कमल थापाको उद्घोषः राप्रपासँग एकताका लागि सर्तसहित तयार छु, लिङदेनको नेतृत्व स्वीकार्य (भिडिओ)
राप्रपा प्रवक्ता भन्छन्ः विचार मिल्नेहरुसँग एकता गर्ने घोषित नीति छ, तर कुनै सर्तको बन्दी हुँदैनौं


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो माउ पार्टी राप्रपासँग सहकार्य र एकताको खुला आह्वान गरेका छन् । राप्रपा सडक संघर्षका लागि तयार भएमा आफूले राजेन्द्र लिङदेनको नेतृत्व स्वीकार गर्ने उनले उद्घोष गरे ।
नेपाल प्रेससँगको विशेष अन्तर्वार्तामा थापाले आफूमा अब पदीय लालसा नरहेको बताए । राप्रपा नेपाललाई राप्रपामा मर्ज गराएर आफू वरिष्ठ नेताको हैसियतमा बस्न कुनै कठिनाइ नहुने उनको भनाइ छ ।
थापाले स्पष्ट शब्दमा भने, ‘मलाई यही अध्यक्ष पद पनि बोझ भएको छ । राजेन्द्र लिङदेननले आफ्नो पार्टीको विचार र मान्यताको निम्ति आन्दोलनमा जाने घोषणा गर्नुहुन्छ भने म उहाँलाई नै अध्यक्ष मानेर पार्टीको वरिष्ठ नेताका रुपमा आरामसँग सहयोग गर्न तयार छु । अब मेरो एउटैमात्र चाहना भनेको आफ्नो राजनीतिक लिगेसीको रक्षा गर्ने हो ।’
२०७८ सालमा भएको राप्रपाको महाधिवेशनमा लिङदेनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा परित्याग गरेका थिए । राप्रपाकै केही नेता-कार्यकर्ताहरुलाई तानेर उनले राप्रपा नेपाल गठन गरेका छन् । तर, उनको पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाउन सकिरहेको छैन । गएको चुनावमा अध्यक्ष थापा स्वयम् एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । तर पनि पराजित भए ।
आफ्नो पराजयमा निर्मल निवासलाई आरोपित गर्दै राप्रपाबाट अलग्गिएका थापाले राजसंस्था पुनःस्थापनाको एजेन्डा पनि औपचारिक रुपमा बिसाएका थिए । गणतन्त्रबारे मौन रहँदै हिन्दू राष्ट्रको पुनःस्थापनालाई उनको पार्टीले मुख्य एजेन्डा बनाएको छ ।
तर, राजसंस्थाको एजेन्डा छोड्दा आफ्नो व्यक्तिगत लोकप्रियता धराशायी बनेको र पार्टीले पनि जनतालाई आकर्षित गर्न नसकेको उनले महसुस गरेका छन् । पार्टी पंक्तिबाट पनि उनलाई राजसंस्थाकै एजेन्डामा फर्किन दबाब परिरहेको छ । अन्ततः थापा केही समयको विश्रामपछि राजसंस्था पुनःस्थापनाको एजेन्डालाई फेरि अंगाल्दैछन् ।
उही एजेन्डा र उस्तै विचार भएपछि राप्रपासँग अलग रहिरहनुपर्ने आवश्यकता नरहेको वोध थापालाई भएको छ । तर, उनलाई आशंका छ कि राप्रपाले भित्रभित्रै सत्तामा जाने दाउ हेरिरहेको त छैन ? राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा फर्किन लविङ गरिरहेको सूचना आफूसँग रहेको थापा बताउँछन् । तर, यतिबेला राप्रपा सरकारमा नभएर सडकमा हुनुपर्ने उनको सुझाव छ ।
थापा भन्छन्, ‘राप्रपाको महाधिवेशनमा मैले राजनीतिक प्रस्ताव पेश गरेको थिएँ । त्यसमा विगतका कमीकमजोरी केलाएर अबदेखि राप्रपा सत्ता होइन, सिद्धान्त केन्द्रित हुने तथा सदन र सडकबाट आफ्ना एजेन्डा स्थापित नगराएसम्म सत्तामा नजाने प्रण गरिएको थियो । त्यो प्रस्ताव महाधिवेशनको सर्वसम्मतिबाट पारित गराएका हौं । महाधिवेशनको त्यही म्यान्डेटका आधारमा राप्रपाका १४ सदस्यले चुनाव जितेका छन् । उक्त म्यान्डेटको पालना गर्नु उनीहरुको नैतिक दायित्व हो ।’
उनले राप्रपा सडकमा आउनुपर्ने तीनवटा कारण दिएः १) महाधिवेशनले दिएको म्यान्डेटको सम्मान गर्न २) अहिलेको धरातलीय यथार्थलाई दृष्टिगत गर्न र ३) हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डालाई पुनःस्थापना गर्न अर्को उपाय नभएकाले ।
लिङदेनलाई सम्वोधन गर्दै थापाले भने, ‘हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डामा इमानदार हुने हो भने सत्ताको निम्ति नेताहरुको ढोका चहार्ने होइन, जनतामा जाने आँट गर्नुस् । म तपाईंसँगै काम गर्न तयार छु, आवश्यक पर्यो भने पार्टी एकता गर्न पनि तयार छु । यही अन्तर्वार्ताबाट भन्छु, राजेन्द्र लिङदेनको नेतृत्वमा यो काम गर्न हामी तयार छौं । तर, मेरो बटमलाइन भनेको सत्ता होइन, जनसंघर्षका लागि तयार हुनुपर्छ भन्ने हो । अब सत्तामा जान प्रयास नगर्नुस् र सडक आन्दोलनमा जाने घोषणा गर्नुस् ।’
राप्रपा एक्लैले पनि आन्दोलनको तयारी गरिरहेको उनले बताए । उनको पार्टीले ‘संघीय गणतन्त्रको नाममा कायम भएको भ्रष्ट व्यवस्थाको अन्त्यका लागि’ आन्दोलनमा उत्रिने भनिरहेको छ । यद्यपि, पार्टी औपचारिक रुपमा राजसंस्था पुनःस्थापनाको एजेन्डामा फर्किसकेको छैन । राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचार गर्न र नयाँ एजेन्डा तय गर्न सुझाव समिति बनाइएको छ । उक्त समितिले दिने प्रतिवेदनमा टेकेर अब बस्ने केन्द्रीय समिति बैठकले राप्रपा नेपाललाई राजसंस्थाको एजेन्डामा फर्काउने छ ।
राप्रपा प्रवक्ता भन्छन्ः सर्तबन्दीमा एकता हुँदैन
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ विचार र एजेन्डा मिल्नेहरुसँग एकता गर्ने पार्टीको घोषित नीति रहेको बताउँछन् । तर, कुनै पूर्वसर्तको बन्दी भएर कसैसँग एकता हुन नसक्ने उनको प्रष्टोक्ति छ ।
‘देशमा बलियो राष्ट्रवादी शक्ति चाहिन्छ र चाहिएको छ । यस्तो शक्ति बनाउन सक्ने मूलधारको पार्टी राप्रपा नै हो । राप्रपाले समान विचार भएका व्यक्ति, दल, समूहसँग एकता, मोर्चाबन्दी वा सहकार्य गर्ने नीति लिएकै छ । तर, कुनै पनि सर्तबन्दी चाहिँ हामीले स्वीकार गर्दैनौं । विनासर्त कोही संवादमा आउन चाहन्छ भने राप्रपा खुला छ’, श्रेष्ठले भने ।
राप्रपाले अहिले सत्तामा जाने कुनै तयारी नगरेको पनि उनले स्पष्ट पारे । सडक संघर्षमा जान पार्टीले आन्तरिक तयारी गरिरहेको श्रेष्ठले बताए ।