भइसकेको छ । कान्छी छोरी १७ वर्षीया आशा रेग्मीले बाआमाको स्याहार गर्छिन् । रेग्मी दम्पत्तिको जग्गा खरिद गर्ने खुम्बस अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनी सम्पर्कमै आउन चाहेका छैनन् । अहिले उक्त घर सिर्जना श्रेष्ठको नाममा पास गरेको पाइएको छ । मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले उक्त घर दृष्टिबन्धक राखी बैंकबाट ऋण निकाल्नको लागि सिर्जनाको नाममा नामसारी गरेको पाइएको बताइन् ।

रेग्मी दम्पत्तिकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरेकी छन् । रेग्मी दम्पत्तिलाई उनका आफन्तले जिल्ला प्रशासन र अख्तियारमा उजुरी दिन सुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर