गाँस, बास कपास जोहो गर्न समस्या भएको भन्दै राउटे समुदायका अगुवा पोखरामा


पोखरा । गाँस, बास कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु पोखरामा आएका छन् ।
उनीहरुले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानूनी अड्चन लगायतका बारेमा जानकारी गराएका थिए ।
आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्रीले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताए । राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि बिभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताएका छन् ।
उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने राउटे अगुवा लालबहादुर शाहीले जानकारी दिए ।