अछाम र जाजरकोटका सीडीओकाे साढे दुई महिनामै हेरफेर


काठमाडौं । गृह मन्त्रालयले अछाम र जाजरकोटका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी दिएका हुन् ।
पोखरेल साढे दुई वर्षदेखि मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । यस अघि दार्चुला र मुगुमा प्रमुख अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् भने काठमाडौं, धनुषा र तनहुँमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै उनले गृह मन्त्रालय मातहतकै प्रहरी कितावखाना र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पनि निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।
जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ । न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन् ।
अछाममा सहायक प्रमुख जिल्ला अधिकारीसमेत नभएका कारण न्यौपानेको अनुपस्थितिमा डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले अछामको निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी खाली रहेको जाजरकोटमा गृह मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारलाई पठाइएको छ । सुनार मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा अन्तरगको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारीमा थिए ।
उपसचिव सुनारले यस अघि बझाङ र डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । सुनार जाजरकोटका स्थायीबासी पनि हुन् ।
जाजरकोटमा पनि केही समयदेखि शाखा अधिकृत हरिशचन्द्र शर्मा निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।