सन्तान र पतिको जीवनरक्षाको कामनासहित मिथिला नारीले भरे खोइछ (तस्बिर/भिडिओ) – Nepal Press

सन्तान र पतिको जीवनरक्षाको कामनासहित मिथिला नारीले भरे खोइछ (तस्बिर/भिडिओ)

जनकपुरधाम । मिथिलाञ्चलको शक्तिपीठहरूमा आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्रको पहिलो दिनबाटै दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरूले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दुर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै खोइछ भर्ने प्रचलन छ ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्नेर विजय दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइछ भरिन्छ । खोइछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।

जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा ‘खोइछ’ भर्ने महिलाको भिड छ । भीड व्यवस्थापन गर्न सयौं स्वयंमसेवक खटेका छन् । राजदेवीमा लाखौं महिलाले हरेक वर्ष खोइछ भर्छन् । बिहानदेखि मध्यरातसम्म सडकसम्मै लाइन देखिन्छ ।

यस्तै वीरगञ्जको गहवामाई मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको कंकालिनी मन्दिरलगायतको शक्तिपीठमा पनि भिड देखिएको छ ।

खोइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो ।

‘खोइछ’मा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ, जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त तराई मधेशमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि ‘खोइछ’ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो ।

खोइछको चलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोइछ भर्ने गरेको शास्त्रमा पाइन्छ ।

प्राचीनकालमा छोरीलाई घरबाट बिदाई गर्ने बेलामा आमाले आँचलभर खोइछ भरी बिदाई गरेको र छोरीको घरमा अन्नपूर्णाको बास होस् भनी कामना गरेको प्रसंग पनि महिलाहरू सुनाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर