रुकुमका किशोर ‘शोले’ का धर्मेन्द्र बन्न खोजेपछि – Nepal Press

रुकुमका किशोर ‘शोले’ का धर्मेन्द्र बन्न खोजेपछि

काठमाडौं । यदि तपाईंले भारतीय चलचित्र ‘शोले’ हेर्नुभएको छ भने त्यसको एउटा दृश्य याद हुनसक्छ । हिरो धमेन्द्र एउटा अग्लो स्थानमा चढ्छन् र बसन्ती (हेमा मालिनी) सँग विवाह गर्न नपाएको भन्दै हाम्फालेर मर्ने धम्की गाउँवासीलाई दिन्छन् ।

ठ्याक्कै यही दृश्यको झल्को आउने गरी एउटा घटना भयो कीर्तिपुरमा । एक युवकले आफू भाडामा बसिरहेको घरको पाँचौं तलामाथि उक्लिए र प्रेमिकाले विवाह गर्न नमानेको भन्दै हाम्फालेर मर्ने धम्की दिए । तीन दिनदेखि यो घटनाका भिडिओहरु टिकटकमा भाइरल भइरहेका छन् ।

घटना शुक्रबारको हो । कीर्तिपुर नगरपालिका- ८ स्थित एक घरमा तीन महिना अघिदेखि कोठा भाडामा बस्दै आएका रुकुम पश्चिमका १८ वर्षीय युवक निर्मल (नाम परिवर्तन)ले स्थानीयलाई मात्र होइन प्रहरीलाई समेत हैरानीमा पारे । प्रहरीले झण्डै साढे ४ घण्टा लगाएर उनको उद्धार गरेको थियो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख राजु लामाका अनुसार निर्मल शुक्रबार दिउँसो १ बजेदेखि घरको ५ तला माथि गएर हाम फाल्न खोजेका थिए । त्यसअघि उनले फोन गरेर आफ्नी प्रेमिकालाई त्यहाँ बोलाएका थिए । ललितपुरको बालकुमारी बस्दै आएकी प्रेमिका दाजु लिएर त्यहाँ पुगिन् पनि । निर्मलले विवाहको प्रस्ताव राखे । तर, दाजु सहमत भएनन् । त्यसपछि उनी निराश भएर आत्महत्या गर्छु भन्दै पाँचौं तलामा उक्लिए । आत्तिएका दाजुबहिनीले स्थानीय र प्रहरी गुहारेका थिए ।

प्रहरी पुग्दा निर्मल पाँचौं तलाको कुनामा थिए । घटनास्थलमा स्थानीयको बाक्लो उपस्थिति थियो ।

डीएसपी लामाले भने, ‘हामीले माइकिङ गरेर पटकपटक काउन्सिलिङ गर्‍याैं । तर, उनले धम्क्याइरहे । मानिस माथि जान खोज्नेबित्तिकै उनी हामफाल्न भनेर डिलमा आएर बसिहाल्थे ।’

प्रहरीका अनुसार निर्मल एसईई दिएर तीन महिनाअघि काठमाडौं आएका हुन् । छिमेकी जिल्ला जाजरकोटकी किशोरी कविता (नाम परिवर्तन)सँग उनको दुई वर्ष अघिदेखि चिनजान थियो । गाउँ छँदै उनीहरु नजिक भएका थिए ।

एसईई दिएपछि निर्मल कीर्तिपुर र कविता बालकुमारीमा आएर बस्दै आएका थिए । एक्लै बस्दै आएका निर्मलले कवितालाई विवाह गरेर सँगै बसौं भन्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कविताले भने पढाइ सकेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने अडान लिएकी थिइन् । तर, परिवारले उनको अन्तै विवाह गरिदिने आशंकामा तड्पिरहेका थिए निर्मल । त्यसैले उनले कवितालाई आत्महत्याको धम्की दिन थाले ।

‘अहिले पढौं, २० वर्ष उमेर पुगेपछि विवाह गरौंला’ भन्दा तिमीले अर्कैसँग विवाह गर्न लागेकाले यसो भन्दै छौं’, भन्दै निर्मलले कवितासँग गुनासो गर्ने गरेका थिए’, प्रहरी स्रोतले भन्यो ।

शुक्रबार दिउँसो १२ बजे निर्मलले ‘अन्तिमपटक कुरा गरौं, नत्र म हाम्फाल्छु’ भन्दै धम्क्याएर युवतीलाई बोलाएको अनुसन्धानका क्रममा खुलेको छ । भेटमा आफूले ‘अहिले विवाह गर्ने उमेर भएको छैन, पढिसकेपछि विवाह गरौं’ भन्नासाथ निर्मल ‘अब म हामफाल्छु’ भन्दै घरको माथिल्लो तलामा उक्लिएको कविताले प्रहरीसँगको सोधपुछमा भनेकी छन् ।

दाजुबहिनीले खबर गर्नासाथै प्रहरी केही छिनमै त्यहाँ पुगेको थियो । तर, प्रहरी र स्थानीयको बाक्लो उपस्थिति भएपछि युवती र उनका दाजु थप अत्तालिए । अन्तिम समयसम्म पनि युवकलाई फकाउने प्रयास गरिएको थियो ।

अन्त्यमा प्रहरीले कवितालाई कुराकानी गर्न माथि पठायो । निर्मलले नदेख्ने गरी तल्लो तलाबाट प्रहरीहरु भित्र छिरे । उनीहरु झ्यालमा भर्‍याङ लगाएर माथि पुगे । कविताले छतको एउटा कुनामा बसेर निर्मललाई गफमा अल्मल्याइरहेका बेला प्रहरीले उनलाई पछाडिबाट झ्याप्पै समातेर भित्र धकेले । त्यसपछि उनलाई नियन्त्रणमा लिइयो ।

कविताले आफूले उमेर पुगेपछि उनैसँग विवाह गर्ने भनेर आश्वस्त बनाइन् । तर पनि निर्मल ढुक्क देखिएका थिएनन् । त्यसपछि प्रहरीले निर्मललाई वृत्तमा ल्यायो । दुई दिन काउन्सिलिङ गरेपछि निर्मललाई आइतबार परिवारको जिम्मा लगाइएको छ । उनलाई जिम्मा लिन रुकुम पश्चिमबाट उनका बुबा काठमाडौं आएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “रुकुमका किशोर ‘शोले’ का धर्मेन्द्र बन्न खोजेपछि

  1. नभएको जात्रा हाडी गाउँमा भने को यस्तै लाई हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर