नेपालीलाई प्रवेश निःशुल्क, तर चिनियाँलाई पैसा लाग्ने बेइजिङको श्वेत चैत्य (तस्बिरहरू) – Nepal Press

नेपालीलाई प्रवेश निःशुल्क, तर चिनियाँलाई पैसा लाग्ने बेइजिङको श्वेत चैत्य (तस्बिरहरू)

बेइजिङ । एक हजार ४०० वर्ग मिटरको विशाल क्षेत्रफलमा फैलिएको छ श्वेत चैत्य । चीनको राजधानी बेइजिङको प्रशानिक मुटु तिआनमेन स्क्वायरबाट पश्चिममा पर्ने यो श्वेत चैत्यमा आगन्तुकहरु आइरहन्छन् ।

सोमबार बन्द हुने चैत्यमा साताका अरु दिन आगन्तुकहरुको आउजाउ भइरहन्छ । आगन्तुकलाई प्रवेश शुल्क लाग्छ । तर, नेपालीलाई लाग्दैन । अरुले २० युआन अर्थात् ३६० बढी नेपाली रुपैयाँ तिरेर प्रवेश गर्न पाइने चैत्य जान नेपालीलाई कुनै पैसा लाग्दैन ।

तेह्रौं शताब्दीमा नेपाली कलाकार अरनिकोले यो चैत्य युआन वंशको राजतन्त्रात्मक कालमा बनाएको हो । आजभन्दा ७४४ वर्ष अगाडि सन् १२७९ मा आठ वर्ष लगाएर यो ५०.९ मिटर अग्लो श्वेत चैत्य तयार गरिएको हो ।

चीनको संरक्षित र घुम्नुपर्ने गन्तव्यको सूचीमा रहेको श्वेत चैत्य परिसरमा सन् २००१ मा यसका निर्माता अरनिकोको सालिक पनि राखिएको छ । साथै नेपालका राजा वीरेन्द्र, प्रधानमन्त्रीहरु केपी ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतका विभिन्न प्रसंगका तस्बिरहरु पनि यहाँ राखिएका छन् ।

चीन सरकारले यो चैत्यलाई नेपाल र चीन जोड्ने ऐतिहासिक मित्रताको विम्ब भनेर आफ्नो पर्यटन वेबसाइटमा उल्लेख गरेको छ ।

काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ जस्तै शिखर शैलीमा श्वेत चैत्य बनेको शताब्दी पुरुष सत्यमोहन जोशीले २०४४ सालमा प्रकाशन गरेको ‘कलाकार अरनिको’ नामक पुस्तकमा तस्बिरसहित उल्लेख गरेका छन् । जोशीले बेइजिङको मुटुमा रहेको श्वेत चैत्यमा धेरै खोजबिन गरेर उक्त ऐतिहासिक पुस्तक लेखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *