ल्हारक्यालको प्रश्न- विरोधीहरूको इजलासबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? (भिडिओ) – Nepal Press

ल्हारक्यालको प्रश्न- विरोधीहरूको इजलासबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? (भिडिओ)

राज्यले जिम्मेवारी दिँदा केही गिरोह संगठित रूपमा सक्रिय हुने गरेको जिकिर

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूलाई राज्यले जिम्मेवारी दिँदा केही गिरोह विभिन्न लान्छना लगाउँदै संगठित रूपमा सक्रिय हुने गरेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिका अभियोगमा अदालतले सफाइ दिएको अवस्थामा मिडियाले चरित्रहत्या र निम्नस्तरीय तहमा उत्रिएर टिप्पणी गरेको गुनासो गरे ।

‘अघिपछि मैले संविधानसभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरूमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरू फैलाइने गरेका छन्’, लामाले पत्रकार सम्मेलनमा प्रेषित गरेको विज्ञप्तिमा लेखेका छन् ।

उनले आफू दुर्गम ठाउँमा जन्मिएर बुद्धत्वको प्रचार प्रसारमा लागिरहनु अपराध हो भन्दै प्रश्न गरेका छन् ।

‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिनु, मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन ।’

उनले थपे, ‘अदालतले सफाइ दिए पनि केही पेशवर मेरा विरोधीहरुको इजलालसले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ? कहिले नागरिकताको प्रश्न उठाए, कहिले सम्पत्ति शुद्धीकरणको । कहिले हातहतियारको त कहिले ठगीको । तर, ती सबै मविरुद्ध र मैले अवलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् । मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झूठा मुद्दाहरुबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरुप्रति मेरो केही भन्नु छैन । के मैले उनीहरुका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरुको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन ।’

उनले आफूमाथि लगाइएको नियोजित र निराधार आरोपहरुको खण्डन कामले दिने जिकिर गरे ।

‘लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो । जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रूपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु’ लामाले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर