रातोमाटो र कमेरोले रंगिन छाडे दैलेखका घर – Nepal Press

रातोमाटो र कमेरोले रंगिन छाडे दैलेखका घर

दैलेख । दैलेखको महाबु गाउँपालिका-६ का दिलबहादुर थापा मगरलाई दसैँ नजिकै गर्दा रातोमाटो र कमेरो ल्याउन २ दिन लाग्थ्यो । रानिवन-६ देखि २ दिन हिँडेर वडा नम्बर-३ वासीसम्म पुग्थे उनी ।

घटस्थापनाकै दिनबाट रातोमाटो र कमेरोको जोहो थाल्थे उनी । तर, पछिल्ला केही वर्ष उनी माटो लिन जान छाडिसके । गाउँघरमा सडक पुगेपछि रातोमाटो र कमेरोको चलन हराउन थाल्यो । कमेरो निकाल्ने ठाउँमा अहिले झाडीले ढाकेको छ ।

दैलेखका घरहरूको पहिचान नै थियो आधा-आधा भाग कमेरो र रातोमाटोले पोत्ने । तर, हिजोआज चुना र आयातित रङले सजाउन थालिएको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि रातोमाटो र कमेरोको प्रयोग हराएको दिलबहादुर बताउँछन् ।

५/६ वर्ष पहिलासम्म कमेरो लाउनेहरू गाडि सुविधासँगै अहिले गेरु, इनामेल र चुनालगायत प्रयोग गर्छन् ।

६० वर्षीया दिलबहादुर भन्छन्, `सबैले चुनाले घर रंगाउँछन् । छोराछोरी पनि कमेरो लाउन मान्दैनन् । पहिला कमेरोले घर पोत्दा देवता पनि खुसी हुन्छन् भन्थे । जमाना नै फेरियो अब पुराना कुरा हराउँदै गए ।’

रानिवनकै लक्ष्मी थापा मगर पनि दसैँ भित्रिनासाथ साथीसंगी सल्लाह गरेर माटो खन्न जाने गरेको सम्झन्छिन् ।

‘घर पोत्न थालेपछि मात्र बल्ल दसैँ आएजस्तो लाग्थ्यो । आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै छैन’, लक्ष्मीले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर