सुदूरपश्चिममा बढ्दै दुर्व्यसनी : ४ महिनामा ३५६ लागुऔषध कारोबारी पक्राउ – Nepal Press

सुदूरपश्चिममा बढ्दै दुर्व्यसनी : ४ महिनामा ३५६ लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । आइतबार प्रहरीले ३ सय २० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डडेल्धुरा अमरगढी नगरपालिका-१ स्याउलेबाट अछाम साँफेबगर नगरपालिका-४ बस्ने २९ बर्षीय अशोक स्वार र अछाम चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो । उनीहरू धनगढीदेखि अछामसम्म जाँदै गरेको अवस्थामा प्रहरी चौकी स्याउले डडेल्धुराबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा लागुपदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको जानकारी दिएको छ ।

लागुऔषधसम्बन्धी घटनामै शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दीपक राना पनि पक्राउ परेका छन् । उनलाई धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन १ ग्राम ३ सय ३० मिलिग्रामसहित प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

शनिबार साँझै कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट खैरो हेरोइन ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्कासमेत ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मालुबेलाबाट ६० मिलिग्राम ब्राउन सुगरसहित कैलाली धनगढी उपमहानगरपालिका-५ का २५ वर्षीय अर्जुन चौधरी पक्राउ परे ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबारी पक्राउ पर्ने क्रम बढेको छ । प्रहरी तथ्यांकअनुसार एक सातामा करिब १० ग्राम लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बोहराका अनुसार गत चैत १६ देखि असार मसान्तसम्म १० किलो चरस बरामद भएको छ । लागुऔषध ओसारपसारका २ सय १६ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ३ सय ५६ जनालाई पक्राउ गरिएको छ ।

यस्ता घटना बढ्नुमा बोहरा भन्छन् ‘घटना त पहिले पनि हुन्थे तर कानूनको दायरामा कम आउने गरेका थिए ।’

उनी प्रहरी अपराध नियन्त्रणमा निर्ममताका साथ प्रस्तुत भएका कारण लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेको दाबी गर्छन् ।

‘म प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएर आइसकेपछि मातहतका सवै प्रहरी युनिटहरुलाई अपराध नियन्त्रणमा निर्मम हुन निर्देशन दिएको छु’ बोहरा भन्छन् ‘अहिले लागु औषधका घटनाहरुमा प्रहरी बढी केन्द्रित भएको छ । एकातिर भारतसँगको खुला सिमानाका कारण प्रतिवन्धित लागु औषध बढी भित्रिदैछ, अर्कोतिर यसको प्रयोगबाट हुने हानीका बिषयमा जनचेतना छैन’, उनले भने ।

लागुऔषधविरुद्धको योजना तयार गरेर स्वीकृतका लागि पठाइएको उनले बताए । प्रहरीले दुर्व्यसनीमा फसेकालाई सुधार गर्नका लागि पुन:स्थापना केन्द्रको आवश्यकता महसुस गरी प्रदेश प्रहरीले सुदूरपश्मिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकासँग समन्वय गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर