महिनावारी विभेद विरुद्धको विद्रोह : महिनावारी भएकै दिन बुहारी भित्र्यायौँ (भिडिओ) – Nepal Press

महिनावारी विभेद विरुद्धको विद्रोह : महिनावारी भएकै दिन बुहारी भित्र्यायौँ (भिडिओ)

परिवर्तनको थालनी ठूला अभियानबाट होइन आफैंबाट गर्नुपर्छ । सावित्री भण्डारीले जानेको परिवर्तनको उदाहरणले सिकाउने कुरा हो यो । समाज परिवर्तनको महिनावारी विभेदविरुद्धको आवाजबाट थालेकी उनले मर्यादित महिनावारीको लागि जैविक महिनावारी प्याड बनाएर महिलाको स्वस्थ प्रजननसम्म पुर्‍याएकी छिन् । गुमनाम बसेर पनि परिवर्तनको अभियन्ता बन्न सकिन्छ भन्ने चितवन माडीकी सावित्री भण्डारीले गरेको महिनावारी विभेदविरुद्ध आफू र आफ्नो परिवारले गरेको विद्रोहको अन्तरकुन्तर नेपाल प्रेससँग यसरी बाँडेकी छन्

पहिलोपटक महिनावारी हुँदा म आठ कक्षामा पढ्थेँ । कात्तिकको महिना थियो । बुबाआमाले अरुकै घरमा लुक्न पठाउनुभयो । परीक्षा आउन लागेको थियो, स्कुल जान पाइनँ । ६ दिन दिदीको घर बसेँ । त्यसपछि पनि दाइ स्कुल पढाउने भएर स्कूल जान पाइनँ । मलाई सानैदेखि पढ्नचाहिँ पर्छ जस्तो लाग्थ्यो । त्यसैले पनि होला स्कूल जान नपाएपनि साथीकै घर गएर भनेपनि पढ्छु भन्ने लाग्यो । साथीको घर गएँ । ६ दिन साथीको घर बसेपछि ११ दिनको दिन घर आएँ ।

दोस्रो पटक भने मसँग भएको डरले महिनावारीमा लुक्नुपर्ने बाध्यतालाई जितेँ । १५ वर्षमा पहिलोपटक महिनावारी भएको म सबैजसो रात एक्लै सुत्नुपर्दाको डरले निदाउन सकेको थिइनँ । म त १५ वर्षमा पुग्दा पनि डराउने भएर हुर्किएछु भन्ने लाग्यो । दोस्रो पटक महिनावारी हुँदा रातको १० बजेजति भएको थियो । आफूलाई एक्लै सुत्न डर लाग्ने । बुबाआमा दुबैजना हुनुहुन्थ्यो । रुँदै भन्दै गरेँ, म कतै पनि जान्न, कतैपनि जान्न । यो रातको समय कसको घरमा उठाउन जानेँ । घरै बस्छु । जेसुकै हुन्छ भनेँ । म साह्रै रोएको देखेपछि बुबाआमाले हुन्छ हुन्छ भनेर घरै बस्ने अनुमति दिनुभयो । म घरमै बसेँ । त्यो समय आजभन्दा करिब ४५ वर्ष अगाडिको कुरा हो यो । त्यो मेरो महिनावारी विभेदविरुद्धको पहिलो विद्रोह थियो ।

०००

मलाई महिलामाथि हुने हिंसाको विरोधमा काम गर्न पहिलेदेखि नै मन लाग्थ्यो । गाउँमा भएका महिलामाथिका विभेदविरुद्ध आवाज उठाउँथे । संघर्ष गर्नुपर्थ्यो हिंसाबारे बोल्दा । अझ हाम्रो पालमा त चाँडै विवाह गर्नुपर्थ्यो । म अलिकति राजनीतिमा पनि चासो राख्थेँ । तर, राजनीतिले मलाई राज्यसत्ताको नेतृत्व होइन समाज परिवर्तन गर्न सहयोग गर्छ भन्ने विश्वास थियो । त्यही सन्दर्भमा महिलाको क्षेत्रमा काम गर्ने अवसर प्राप्त भयो । महिलाका अधिकार स्थापित गर्न नीतिमा नै समेटिनुपर्ने रहेछ भन्ने थाहा भयो । पढ्दै त्यही क्षेत्रमा लाग्दै गरेको थिएँ । हाम्रो निम्नमध्यम वर्गीय परिवार हो । शुल्क तिरेर उच्च शिक्षा पढाउन बुबाआमालाई गाह्रो भयो । अनि मलाई कमाएर पढ्नुपर्छ भन्ने लाग्यो । म घर छोड्न तयार भएँ । काम गर्नको लागि पर्वत गएँ । त्यहाँ १५ वर्षसम्म दलित र दलितभित्र महिलाका सवालका विषयमा काम गरेँ । राजनीतिमा महिलामाथि समानताको विषय सिकेको थिएँ । मैले त्यो समय समुदायमा बसेर महिलामाथिको समानतामा काम गर्नुपर्छ भन्ने सिकेँ ।

हामी घरमा ६ जना दिदीबहिनी र दुई दाजु थियौँ । दिदीहरूलाई महिनावारी हुनुभन्दा अगाडि नै विवाह गर्नुपर्छ भनेर १३, १४ वर्षकै उमेरमा बिवाह गरिदिनुभयो । सानैमा बच्चा जन्मिए । ममुनिको बहिनीले पनि विद्रोह गरिन् । भनेको मानेपछि ८ कक्षामा पढ्दापढ्दै विवाह गरिदिनुभयो ।

म चाहिँ विवाह गर्न मानिन । पढाइलाई निरन्तरता दिएँ । आफूले बुझेको कुरा घरमा पनि लागू गर्नुपर्छ भन्ने थियो मेरो धारणा । त्यसै कारणले हामी घरभित्रै घर व्यवस्थापन समिति गठन गर्थ्यौँ । साना भाइबहिनी सबैले सक्ने काम गर्ने । पुरुषले भाँडा माझ्ने नियम थियो हाम्रो परिवारभित्र । त्यो नियम अहिलेसम्म मेरो भतिजाहरू समेतले लागू गरेका छन् ।

व्यवसायिक काम गर्ने योजनासहित म १५ वर्ष पर्वतमा काम गरेर चितवन फर्किएको थिएँ । व्यवसायिक काममा योजना गरेपछि आर्थिक आवश्यक पर्यो । त्यहिबेला मेरो दाइहरू पनि अंशबण्डा गरेर छुट्टिनुभएको थियो । त्यो समय म ३४ वर्षमात्रै पुगेको थिएँ । मैले अंश चाहियो भनेर दाइ बुबाहरूसँग भनेँ ।

मेरो अंश बुबाको जिम्मामा रैछ । तर, पनि अलि बसेर छलफल त गर्नु नै पर्‍यो । पछि तर अंश पाउन धेरै समस्या भएन । लडाइँ गर्नु परेन । मैले अंश लिएको २०५६ सालतिर हो । त्यतिबेला अविवाहित छोरीले अंश पाएपनि विवाह गरे भने अंश फिर्ता गर्नुपर्ने व्यवस्था थियो । मैले अंश लिएको एक वर्षपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा छोरीले विवाह अघि लिएको अंश फिर्ता गर्नुनपर्ने व्यवस्था आएको हो । त्यो बेला छोरीले अंश लिएर के पो गर्छन् र भन्ने थियो ।

महिनावारी विभेद विरुद्धको घरभित्रको संघर्ष मैले नै सुरू गरेको हो । चितवन नै भएपनि महिनावारी हुँदा भूँइमा सुत्नुपर्छ भन्ने हुन्थ्यो । त्यसपछि दिदी, भाउजूहरूलाई महिनावारी हुँदा भुइँमा सुत्नु परेन । भाइबहिनीहरूलाई त यसै नै सजिलो भयो ।

अझ महिनावारी विभेद चाहिँ बाँकी नै थियो । एउटा घटनाले हाम्रो घरमा महिनावारी विभेद होइन भन्ने स्थापित गर्न सहयोग गर्‍यो । दाइको जेठो छोराको विवाहको तयारी थियो । विवाहको सबै तयारी भइसकेको थियो । पाहुनालाई निम्तो पुगिसकेको थियो । सबै तयारी भइसकेपछि विवाहको दिन त बुहारी महिनावारी भयो विवाह रोकौँ भनेर माइतीबाट खबर आयो । हामी अन्यौलमा पर्‍यौँ ।

दाइ हेडसर, माडीभरि सबैलाई निम्ता गरिसकेको थियो । त्यो बेला विवाह रोक्ने अवस्था थिएन । भोज, जन्तीको खबर सबैलाई पुगिसकेको थियो । उसको माइतीले महिनावारी भएकी छोरी दिन्नौं, तिमीहरू जेसुकै गर भने । हामीले पनि दाइजो चाहिँदैन तर महिनावारी भएपनि बुहारी ल्याउँछौँ भन्यौँ । यसरी सिंगो समाज विरुद्ध हामीले पहिलोपटक महिनावारी विभेद विरुद्ध बिद्रोह गर्यौँ । महिनावारी भएकै दिन बुहारीलाई धुमधामसँग घर भित्र्यायौँ । त्यो संयोगको विद्रोह थियो ।

भतिजको विवाहपछि एक किसिमले महिनावारी विभेदविरुद्ध हामी पारिवारिकरूपमा तयार भयौँ । तर, त्यो समय सचेततापूर्वक गरिएको विभेद विरुद्धको तयारी थिएन । त्यतिबेलासम्म पनि हामी तीन दिनसम्म महिनावारी बार्थ्यौँ । पूजा कोठामा जाँदैनथ्यौँ । तर, तीजमा पञ्चमी पूजा लगाउने, दतिउन टोक्ने चाहिँ गर्दैनथ्यौँ । संयोगले फेरि महिनावारी विभेद सबै रूपमा हटाउने सहयोग गर्ने अर्को घटना भयो ।

दसैँको टिकाको दिन थियो । सबैजना एकैठाउँमा टीका लगाउन भेला भएका थियौँ । त्यही दिन बुहारी र नातिनी महिनावारी भए । एकछिन अलमल भयो । टीका लगाइदिने कि नलगाउने के गर्ने भन्ने भयो । महिनावारी नै पाप होइन भन्ने भइसकेपछि प्रकृतिले मानिस सृजनाको लागि दिएको सुन्दर अवस्था हो भन्ने भइसकेपछि किन टीका नलगाउने भन्ने मत मेरो भयो । म टीका लगाइदिन तयार भएँ । सुरूआत मैले गरेँ । त्यसपछि दाइ-भाउजू सबैजनाले सहजरूपमा बुहारी र नातनीलाई टीका लगाइदिनुभयो । त्यसरी महिनावारीमा सबैजनाले दसैँको टीका लगाइयो ।

अर्को विद्रोह, महिनावारीमा विभेद गरे जेल जानेसम्मको व्यवस्था कानूनले गरेको छ । त्यो कुरा म पढाउँदै हिँड्छु । तर, आफ्नै घरभित्र पहिलोपटक महिनावारी भएका छोरीहरूलाई लुक्न पठाउने अवस्था थियो । मैले त्यसको लागि कानूनको अस्त्र बनाएँ । नातिनीहरूलाई पनि सिकाइरहेको थिएँ । पछि कसैले लुकाउन पठाउँछ उसैलाई मैले नै उजुरी गरेर जेल हाल्ने हो भनेर हल्ला गरेँ । त्यसपछि हाम्रो परिवारमा महिनावारीमा लुक्ने लुकाउने मात्रै होइन सँगै बसेर खाना खाने, खाना बनाउने सबै कुरा सामान्य नै भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर