‘सजिलो रेन्टल’ सञ्चालक फुँयाल भन्छन्- अनलाइनबाटै गाडी भाडामा लिन र दिन सकिन्छ (भिडिओ) – Nepal Press
नेपाल टक

‘सजिलो रेन्टल’ सञ्चालक फुँयाल भन्छन्- अनलाइनबाटै गाडी भाडामा लिन र दिन सकिन्छ (भिडिओ)

काठमाडौं । विश्वभर नै प्रविधिले फड्को मारिरहेको छ । धेरैजसो काम अनलाइनबाट नै हुने गरेको छ । नेपालले पनि विश्वमा आएका प्रविधिहरुको फलो गरिरहेको छ ।

त्यस्तै अनलाइनबाट नै देशभर जहाँको लागि पनि गाडी भाडामा लिन र दिन सकिने सजिलो रेन्टल सञ्चालनमा आएको छ । सजिलो रेन्टलले कसरी काम गरिरहेको छ, सञ्चालनमा आएको डेढ वर्षमा कति ग्राहक बने, यसबाट गाडी बुक गर्दा कति सस्तो पर्छ र ग्राहकले कसरी गाडी भाडामा दिन र लिन सक्छलगायतका विषयमा सजिलो रेन्टलका सञ्चालक दामोदर फुँयालसँग नेपालप्रेसकर्मी राजाराम न्यौपानेले गरेको कुराकानीः

– सजिलो रेन्टल भनेको के हो, कसरी काम गर्छ ?

सजिलो रेन्टल भनेको रेन्टलको भेहिकल हो । यो डिजिटल प्लेटफर्म हो । सजिलो रेन्टल करिब ढेड वर्षअघि सहज रुपमा गाडी भाडामा दिन र लिन स्थापना गरिएको डिजिटल प्लेटफर्म हो ।

– सजिलो रेन्टलबाट कस्ता गाडी भाडा लिन र दिन सकिन्छ ?

प्राइभेट रुपमा प्रयोग गरिरहेको कार, स्कर्पियो, बस र हाइसलगायतका गाडी सजिलो रेन्टलमार्फत भाडामा लगाउन सकिन्छ ।
ती गाडीहरु नै आवश्यक परेमा ग्राहकले सजिलो रेन्टलबाट भाडा लिन सक्नुहुन्छ ।

– ग्राहकले सजिलो रेन्टलबाट कसरी गाडी बुक गर्ने ?

नेपालको बजारमा ट्रेडिस्नल तरिकाले गाडी रेन्टका व्यवसाय सञ्चालन भइरहेको थियो । ट्रेडिस्नल व्यवसायलाई डिजिटन बनाउन पर्छ भनेर नै सजिलो रेन्टल आएको हो ।

सजिलो रेन्टलको वेबसाइट र एप छ । गाडी लिन र दिन चाहने ग्राहकले वेबसाइट वा एपमा गएर आफूलाई के आवश्यक हो, त्यहीअनुसार दिन र लिन सक्छन् ।

सजिलो रेन्टललाई गाडी दिन चाहने ग्राहकले हाम्रो वेबसाइट र एपबाट होस्ट गर्न सक्नुहुन्छ ।

– सजिलो रेन्टलले अहिले कति गाडीमार्फत सेवा प्रदान गर्दै आएको छ ?

सजिलो रेन्टलमा देशभर २ हजार ५०० भन्दा धेरै गाडी छन् । हामीले ७ वटै प्रदेशका हब सिटीहरुबाट सेवा दिइरहेका छौं । हामीले सेवा विस्तार गरिरहेका छौं । हामीलाई गाडी दिने र लिने ग्राहक सन्तुष्ट छन् । अहिलेसम्म गाडी दिने र लिने दुवैतर्फबाट कुनै गुनासो आएको छैन ।

७ वटै प्रदेश र देशका विभिन्न शहरहरुमा डेक्स राखेर सेवा दिने हाम्रो उद्देश्य छ । त्यसैअनुसार काम गरिरहेका छौं । कम्पनी स्थापना भएको करिब डेढ वर्षमा ग्राहकको माग राम्रो छ ।

– सजिलो रेन्टलबाट गाडी भाडामा लिएर कतै जाँदा बीच बाटोमै बिग्रियो भने के कस्तो व्यवस्था छ ? चालक आफैंले राख्न पाइन्छ कि कम्पनीले दिन्छ ?

सजिलो रेन्टलबाट गाडी भाडामा लिएर यात्रा गरिरहँदा बीच बाटोमा बिग्रियो भने कम्पनीले तत्कालै अर्काे गाडी उपलब्ध गराउँछ । जस्तै पोखरा जाँदा मुग्लिनमा गाडी बिग्रियो भने कम्पनीले चितवनबाट अर्काे गाडी पठाउँछ । गाडी बिग्रिएको लोकेसनबाट कम्पनीसँग नजिक भएको अर्काे गाडी व्यवस्था गर्छ ।

अहिले सजिलो रेन्टलबाट गाडी लिँदा कम्पनीले गाडीसँगै चालक पनि दिन्छ । चालकविना हामीले गाडी रेन्टमा दिएका छैनौं ।

– अन्य कम्पनी र सजिलो रेन्टलबाट गाडी भाडा लिँदा कुन चाहिँ सस्तो हुन्छ ?

सजिलो रेन्टलबाट गाडी भाडामा लिँदा सबैभन्दा सस्तो पर्छ । हामी सबैभन्दा सस्तोमा गाडी भाडामा लगाउने कम्पनीमा पर्छाैं ।

हिजोका दिनमा सबैले गाडी भाडा लगाउनु पर्‍यो भने कुनै एउटा ट्राभल एजेन्सीमा जानुपर्ने अवस्था थियो । भाडामा लगाउन पनि त्यसै गर्नुपर्ने थियो । कुनै ट्राभल एजेन्सीबाट भाडामा गाडी लिँदा एजेन्टमार्फत जानुपर्ने भएकाले बीचमा ५०० र एक हजार कमिसन दिँदादिँदै ग्राहकले महँगो तिर्नुपर्ने अवस्था थियो ।

तर, सजिलो रेन्टलबाट गाडी भाडामा लिँदा त्यस्तो बिचौलिया वा एजेन्ट नै हुँदैन । त्यसैकारणले पनि अन्य एजेन्सी र कम्पनीबाट लिनुभन्दा हाम्रोबाट गाडी भाडामा लिँदा धेरै नै सस्तो पर्छ । गाडी भाडामा लगाउँदा पनि अन्तभन्दा राम्रो भाडा पाइन्छ । रेन्टलमा बिचौलिया हुँदैन । रेन्टल र गाडीका धनीबीच सीधै कुरा हुने भएकाले बिचौलियाले पैसा लिन पाउँदैन ।

ग्राहकले आफूले कति पैसा तिरेर गाडी प्रयोग गरिरहेको छु भन्ने कुरा एपबाट थाहा हुन्छ । गाडी धनीले पनि आफ्नो गाडी कतिमा भाडामा दिएको छु भनेर एपबाट नै हेर्न सक्छन् ।

– सजिलो रेन्टलबाट गाडी कसरी लिने र कसरी भाडामा लगाउने प्रक्रियासहित बताइदिनुस् न ?

ग्राहकलाई सजिलो रेन्टलबाट गाडी आवश्यक पर्‍यो भने हाम्रो एपमा आफू भएको लोकेसन हानेपछि त्यहाँ उपलब्ध गाडीहरु देखाइन्छ । ग्राहकलाई कस्तो गाडी चाहिने हो, त्यहीअनुसार फिल्टर गर्ने सुविधा पनि छ । ग्राहकले कति दिनको लागि गाडी चाहेको हो, कुन समयमा कहाँबाट गाडी चढ्ने हो र कहाँ आएर झर्ने हो भन्ने कुरा उल्लेख गरेपछि गाडी उपलब्ध हुन्छ । ग्राहकले हाम्रो हटलाइनमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्छन् ।

सजिलो रेन्टललाई गाडी दिन चाहने ग्राहकले सजिलो रेन्टल एप डाउनलोड गर्ने र त्यसमा होस्ट भन्ने अप्सनमा गएर आफ्नो मोबाइल नम्बर भेरिफाइ गर्नुपर्छ । होस्टमा ६ वटा स्टेप छ । त्यसमा आफ्नो गाडीको डिटेल्स हाल्ने, त्यसपछि रेन्टलको ड्यासबोर्डमा त्यो गाडी आउँछ । त्यसपछि हामीले एप्रुभ गर्छाैं । हामीलाई प्रभु पे र ई-सेवाबाट पैसा तिर्न सकिन्छ ।

– सजिलो रेन्टलले आफैंले पनि गाडी किनेको छ कि ग्राकबाट लिने र ग्राहकलाई दिनेमात्रै गरिरहेको छ ?

अहिले हामीसँग आफ्नो गाडी छैन । हामीले यो प्लेटफर्मको रुपमा मात्रै काम गरिरहेका छौं । अहिले हामीले पूर्वका इटहरी, धरान र बिर्तामोड तथा सूदुरपश्चिमका धनगढी, महेन्द्रनगरबाट सेवा दिइरहेका छौं ।

त्यस्तै कर्णाली र लुम्बिनीको हकमा सुर्खेत, नेपालगञ्ज र पोखरा, चितवन र काठमाडौंबाट २ हजार ५०० वटाभन्दा धेरै गाडीमार्फत सेवा दिइरहेका छौं । कम्पनीले पनि गाडी किन्ने सोचमा छौं । केही समयपछि केही गाडीहरु कम्पनी आफैंले किन्ने र प्रयोगमा ल्याउने योजना छ ।

– पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढेको छ । सजिलो रेन्टलले विद्युतीय गाडीबाट पनि सेवा दिइरहेको छ ?

विद्युतीग गाडी हामीसँग थोरैमात्र छ । किनभने विद्युतीय गाडीको लागि चार्जिङ स्टेसनहरु खासै छैन । लामो यात्रामा जाँदा चार्ज गर्ने व्यवस्था नहुँदा त्यसले समस्या पनि हुनसक्छ ।

राज्यले चार्ज गर्ने ठाउँ र गाडी बिक्रेताहरुले सर्भिस सेन्टर ठाउँ ठाउँमा सञ्चालन गरेपछि हामी पनि विद्युतीय गाडीलाई प्रमोट गर्ने पक्षमा छौं । विद्युतीय गाडी सञ्चालन गर्दा देशकै ऊर्जा प्रयोग हुन्छ ।

– रातो नम्बर प्लेटको गाडी तथा बाइकहरु भाडामा प्रयोग गरेको भनेर ट्याक्सी व्यवसायीले विरोध गर्ने गरेका छन् । रेन्टलले पनि रातो नम्बरका गाडीहरु भाडामा लगाइरहेको छ ? रातो नम्बर प्लेटको गाडी पनि भाडामा लगाउन पाइन्छ त ?

पछिल्लो समय रातो नम्बर प्लेटका गाडीहरुलाई भाडामा लगाउन पाइँदैन भन्ने जस्ता कुराहरु उठिरहेका छन् । ट्याक्सीलगायत कालो नम्बर प्लेट भएका संघसंस्थाहरुले विरोध गरिरहनु भएको छ । काठमाडौंमा हामीलाई केही समस्या छैन । हामी राइड शेयरिङ एप होइनौं । ट्याक्सीहरुले हामीले सञ्चालन गरेको रेन्टलको विरोध गरेका छैनन् ।

तर, काठमाडौंभन्दा बाहिरको बजारमा भने हामीलाई थोरै केही अवरोध आएको छ । राज्यले एउटा ठोस नीति नबनाएको कारणले नै समस्या आएको हो । ट्याक्सी व्यवसायीहरुले रातो नम्बर प्लेटका सवारीसाधनहरु भाडामा गुड्दा हामीलाई समस्या भयो भनिरहनु भएको छ । तर, रेन्टल र ट्याक्सीको फरक उद्देश्य र फरक मार्केट रहेको छ । त्यो कुरा बुझ्न आवश्यक छ ।

पोखरा वा काठमाडौं शहरभित्र नै घुम्न पर्‍यो वा हिँड्न पर्‍यो भने मान्छेले ट्याक्सी प्रयोग गर्छन् । तर, काठमाडौंबाट पोखरा वा पोखराबाट काठमाडौं आउन पर्‍यो भने मान्छेले ट्याक्सी कम नै प्रयोग गर्छन् । त्यसको विकल्पमा के प्रयोग गर्ने त ?

कसैलाई स्कर्पियो प्रयोग गरेर काठमाडौं आउन मन लाग्ला ! कालो नम्बर प्लेटमा स्कर्पियो दर्ता गर्ने व्यवस्था छैन । राज्यले नै ठोस नीति नबनाएको कारणले नै केही वाधा आएको हो । व्यवसायी व्यवसायीबीचमा लडाउनुभन्दा पनि राज्यले सहज हुने व्यवस्था गर्नु आवश्यक छ । विश्व प्रविधिमा धेरै अगाडि गइरहेको छ । हामी एकले अर्कालाई विरोध गरेर बस्नुभन्दा पनि केही नयाँ गर्नुपर्‍यो ।

सन् २००९ मा अमेरिकामा स्थापना भएको उबरलाई हेर्दा हुन्छ । आज त्यो कम्पनी ९ बिलियनको बनेको छ । विश्वमा त्यसले ५० लाखभन्दा धेरैलाई रोजगारी दिएको छ । विश्व कहाँबाट कहाँ पुगिसक्यो । तर, हामी भने सानो कुरामा अल्झिएर बसेका छौं । कालो नम्बर प्लेटका व्यवसायीहरुले समस्या पर्‍यो भन्दा पनि ठूलो छाती बनाएर बुझ्न आवश्यक छ ।

– सजिलो रेन्टलको कारपुल भनेको के हो । यसमा कसरी जोडिने ?

कारपुल भनेको हाम्रो सर्भिसमध्येको एउटा निःशुल्क सर्भिस हो । कोही मान्छे गाडीमा पोखरा जान लागेको छ । तर, उसको कारमा २ वटा सीट खाली छ र शेयरिङ बेसिसमा आफ्नो गाडीको तेल खर्च उठोस् भनेर मान्छे लान चाहन्छ भने उसले हाम्रो एपमा गएर मान्छे खोज्न सक्छ । त्यो नै कारपुल हो ।

कुनै गाडीले कुनै ठाउँमा गएर मान्छे छाडेर खाली काठमाडौं फर्किन पर्ने भयो भने कारपुलको प्रयोग गरेर मान्छे काठमाडौं ल्याउन सक्छ । यो सेवा हामीले निःशुल्क दिइरहेका छौं ।

– सजिलो रेन्टल स्थापना गर्ने सोच के कसरी आयो ?

मेरो दाइ अमेरिकामा आईटी इञ्जिनियर हुनुहन्छ । हामीले केही नयाँ गरौं भनेर छलफल गर्‍यौं । बजारमा केही आवश्यक छ भनेर छलफल गर्‍यौं र रेन्टल स्थापना गरेका हौं । हामीले अध्ययन गरेर नै सजिलो रेन्टल स्थापना गरेका हौं ।

अहिले विभिन्न देशबाट नेपाल आएपछि घर जान वा कतै घुम्न जान कहाँ गएर गाडी खोज्ने भन्ने झन्झट हटेको छ । विश्वका जुन देशमा भएकाले पनि नेपाल आउनुभन्दा पहिले वा नेपाल आएपछि गाडी बुक गर्न सक्छ । नेपालमा भएकाहरुले पनि सजिलो रेन्टलको एप वा वेबसाइटबाट गाडी बुक गरेर सस्तोमा नै यात्रा गर्न सक्छन् ।

एयरपोर्टमा आएर झर्नेबित्तिकै कहाँ जाने भनेर दिक्क बनाउने अवस्था पनि छ । एपबाट नै गाडी बुक गरेर आएपछि आफ्नो गाडीले गन्तव्यमा लैजान्छ ।

– युवाहरुले देशमा नै केही गरौं भनेर सोच्दा कतिको सजिलो रहेछ ? राज्यले के गर्नुपर्छ ?

कसैले लगानी गर्ने सोच राख्छ भने लगानीको अभाव छ । व्यवसायको लागि बैंकिङ लगानी ल्याउन पनि समस्या नै छ । प्रक्रिया पनि त्यस्तै छ ।

राज्यले कुनै नागरिकले देशमा नै लगानी गरेर केही गर्छु भनेर लागेको छ भने त्यस्तालाई सहजीकरण गरिदिनु आवश्यक छ । राज्यले आइडिया बैंक स्थापना गर्नुपर्ने देख्छु । कुनै नेपालीले विदेश गएर काम सिकेर आयो भने नेपालमा आएर त्यो सीप प्रयोग गर्न सक्दैन । यहाँ लगानी कसरी गर्ने भन्ने नै चिन्ता हुन्छ ।

हामीले उत्पादन गरेको धान खलोबाट नै भारतले लान्छ । पछि त्यही धानको चामल बनेर नेपाल आउँछ । नेपालको धान लगेर पोलिस गरेर रंगीचंगी बोराबाट लङग्रेन र जिरा मसिनोलगायतको नाममा नेपालमै बेच्छ । नेपालीले त्यही महँगोमा प्रयोग गरिरहेका छन् ।

राज्यले ससाना कुरामा ध्यान नदिँदा धेरै वस्तु विदेशबाट आयात गरेर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । सरकारले युवालाई लगानीमा प्रोत्साहन गरेर आफ्नै देशमा केही गर्न गराउन सहयोग गर्ने हो भने व्यापार घाटा धेरै नै घट्नसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर