भूकम्प प्रभावित बझाङका बस्तीमा छैन चाडको रौनक- कहाँ राख्नु जमरा, कसरी मनाउनु दसैँ ? – Nepal Press

भूकम्प प्रभावित बझाङका बस्तीमा छैन चाडको रौनक- कहाँ राख्नु जमरा, कसरी मनाउनु दसैँ ?

कैलाली । अन्यत्रजस्तै बझाङ सदरमुकाम चैनपुरमा पनि दसैँको चहलपहल छ । तर, सबैलाई यो चाडबाडको रौनकले छुन भने सकेको छैन । जयपृथ्वी नगरपालिका-१० चैनपुरकी दुरु कामीलाई दसैँ आए नआएको कुनै चासो छैन । दुई साताभन्दा लामो समयदेखि उनी सदरमुकाममै त्रिपालमुनि रात काट्न बाध्य छिन् ।

असोज १६ गतेको भूकम्पले उनको घर भत्किएको छ । अहिले पनि यहाँ साना ठूला भूकम्प तथा पराकम्पहरू गइरहेका छन् ।

‘घर भूकम्पले भत्कायो, रात काट्ने यही त्रिपाल सहारा बनेको छ’, उनले आँसु खसाल्दै भनिन्, ‘दसैँ लागिसक्यो जमरा राख्ने ठाउँ पनि छैन । बेलाबेलाको हल्लाइले मुटु नै झस्किन्छ । एक्ली मान्छे ।’

दुरुजस्ता कयौँ परिवारलाई अहिले दुई छाक टार्न सकस छ । भत्किएका घर पुनर्निर्माणको टुंगो छैन । चर्किएका घरहरूमा बस्ने आँट पलाएको छैन । भूकम्पको त्रास उस्तै छ । यस्तो बेला आएको दसैँ पनि उनीहरूको लागि दशाजस्तै भएको छ ।

७१ वर्षका बलबहादुर सुनारको पालमा पाँचजना परिवारले आश्रय लिइरहेका छन् । १५ जना मिलेर बसेको यहाँ पनि दसैँको कुनै उत्साह छैन ।

‘दसैँ मनाउनलाई खानेकुरा पनि छैन । जो आए पनि फोटो र भिडिओमात्रै खिचेर जान्छन् । अब दैनिक ज्यालादारी गरेर जीविका चलाउने हामीहरूले कसरी जमरा उमारेर दसैँ मनाउनु ?’, उनले भने ।

भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आएका थिए । प्रधानमन्त्री नै घर आँगनमा आइसकेपछि राहत र क्षतिपूर्तिको शीघ्र व्यवस्थापन हुने अपेक्षामा रहेका भूकम्प प्रभावित अहिले पनि सरकारले गरेको घोषणा सम्झिएर बसिरहेका छन् ।

‘प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर आए छिट्टै राहत दिन्छौं भनेको पनि १७ दिन भइसक्यो । तर, केही आएन’, लक्ष्मी रसाइली ले भनिन्, ‘यस्तो पीडामा हामीलाई दसैँ आएजस्तो लागेकै छैन ।’

१६ गते आएको भूकम्पले बझाङका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । उनीहरूले सरकारबाट तत्काल राहत र क्षतिपूर्तिको अपेक्षा गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर