पाँच दिनमा खुलेको प्युठान-भालुवाङ सडक पुनः अवरुद्ध – Nepal Press

पाँच दिनमा खुलेको प्युठान-भालुवाङ सडक पुनः अवरुद्ध

रुपन्देही । पाँच दिनदेखि पहिरोले रोकिएको प्युठान–भालुवाङ सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरो आइतबार साँझ ट्रयाक खुलेपनि राति गएको पहिरोले पुनः रोकिएको छ । गत बुधवार राति खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझ करिब पाँच बजे मात्र एकतर्फी खुलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले पहिरो पन्छाएपछि यातायातका साधनहरू चल्न थाले पनि राति गएको पहिरोले पुनः रोकिएको बताए । उनले अहिले बिहानैदेखि सडक खुलाउन काम थालिएको बताए ।

आइतबार साँझ नै सडक खुलाइए पनि रातिमा यात्रा गर्दा जोखिम हुनसक्ने भएकाले सोमबार बिहानबाट मात्रै यातायातका साधनहरू चल्ने बताइएको थियो ।

दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो झरेको अनुमान छ ।

सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टानी भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो ।

प्युठानको बड्डाँडा–चकचके खण्ड कमजोर भौगोलिक बनावट भएका कारण पहिरो झर्ने गरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठ बताउँछन् ।

सडक विस्तारको बेला ठूला मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर जमिन थप कमजोर हुने भएकाले पहिरो झर्ने उनले बताए ।

गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आऊ–जाऊ गर्ने यात्रुहरूले देवीस्थान–घोराही सडक (४८ किलोमिटर) प्रयोग गर्न बाध्य भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर